सिरिया हमला: अमेरिकालाई सघाएका कुर्द 'देवदूत' नभएको ट्रम्पको टिप्पणी

तस्बिर स्रोत, EPA

पढ्ने समय: २ मिनेट

सिरियामाथि टर्कीले गरेको सैन्य हमलाबारे प्रतिक्रिया जनाउँदै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले 'आफ्नो सीमा नभएको' प्रतिक्रिया दिएका छन्।

उनले जिहादी समूह इस्लामिक स्टेटविरुद्धको लडाइँमा अमेरिकालाई सघाएका कुर्दहरू 'कुनै देवदूत नभएको' पनि टिप्पणी गरे।

गत साता उक्त क्षेत्रबाट अमेरिकी सेना फिर्ता लैजानले निर्णयले टर्कीलाई उत्तरी सिरियामा आक्रमण गर्ने बाटो खोलिदिएको भन्दै अमेरिकाको देशभित्रै र अन्तर्राष्ट्रिय रूपमा तीव्र आलोचना भइरहेको छ।

तर ह्वाइटहाउसमा संवाददाताहरूसँगै कुरा गर्दै ट्रम्पले अमेरिका अरूको रेखदेख गरेर बस्ने निकाय नभएको बताए र भने, "अहिले हामी सबैको लागि घर जाने बेला हो।"

संसद्‌को 'खेद'

यसअघि आएका समाचारहरूमा ट्रम्पले सिरिया-टर्कीबीच उत्पन्न तनावलाई 'आफ्नो समस्याको बिषय नभएको' बताएको उल्लेख थियो।

अमेरिकाको तल्लो सदनको भारी मतले उत्तरपूर्वी सिरियाबाट कुर्दहरूलाई एक्लै छाड्दै अमेरिकी सेना फिर्ता लग्ने ट्रम्पको कदमप्रति विरोध जनाएको छ।

गत साता सेना फिर्ता लग्ने अमेरिकी निर्णय लगत्तै सिरियाली कुर्दमाथि टर्कीले सैन्य हमला सुरु गरेको थियो।

उक्त खेद प्रस्ताव पारित गर्न मतदान गर्नेमा विपक्षी डमोक्र्याट्सहरू बाहेक १२९ रिपब्लिकन सांसदहरू समेत थिए।

असहज बैठक

संसद्‌मा मतदान लगत्तै बोलेका वरिष्ठ डेमोक्र्याटहरूले सिरियाबारे राष्ट्रपतिसँगको बैठक सहज रूपमा नटुङ्गिएको बताएका थिए।

यो X पोस्ट छोड्नुहोस्
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त

जहाँ ट्रम्पले सभामुख न्यान्सी प्यालोसीलाई 'तेस्रो दर्जाकी राजनीतिज्ञ' भनेका थिए।

ट्रम्प र प्यालोसी दुवैले एक अर्कालाई बैठकमा उग्र रूपले प्रस्तुत भएको बताएका छन्।

रिपब्लिकनहरूले भने प्यालोसीले असहज रूपमा बैठक छाडेको बताए।

'मुर्ख नहुन' सुझाव

यसअघि टर्कीले हमला सुरु गरेकै दिन ट्रम्पले टर्कीका राष्ट्रपति रेजेप ताइयिप एर्दोआनलाई लेखिएको एउटा पत्र सार्वजनिक भएको थियो।

जसमा ट्रम्पले उनलाई 'कडा र मुर्ख व्यक्ति नहुन' लेखेका थिए।

तस्बिर स्रोत, AFP/Getty Images

"तपाईँ हजारौं मानिसहरूको मृत्युको जिम्मेवार हुन चाहनुहुन्न र म टर्कीको अर्थतन्त्र ध्वस्त पार्ने कुराको जिम्मेवार हुन चाहन्न", पत्रमा भनिएको छ।

बुधवार टर्कीका राष्ट्रपतिका एकजना प्रवक्ताले देशको विदेश मन्त्रालयले अमेरिकी प्रतिबन्धको जवाफ दिने तयारी गरिरहेको बताएका थिए।

अङ्कराले आफ्नो सैन्य हमला जारी राख्ने बताउँदै कुर्द लडाकुहरूसँगको वार्ताको सम्भावनालाई अस्वीकार गर्दै आएको छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, सिरियाली सेना आएपछि स्थानीय मानिसहरूले यसरी स्वागत गरे

बिहीवार अमेरिकी उपराष्ट्रपति माइक पेन्स र विदेशमन्त्री माइक पोम्पेओ युद्ध रोक्ने प्रयास गर्न भन्दै टर्की पुग्दैछन्।

घटनाक्रम

टर्कीले गरेको आक्रमणको प्रतिकार गर्न बशर अल-असदको सरकार सेना परिचालन गर्न सहमत भएको थियो।

उनीहरूबीच भएको सहमतिलाई सिरियाका राष्ट्रपतिको आत्मबल बढाउने अवसरको रूपमा हेरिएको छ।

कुर्द लडाकु र सिरियाबीच सहमति भएपछि उत्तरी सिरियामा सन् २०१२ यता पहिलोपटक सरकारी सेना फर्किएको छ।

तस्बिर स्रोत, AFP

राष्ट्रपति असदलाई सघाइरहेको रुसले आफ्ना सेनाहरूले सिरिया र टर्कीका सेनाको जम्काभेट हुन सक्ने ठाउँमा गस्ती गरिरहेको बताएको छ। र, उसले दुई देशका सेनाबीच हमला हुन नदिने बताएको छ।

टर्कीले कुर्दहरूमाथि सैन्य आक्रमण गरेपछि अमेरिकाले त्यसको सशक्त विरोध गर्दै टर्कीका दुईवटा मन्त्रालय र तीन वरिष्ठ अधिकारीहरूलाई प्रतिबन्ध लगाएको छ।

अमेरिकाले स्टीलमा कर बढाउने र व्यापार सम्झौतासम्बन्धी वार्ताहरू समेत रोकेको जनाएको छ।