केपी शर्मा ओली: प्रधानमन्त्रीको अवस्था 'राम्रो', केही दिन सीसीयूमै राखेर उपचार गरिने
तस्बिर स्रोत, Rss
प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो स्वास्थ्यस्थिति 'राम्रो' रहेको उनको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन्।
उनको त्रिभुवन विश्वविद्याल शिक्षण अस्पतालमा बुधवार मिर्गौला प्रत्यारोपण गरिएको थियो। उनको होस बुधवार साँझमै आएको र अहिले उनी अडेस लागेर बस्न र आफैँ कोल्टे फेर्न सक्ने अवस्थामा भएको एक चिकित्सकले बीबीसीलाई बताए।
प्रत्यारोपणको नेतृत्व गरेका प्रा. डा. प्रेमराज ज्ञवालीका अनुसार अहिले चलाइएका औषधिका कारण ओली प्राय: निदाउने गरेका छन्।
तर बिउँझिएका बेला उनी चिकित्सकहरूले सोधेको प्रश्नको उत्तर दिन सक्ने वा आफूलाई केही लागे भन्न सक्ने अवस्थामा भएको डा. ज्ञवालीले बताए।
केही दिन सीसीयूमा
रक्तचापसहित ओलीका सबै सूचकाङ्क राम्रो स्थितिमा भएको बताइएको छ।
तस्बिर स्रोत, RSS
"आज बेलुका सम्ममा बिस्ताराबाट निकाल्न सकिन्छ जस्तो लाग्छ," डा. ज्ञवाली भने।
तर ओलीलाई अझै केही दिन सीसीयूमा राखेर उपचार गरिने जानकारी उनले दिए।
उनका अनुसार प्रत्यारोपित मिर्गौलाले कस्तो पिसाब बनायो भन्ने कुराबाट बिरामीको अवस्था राम्रो वा नराम्रो थाहा हुन्छ।
साधरणतया मानिसले २४ घण्टाको अवधिमा डेढदेखि दुई लिटर पिसाब फेर्छन्। ओलीले झन्डै ११ लिटर पिसाब फेरिसकेका छन्।
चिकित्सकहरूले त्यसलाई नयाँ मिर्गौलाले राम्ररी काम गरेको भनेर अर्थ्याएका छन्।
"प्रत्यारोपण गर्नेबित्तिकै मिर्गौलाले राम्रोसँग काम गर्यो भने मिर्गौलामा रक्तसञ्चार राम्रो भयो भन्ने बुझिन्छ। मिर्गौलामा रक्तप्रवाह हुनेबित्तिकै प्रशोधन हुन थाल्छ। त्यसले गर्दा शरीरमा जम्मा भएको पानी शरीरले फाल्न थाल्छ," डा. ज्ञवालीले भने।
तस्बिर स्रोत, CRICK INSTITUTE
"सँगसँगै त्यस्तो होस् भनेरै सलाइनपानी चलाइराखिएको हुन्छ। सामान्य हिसाबले बुझ्दा के हो भने शरीरमा भएका पानी र अन्य अनावश्यक पदार्थ निक्लिरहेको हो।"
अहिले आराम गरिरहेका ओलीको अवस्था सुधार भएसँगै उनलाई झोल पदार्थ खुवाउन सकिने अवस्था रहेको आफूले थाहा पाएको उनले बताए।
शरीरले झोल पदार्थ सहजै रूपमा लियो भने ठोस पदार्थ खुवाउने अस्पतालको तयारी छ।
मुख्य समाचार
अनि यो पनि
धेरै रुचाइएको
सामग्री उपलब्ध छैन