१३औँ दक्षिण एशियाली खेलकुद: नेपाललाई गल्फमा दुई स्वर्ण
तस्बिर स्रोत, NSC
- Author, निरञ्जन राजवंशी
- Role, बीबीसी न्यूज नेपाली
गल्फमा सुवास तामाङले पुरुष एकल र नेपाली टोलीले पुरुष टिम स्पर्धामा स्वर्ण जितेपछि नेपालको स्वर्ण पदक सङ्ख्या ३९ पुगेको छ।
तामाङले चार दिनको खेलपश्चात् १४ अन्डर २७४ अङ्क प्राप्त गर्दै स्वर्ण जितेका हुन्।
यस स्पर्धामा बाङ्ग्लादेशका मोहम्मद फर्हादले छ अन्डर २८२ अङ्क प्राप्त गरेभने नेपालका शुक्रबहादुर राईले चार अन्डर २८४ अङ्क प्राप्त गर्दै कांस्य प्राप्त गरे।
त्यस्तै टिम स्पर्धामा नेपालका तामाङ, राई, निरज तामाङ र टङ्कबहादुर कार्कीले चार अन्डर ८६० अङ्क खेल्दै स्वर्ण जितेका हुन्।
शुक्रवार बिहान गोपीचन्द पार्कीले शुक्रवार बिहान ५,००० मिटर दौड १४ मिनेट ५४:२० सेकेन्डमा दौड पूरा गर्दै स्वर्ण पदक जितेका छन्।
सो प्रतिस्पर्धामा भारतीय खेलाडी सुनिल दावाले रजत जिते। उनले १४ मिनेट ५५:२१ मा दौड पूरा गरे।
नेपालकै हरि रिमालले १४ मिनेट ५७:०५ सेकेन्ड समय निकाल्दै कांस्य पदक जिते।
पार्कीले जितेको स्वर्ण नेपालले मध्यम दूरीको दौडमा जितेको पहिलो स्वर्ण पदक हो।
यसअघि राजेन्द्र भण्डारीले सो दूरीमा सन् २००६ को दक्षिण एशियाली खेलकुदमा स्वर्ण पदक जितेका थिए। तर पछि डोपिङमा परेपछि उनको पदक खोसिएको थियो।
तालिकामा भारतको अग्रता
बिहीवारसम्म ६२ स्वर्ण पदकसहित कुल १२४ पदक जितेर भारत पदक-तालिकाको शीर्ष स्थानमा छ।
नेपालले ३६ स्वर्ण, २७ रजत र ३८ कांस्यसहित कुल १०१ पदक जितेको थियो।
पदकतालिकामा श्रीलङ्का तेस्रो, पाकिस्तान चौथो, बाङ्ग्लादेश पाँचौँ, माल्दिभ्स छैटौँ र भुटान सातौँ स्थानमा छन्।
भुटानले अहिलेसम्म छवटा कांस्यपदक मात्र जितेको छ।
मुख्य समाचार
अनि यो पनि
धेरै रुचाइएको
सामग्री उपलब्ध छैन