टर्कीले सिरियामा आक्रमण सघन बनाउँदा कम्तीमा एक लाख मानिस विस्थापित

तस्बिर स्रोत, AFP

तस्बिरको क्याप्शन, टर्कीको आक्रमणबाट विस्थापित भएका बालबालिकाहरू सिरियाको पश्चिमोत्तर प्रान्त हस्साकेमा

टर्कीले सीमापारि सिरियामा कुर्दहरूको नियन्त्रण रहेको क्षेत्रमा आक्रमण थालेपछि झन्डै एक लाख मानिसहरू घर छोडेर भाग्न बाध्य भएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ।

धेरै मानिसहरूले हस्साके र तल तामेर नगरका विद्यालय तथा अन्य भवनहरूमा आश्रय लिएको राष्ट्रसङ्घले बताएको छ।

अमेरिकाले गत बुधवार सो क्षेत्रबाट आफ्नो सेना फिर्ता गरेपछि टर्कीले सैन्य कार्बाही थालेको हो।

टर्कीको सैन्य कार्बाही रोक्न अमेरिकाले दबाव दिएको छ। आक्रमण नरोके टर्कीले "गम्भीर परिणाम" भोग्नुपर्ने चेतावनी अमेरिकी रक्षामन्त्रीले दिएका छन् भने अर्थमन्त्रीले नयाँ प्रतिबन्धहरूको चेतावनी दिएका छन्।

टर्कीले सैन्य कार्बाही थालेपछि कम्तीमा ११ जना गैरसैनिक नागरिकको मृत्यु भएको छ।

मानवीय सहायता प्रदान गर्ने समूहहरूका अनुसार प्रभावित व्यक्तिहरूको सङ्ख्या अझ बढ्नेछ।

कुर्द नेतृत्वको सिरियन डेमक्रेटिक फोर्सेस (एसडीएफ) र टर्कीलाई समर्थन गर्ने समूहका दर्जनौँ लडाकुहरूको मृत्यु भएको छ। टर्कीको सेनाले आफ्ना एक सैनिकको पनि मृत्यु भएको पुष्टि गरेको छ।

तस्बिर स्रोत, Reuters

विश्लेषकहरूका अनुसार अमेरिकी सेना फिर्ता भएकाले टर्कीले सीमापारि आक्रमण गरेको हो।

सन् २०११ मा सिरियामा गृहयुद्ध सुरु भएपछि त्यो क्षेत्रको अधिकांश भाग सिरियाली सरकारको नियन्त्रणमा छैन। सन् २०१५ देखि त्यहाँ एसडीएफको नियन्त्रण थियो।

इस्लामिक स्टेट समूहविरुद्ध अमेरिकाले गरेको सङ्घर्षमा एसडीएफले सघाएको थियो। तर टर्कीले एसडीएफलाई टर्कीविरुद्ध विद्रोहको समर्थन गर्ने "आतङ्कवादी" मान्छ।

आफूले गरेको आक्रमण कुर्द लडाकुहरूलाई धपाएर "सुरक्षित क्षेत्र" निर्माण गर्ने प्रयास भएको भन्दै टर्कीले सैन्य कार्बाहीको प्रतिरक्षा गरेको छ।

"जसले जे भने पनि हामी रोकिँदैनौँ," टर्कीका राष्ट्रपतिले शुक्रवार भने।

कुर्दहरूको नेतृत्वमा रहेको सेनाको सुरक्षामा राखिएका विदेशीसहित हजारौँ सन्दिग्ध आईएस बन्दीहरूको स्थितिबारे अन्तर्राष्ट्रिय समुदायको चासो रहेको छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, रस अल-ऐनबाट भागेका मानिसहरू एउटा आश्रयस्थलमा

सङ्घर्षमा के हुँदैछ?

