नेपालले पाम आयल फेरि भारत निर्यात गर्न पाउने सुविधा खोज्नुका कारण

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, मलेशियाको एउटा उद्योगमा पामको फल ट्रकबाट झार्दै एक कामदार

भारतले पाम आयल आयातमा लगाएको 'रोक'ले नेपालमा तरङ्ग ल्याए पनि व्यापारी तथा सरकारी अधिकारीहरू नेपालबाट निर्यात गर्न सकिने विषयमा अझै आशावादी देखिएका छन्।

नेपालमा खेती नहुने भए पनि सरकारी तथ्याङ्कले पाम आयल नेपालले निर्यात गर्ने एउटा प्रमुख वस्तु भएको देखाउँछ।

नेपाली व्यापारीहरूले तेस्रो मुलुकबाट कच्चा पदार्थ आयात गरी प्रशोधनपछि पाम आयल भारत निर्यात गर्दै आएका छन्।

शुक्रवार बीबीसी न्यूज नेपालीसँग कुरा वनस्पति घ्यू तेल उत्पादक सङ्घका अध्यक्षले बाहिर चर्चा गरिए जस्तो भारतले निर्यातमा 'प्रतिबन्ध' नभई 'रोक' मात्र लगाएको बताए।

आशावादी

नेपाली व्यापारीहरू आशावादी र सकारात्मक हुनुको एउटा कारण के हो त?

"भारतीय सूचनामा 'रेस्ट्रिक्टिड' लेखिएको छ। 'प्रोहिबटिड' अथवा 'ब्यान्ड' लेखिएको छैन। त्यसो हुँदा खुल्ने सम्भावना सधैँ रहन्छ," सङ्घका अध्यक्ष सन्दीप अग्रवालले भने।

उनी थप्छन्, "भारत आफैँ पाम आयलको आयातकर्ता हो। ऊ आफैँ त्यसको उत्पादक भएको भए हामी अलि चिन्तित नै हुनुपर्थ्यो।"

तस्बिर स्रोत, Science Photo Library

तस्बिरको क्याप्शन, नेपालमा पाम खेती हुँदैन

अग्रवालका अनुसार पाँच-छ महिनायता नेपालको कुल निर्यातको २४ प्रतिशत हिस्सा पाम आयलको रहेको छ र त्यसबाट नेपालले साढे ११ अर्ब रुपैयाँ आर्जन गरेको छ।

व्यापारीहरूका अनुसार भारतले बर्सेनि आयात गर्ने डेढ करोड टन तेलमध्ये एक करोड टन पाम समूहको तेलको आयात रहेको छ।

नेपालले चाहिँ बर्सेनि एकदेखि डेढ लाख टन पाम आयल भारत निर्यात गर्ने गरेको व्यापारीहरू बताउँछन्।

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, पामको फल पेलेर तेल निकालिँदै

भारतले नेपालबाट आयात गर्ने पाम आयलको मात्रा कुल आयातको उल्लेख्य स्तरमा नभएकोले पनि उसलाई समस्या नहुनु पर्ने हो नेपाली अधिकारीहरूको विश्वास छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत रहेको द्विपक्षीय तथा क्षेत्रीय व्यापार महाशाखाका सहसचिव नवराज ढकालले बीबीसी न्यूज नेपालीलाई भने, "हाम्रो निर्यात भारतको समग्र आयातको सानो हिस्सा मात्र हो।"

"अतः पूर्ववत् अवस्थामा कसरी निर्यात गर्न सकिन्छ भन्ने विषयमा भारतीय पक्षसाग अनौपचारिक छलफल सुरु नै गरिसकेका छौँ।"

ढकालका अनुसार नेपालले नयाँ दिल्लीस्थित नेपाली दूतावासलाई यस विषयमा परिचालन गरिसकेको छ र विलम्ब नगरी आवश्यक प्रक्रिया अगाडि बढाउनेछ।

प्रभाव

बिहीवार गरिएको छलफलका क्रममा अधिकारीहरूले उद्योगी, व्यापारीबाट गत वर्षको पाम आयलको आयातनिर्यात र कति उद्योग सञ्चालनमा छन् भनेबारे तथ्याङ्क मागेका थिए।

अनौपचारिक कुराकानीका क्रममा भारतीय पक्षले काठमाण्डूस्थित दूतावासमार्फत्‌ विस्तृत रूपमा बुझेर खबर गर्ने जबाफ दिएको सहसचिव ढकालले बताए।

तस्बिर स्रोत, SLPU9945

उनका अनुसार नेपालले पाम आयलको निर्यात पूर्ववत्‌ अवस्थामा फर्काउन चाहनुको एउटा कारण त्यसले नेपाली अर्थतन्त्रमा पारेको सकारात्मक प्रभाव हो।

ढकाल भन्छन्, "रोजगारी सिर्जना तथा अर्थतन्त्र चलायमान बनाउने कुरामा पाम आयल निर्यातको सकारात्मक प्रभाव छ।"

मोरङ व्यापार सङ्घका भूतपूर्व अध्यक्ष पवन शारडाका अनुसार पाम आयल उद्योगमा पछिल्लो समय नेपाली उद्योगी तथा व्यापारीले ठूलो लगानी गरेका छन्।

"तेस्रो मुलुकबाट मगाइएको ठूलो मात्रामा कच्चा पाम आयल अहिले रोकिन पुगेको अवस्था छ भने प्रशोधित पनि धेरै मात्रामा हुनुपर्छ," उनी भन्छन्।

'रोक' भनिए पनि त्यसको तत्काल समाधान नखोजिए नेपाललाई ठूलो घाटा हुने शारडाको ठम्याइ छ।

"भारतसँगको व्यापार घाटा कम गर्नमा पनि नेपालबाट हुने पाम आयल निर्यातको उल्लेख्य भूमिका थियो," उनले थपे "अतः नेपालले पहिलाजस्तै निर्वाध निर्यातका लागि पहल गर्नुपर्छ।"

तस्बिर स्रोत, Science Photo Library

तस्बिरको क्याप्शन, मलेशियाको एउटा उद्योगमा पामका फलबाट निकालिएको कच्चा तेल