कोरोनाभाइरस: रोगको त्रास फैलिएको बेला हङ्‌कङमा सुपरमार्केटबाट ट्वाइलेट पेपर लुटियो

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, हङ्‍कङमा अहिले ट्वाइलेट पेपरको अभाव छ

हङ्‍कङमा एउटा हतियारधारी समूहले १३० अमेरिकी डलर बराबरको ट्वाइलेट पेपर लुटेर लगेको छ।

कोरोनाभाइरसको सन्त्रास फैलिएको बेला मानिसहरूले ट्वाइलेट पेपर किनेर घरमा थुपारेको हुनाले त्यहाँ अहिले त्यसको चरम अभाव छ।

मोङ्‌कक क्षेत्रको एकटा सुपरमार्केटअगाडि चक्कु बोकेका मानिहरूले एक कर्मचारीबाट ती ट्वाइलेट पेपर लुटेका हुन्।

प्रहरीले दुई जनालाई समातेर लुटिएका केही ट्वाइलेट पेपर जफत गरेको त्यहाँको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

यो पनि पढ्नुहोस्

उक्त घटना सोमवार बिहान हङ्‍कङमा अपराध बढी हुने भनेर चिनिएको एउटा स्थानमा भएको बताइएको छ।

कसरी भयो घटना?

लुटेराहरूले वेलकम सुपरमार्केटबाहिर गाडीबाट ट्वाइलेट पेपर निकाल्दै गरेका कर्मचारीलाई चक्कु देखाएर तर्साएका थिए।

एउटा सञ्चारमाध्यमका अनुसार ६०० रोल ट्वाइलेट पेपर लुटिएको थियो।

तस्बिर स्रोत, Reuters

हङ्‍कङका पसलमा ट्वाइलेट पेपर पाउन गाह्रो हुन थालेको र पाइने पसलमा मानिसहरूको ताँती लाग्न थालेको बताइएको छ।

सरकारले आपूर्ति सहज भएको दाबी गरेको भए पनि मानिसहरूले अनावश्यक मात्रामा ट्वाइलेट पेपर थुपार्न छोडेका छैनन्।

"चक्कु बोकेका तीन मानिसले एक कर्मचारीलाई तर्साएर १३० अमेरिकी डलर बराबरको ट्वाइलेट पेपर लुटेका छन्," प्रहरीका एक प्रवक्ताले बताए।

त्यहाँ फेसमास्क र हात धुने स्यानिटाइजरको पनि अभाव देखिएको छ।