थाईल्यान्डमा झरनामा खसेको छावाको उद्धार गर्न जाँदा जङ्गली हात्तीको बथानको एकै चिहान

तस्बिर स्रोत, THAILAND DNP

थाईल्यान्डमा एउटा विकट झरनामा आफ्नो बथानको एउटा सदस्य खसेपछि उद्धार गर्न गएका अन्य पाँचसहित छवटा जङ्गली हात्तीको मृत्यु भएको छ।

काओ आई निकुञ्जका अधिकारीहरुका अनुसार एउटा छावा चिप्लिएर झरनामा खसेको थियो। त्यसपछि उद्धार गर्न एकपछि अर्को गर्दै हात्तीहरू तल झरनाको खोँचमा ओर्लिएका र त्यहीँ फसेका थिए।

तीमध्ये अधिकांशको मृत्यु भयो भने नजिकैबाट दुईवटा हात्तीलाई जीवितै उद्धार गरिएको छ।

हाएउ नारोक वा 'हेल्स फल' भनेर चिनिने त्यो झरनामा पहिला पनि त्यस्ता दु:खद घटना भएका थिए।

सन् १९९२ मा त्यही स्थानमा आठवटा हात्ती मरेका थिए। त्यो घटनाको देशका सञ्चारमाध्यमहरूले ठूलो चर्चा गरेका थिए।

तस्बिर स्रोत, KHAO YAI NATIONAL PARK

झरनातिर जाने बाटो हात्तीको बथानले अवरुद्ध भएको देखिएपछि शनिवार स्थानीय समयानुसार ३ बजे अधिकारीहरूलाई बोलाइएको थियो।

तीनवर्षे छावाको मृत शरीर तीन घण्टा पछि फेला पर्‍यो। लगत्तै पाँचवटा हात्तीका शव पनि फेला परे।

उद्धार गरिएका अन्य दुईवटा हात्तीको स्थिति आफूहरूले अनुगमन गरिरहेको निकुञ्जका प्रमुखले बीबीसीलाई बताएका छन्।

वाइल्ड लाइफ फ्रेन्ड्स फाउन्डेशन थाईल्यान्डका संस्थापक एड्विन विएकका अनुसार हात्तीको सुरक्षा र आहार खोज्नका लागि ठूलो बथानको आवश्यकता पर्ने हुँदा ती दुई हात्तीलाई पछि जीवित रहन कठिन हुन सक्छ।

तस्बिर स्रोत, THAILAND DNP

उक्त घटनाले ती हात्तीमा भावनात्मक असर पनि पर्न सक्छ। हात्तीहरू आफ्नो बथानका सदस्यको मृत्यु हुँदा शोकमग्न हुने गर्छन्।

"यो घटना तपाईँले आधा परिवार गुमाए जस्तै हो," विएकले बीबीसीलाई बताए।

थाईल्यान्ड झन्डै सात हजारवटा एशियाली हात्ती छन्। तीमध्ये आधा हात्तीलाई मानिसले पालेका छन्।

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, हात्तीका लागि बनाइएको पहिलो अस्पताल