आईएसले शुक्रवार आफूले एउटा कार बम विस्फोटन गराउँदा सीमावर्ती नगर कमिश्लीमा छ जनाको मृत्यु भएको दाबी गरेको छ। मृत्यु हुनेमा सर्वसाधारण नागरिक तथा सुरक्षाबलका सदस्यहरू पनि छन्।

अमेरिकी सञ्चारमाध्यमले कोबनेस्थित अमेरिकी सैन्य शिविरमा विस्फोटन भएको विवरण दिएका छन्। तर कोही हताहत भए कि भएनन् त्यो उल्लेख गरिएको छैन।

बिहीवार टर्कीको सेनाले रस अल-ऐन र तल अब्यादमा घेराबन्दी गरेको थियो।

टर्कीले आफ्नो कार्बाही योजनाबद्ध रूपमै अघि बढिरहेको जनाएको छ। तर सिरियन अब्जर्भटरी फर ह्यूमन राइट्सले त्यसको खण्डन गरेको छ।

टर्कीका युद्धक विमानहरूले दुवै नगरमा आक्रमण गरेका छन्। त्यहाँ खिचिएका भिडिओहरूमा धुँवाको मुस्लो उडेको देखिन्छ।

तल अब्यदस्थित एउटा मात्र अस्पताल पनि बन्द भएको छ।

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, सिरियामा प्रवेश गर्न लागेको टर्कीको स्थलसेनाको एउटा टोली

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, टर्कीको सेनाको एउटा ट्याङ्कर सिरियाको सीमातिर जाँदै

कुर्दिश रेड क्रेसन्टले ११ जनाको मृत्यु भएको तथा २८ जना गम्भीर घाइते भएका पुष्टि भएको जनाएको छ। अधिकांश मानिसहरू रस अल-ऐन र अर्को सीमावर्ती नगर कमिश्लीमा हताहत भएका हुन्।

कुर्द पक्षले टर्कीका सीमावर्ती नगरमा आक्रमण गर्दा एक सिरियाली शिशुसहित कम्तीमा पाँच जनाको मृत्यु भएको थियो।

सिरियन अब्जर्भटरी फर ह्यूमन राइट्सका अनुसार एसडीएफका कम्तीमा १७ लडाकु र टर्कीको समर्थन गर्न सिरियाली विद्रोही समूहका १७ जना लडाकुको मृत्यु भएको छ। त्यसैगरी १० जना गाउँलेहरूले टर्कीको आक्रमणमा परेर ज्यान गुमाएको बताइएको छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, टर्कीले सैन्य आक्रमण सुरु गर्दाको दृष्य

टर्कीको समाचारसंस्था आनाडोलुले कार्बाही सुरु भए देखि २२८ कुर्द लडाकुलाई मारिएको बिहीवार राति बताएको थियो।

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, सिरियाको रस अल-ऐनमा टर्कीले हवाई आक्रमण गरेपछि धुँवाको मुस्लो उडेको देखिएको थियो

हताहत भएका मानिसहरूको सङ्ख्या स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन।

विस्थापित मानिसको स्थिति के छ?

त्यहाँ शरणार्थी सङ्कट उत्पन्न भएको छ।

संयुक्त राष्ट्रसङ्घको मानवीय मामिला हेर्ने निकाय ओसीएचएले झन्डै एक लाख मानिसहरू विस्थापित भएको बताएको छ।

तस्बिर स्रोत, AFP

तस्बिरको क्याप्शन, रस अ‍ल-ऐनबाट भाग्दै सर्वसाधारणहरू

तर अन्य सहायता समूहहरूले झन्डै साढे चार लाख मानिहरू घर छोडेर भाग्न बाध्य भएको दाबी गरेका छन्।

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, रस अल-ऐनबाट भाग्दै मानिसहरू

तल अब्यदमा खटेका सहायताकर्मीहरूका अनुसार अधिकांश नागरिकहरू त्यहाँबाट भागेका छन्। त्यहाँबाट अन्यत्र नगएका मानिसहरू पनि आफ्नो ज्यान असुरक्षित भएको ठान्छन्।

ओसीएचएका अनुसार टर्कीले बम आक्रमण गर्दा पानी आपूर्ति गर्ने संरचना तथा अन्य भौतिक संरचना क्षतिग्रस्त भएका छन्। हजारौँ मानिसले हस्साके क्षेत्रमा स्वच्छ पानी नपाउने स्थित उत्पन्न भएको उसले बताएको छ।

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, टर्कीको समर्थनप्राप्त सिरियाली विद्रोहीहरू पनि टर्कीले थालेको कार्बाहीमा सहभागी छन्

टर्कीले सिरियासँगको सीमामा ४८० किलोमिटर लामो "सुरक्षित क्षेत्र" बनाउन खोजेको छ। तर सीमाबाट ३२ किमोमिटरभन्दा भित्र आफू नजाने उसले बताएको छ।

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, सङ्घर्षमा टर्कीलाई समर्थन गर्ने सिरियाली विद्रोही समूहका लडाकुहरूको पनि मृत्यु भएको छ