ब्रिटेन आमनिर्वाचन: कन्जर्भेटिभ पार्टीले बहुमत ल्याउने एक्जिट पोलको सङ्केत

ब्रिटेनमा भएको आमनिर्वाचनमा कन्जर्भेटिभ पार्टीले बहुमत ल्याउने बीबीसी, आईटभी र स्काइ न्यूजका लागि गरिएका एक्जिट पोल (मत सर्वेक्षण) ले देखाएका छन्।

मतदान गरेर निस्किरहेका मतदाताहरूसँग गरिएका त्यस्ता अनौपचारिक प्रारम्भिक मत सर्वेक्षणका नतिजामा कन्जर्भेटिभले ३६८ स्थानमा जित्ने देखाएको छ।

जुन यसअघि सन् २०१७ मा सम्पन्न चुनावमा आएको नतिजाभन्दा ५० स्थान धेरै हो।

यूकेको इतिहासमा झण्डै एक सय वर्षमा पहिलोपटक डिसेम्बर महिनामा आमनिर्वाचन भएको हो।

यूरोपेली सङ्घ (ईयू)बाट ब्रिटेन बाहिरिने विषय यो निर्वाचनको एक प्रमुख मुद्दा बनेको छ।

प्रक्षेपण

लेबर पार्टीले १९१ सिट, लिबरल डेमोक्र्याटले १३ र स्कटिश न्याश्नल पार्टीले ५५ सिट जित्ने मत सर्वेक्षणले देखाएका छन्।

उक्त सर्वेक्षणले ब्रेक्जिट पार्टीले कुनै सिट नजित्ने र ग्रिन पार्टीले एक सिट जित्न सक्ने देखाएको छ।

तस्बिर स्रोत, Getty Images

सर्वेक्षणहरूका अनुसार कन्जर्भेटिभ पार्टीले सन् १९८७ यताकै सबैभन्दा ठूलो जित हासिल गर्ने देखिएको छ।

यदि त्यसो भएमा त्यो लेबरहरूका लागि सन् १९३५ यताकै सबैभन्दा कमजोर पराजय हुनेछ।

लेबरहरूले यस चुनावमा ७१ सिट गुमाउने देखिएको छ।

नतिजा

अन्तिम नतिजाका लागि भने शुक्रवार मध्यान्हसम्म कुर्नुपर्नेछ।

तस्बिर स्रोत, AFP

यस चुनावमा बोरिश जोनशनले आफूले बहुमत पाएमा सन् २०२० को ३१ ज्यानुअरीभित्र यूकेलाई ईयुबाट बर्हिगमन गराउने वाचा गरेका थिए।

उनका मुख्य प्रतिस्पर्धी लेबर नेता जेरेमी कोर्बिनले चाहिँ ईयूमै रहने कि नयाँ सम्झौतामार्फत् बाहिरिने भन्ने विकल्प अर्को जनमत सङ्ग्रहमार्फत् दिने बताएका थिए।

यो पाँच वर्षभन्दा कम समयमा ब्रिटेनमा भएको तेस्रो आमनिर्वाचन हो।

कति भरपर्दा हुन्छन् 'एक्जिट पोल'हरू?

पछिल्ला वर्षमा एक्जिट पोलका नतिजाहरू निकै मिलेका पाइएका छन्।

सन् २०१७ मा त्यसले चुनावमा कसैले पूर्ण बहुमत ल्याउन नसक्ने प्रक्षेपण गरेको थियो।

सन् २०१५ मा कन्जर्भेटिभहरू सबैभन्दा ठूलो दल हुने नतिजा देखा परेको थियो।

एक्जिट पोलका क्रममा मत हालेर निस्किएका मानिसहरूलाई नमुना मतपत्र भर्न दिइएको थियो।

१४४ मतदान केन्द्रमा झण्डै २३ हजारजनासँग अन्तर्वार्ता गरेर त्यस्तो मत सर्वेक्षण गरिएको थियो।