कोरोनाभाइरस: हङ्‌कङका अस्पतालमा हडताल, चीनसँगको सीमा पूरै बन्द गर्न माग

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, क्वीन मेरी हस्पिटलनजिकै अनशनमा बसेका स्वास्थ्यकर्मीहरू

कोरोनाभाइरसको सङ्क्रमणको जोखिम घटाउन आवश्यक भएको भन्दै हङ्‍कङस्थित अस्पतालमा कार्यरत सयौँ कर्मचारीहरूले मुख्यभूमि चीनसँगको सीमा पूरै बन्द गर्न मागसहित हडताल सुरु गरेका छन्।

हङ्‌कङले सीमावारिपारि गर्ने रेल र फेरी सेवा बन्द गरिसकेको छ। तर स्वास्थ्यसेवाका कर्मचारीहरूले पूरै सीमा बन्द गर्नुपर्ने माग राखेका छन्।

अधिकारीहरूले सीमा बन्द गर्नु विश्व स्वास्थ्य सङ्गठनको सुझावविपरीत हुने तर्क गरेका छन्।

हङ्‌कङमा अहिलेसम्म १५ जनामा कोरोनाभाइरसको सङ्क्रमण भएको पुष्टि भएको छ। चीनबाट फैलिएको उक्त महामारी अन्य देशमा पनि फैलिएपछि विश्व स्वास्थ्य सङ्गठनले विश्वव्यापी स्वास्थ्य सङ्कट घोषणा गरिसकेको छ।

"यदि सीमा पूरै बन्द भएन भने यो महामारीसँग सङ्घर्ष गर्न पर्याप्त जनशक्ति, सुरक्षा उपकरण वा आइसोलेशन (सङ्क्रमित व्यक्तलाई राख्न) कक्ष हुनेछैनन्," अस्पतालका कर्मचारीहरूको नवगठित सङ्गठनकी अध्यक्ष विनी यूले भनिन्।

सोमवार अत्यावश्यक सेवाबाहेकका सयौँ स्वास्थ्यकर्मीहरू उक्त आन्दोलनमा सहभागी भए। उक्त सङ्गठनका अनुसार मङ्गलवारसम्म आफ्नो माग पूरा नभए अत्यावश्यक सेवाका चिकित्सक र नर्सहरू पनि आन्दोलनमा सहभागी हुनेछन्।

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, बेइजिङ विमानस्थलमा आइपुगेका यात्रुहरू

हङ्‌कङको कुल जनसङ्ख्या ७० लाख छ। चीनको भाग भए पनि हङ्‌कङमा केही स्वायत्तता छ।

हङ्‌कङ र चीनबीचको सीमा अन्य अन्तर्राष्ट्रिय सीमाजसरी नै सञ्चालित हुन्छ।

चीनले यातायात बन्द गर्नुबाहेक हङ‍्‌कङ जाने यात्रीहरूलाई प्रवेशाज्ञा दिन पनि रोकेको छ।

अहिलेसम्म चीनमा १७,००० भन्दा बढी मानिसमा कोरोनाभाइरसबाट सङ्क्रमण भएको पुष्टि भइसकेको छ। सोमवार बिहानसम्म सङ्क्रमण भएका ३६१ जनाको मृत्यु भएको तथ्याङ्क छ।

चीनबाहिर अहिलेसम्म १५९ जना मानिस उक्त भाइरसबाट पीडित भएका र फिलिफिन्समा एक जनाको मृत्यु भएको पुष्टि भएको छ।

फिलिपिन्समा मृत्यु हुने व्यक्ति चीनको वुहानबाट गएका चिनियाँ नागरिक नै हुन्।

महामारी रोक्न अरू देशले के गर्दैछन्?

विभिन्न देशहरूले कुनै न कुनै रूपमा यात्रामा रोक लगाएका छन्।

अमेरिका, अस्ट्रेलिया र सिङ्गापुरले भर्खरै चीन भ्रमण गरेका विदेशीहरूलाई प्रवेशाज्ञा नदिने निर्णय गरेका छन्।

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, फिलिपिन्समा एक जनाको मृत्यु भएको पुष्टि भएको छ

न्यूजील्यान्ड र इजरेलले चीनबाट आउने विदेशीलाई आफ्नो देशमा प्रवेश गर्न दिन छोडेका छन्।

जापान र दक्षिण कोरियाले कोरोनाभाइरस महामारीको केन्द्रबिन्दु मानिएको चीनको हुबे प्रान्तबाट कसैलाई पनि आफ्नो देशमा प्रवेश नदिने भएका छन्।

अन्य केही देशले चीन जानुपर्ने आफ्ना ध्वजावाहक विमानका उडान स्थगित गरेका छन्। त्यस्तो निर्णय गर्नेमध्ये इजिप्ट, फिन्ल्यान्ड, इन्डोनेशिया, यूके र इटली छन्।

चीनमा अहिले स्थिति कस्तो छ?

चीनको हुबे प्रान्तमा आठ दिनभित्र निर्मित नयाँ अस्पतालले सोमवारदेखि बिरामीहरूको उपचार गर्न थालेको छ।

कोरोनाभाइरसको महामारी रोक्ने उद्देश्यले १,००० शय्या भएको उक्त अस्पताल बनाइएको हो। त्यस्तै अर्को अस्पतालको निर्माण बुधवार सम्पन्न हुने बताइएको छ।

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, सैन्य सेवामा रहेका स्वास्थ्यकर्मीहरू हुबेमा निर्मित नयाँ अस्पतालमा परिचालित भएका छन्

उक्त प्रान्तका अस्पतालहरूमा बिरामीको ठूलो चाप छ।

चीन सरकारको स्वास्थ्य आयोगले सोमवार सार्वजनिक गरेको विवरणअनुसार

  • २१,५५८ जनामा सङ्क्रमणको आशङ्का गरिएको छ
  • १,५२,७०० जना चिकित्सकीय निगरानीमा छन्
  • ४७५ जनालाई अस्पतालबाट घर फर्काइएको छ।

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, वुहानमा बिरामीको सीटी स्क्यान हेर्दै स्वास्थ्यकर्मीहरू