अद्भुत प्रकृतिका अद्भुत तस्बिरहरू
तस्बिर स्रोत, Frank Deschandol/WPY2019
- Author, जोनाथन एमस
- Role, बीबीसी विज्ञान संवाददाता
यो अनौठो छ तर उत्तिकै सुन्दर पनि।
तस्बिरमा खपटेकीराका सिङको टुप्पोमा देखिने डल्लो उसको शरीरको अङ्ग हैन। त्यो त बरु उक्त कीरालाई सङ्क्रमण गर्ने 'जम्बी फङ्गस' भनिने ढुसीको विशेष भाग हो।
परजीवी बनेर आफ्नो उद्देश्य पूरा गरिसकेको उक्त ढुसी अहिले कीराको शरीरमा बसेर आफ्ना बीज हावामा छर्कने अवस्थामा छ।
यो तस्बिर फ्राङ्क डेशान्डोलले खिचेका हुन्। यो तस्बिरले यस वर्षको 'वाइल्डलाइफ फोटोग्राफर अफ द इअर' प्रतियोगितामा वनस्पति र ढुसी वर्गमा विशेष स्थान पाएको छ।
फ्रान्सेली फोटोग्राफर डेशान्डोलले सो तस्बिर पेरुको एमेजन क्षेत्रमा खिचेका हुन्।
"पहिला त म यो के अनौठो चिज हो भनेर अल्मलिएँ," बीबीसीसँग उनी भन्छन्, "त्यसपछि नजिकै गएँ र यो दृष्य तथा ढुसीको सन्तुलन मिलेको गज्जबको बान्कीबाट प्रभावित भएँ।"
उनले परजीवीले सङ्क्रमण गरेका अरू खपटेकीरा पनि देखेका थिए तर अरू यसरी राम्रो फोटो आउने खालका थिएनन्।
यो वर्षको उक्त प्रतियोगिता सुरु भएको ५५ वर्ष हुँदैछ। प्रतियोगितामा ५५ हजारवटा तस्बिर प्राप्त भएका थिए।
प्रतियोगितामा विभिन्न वर्गमा विशेष मानिएका अरू तस्बिरहरू यहाँ प्रस्तुत गरिएको छ।
केही तस्बिरमा हिंसक पशु पनि भएकाले केही पाठकलाई तिनले विचलित पार्न पनि सक्छन्।
'कुकुर र बिरालो'को लडाइँ, पिटर हेगार्थ, यूके
तस्बिर स्रोत, Peter Haygarth/WPY2019
अफ्रिकी जङ्गली कुकुरलाई कुशल सिकारी मानिन्छ। तर यो अवसरमा भने हैन।
यो एक्लो चितुवा बल्लबल्ल ज्यान जोगाएर भाग्यो। यो तस्बिर दक्षिण अफ्रिकाको एउटा सिकार आरक्षमा खिचिएको यो।
जीवनको चक्र, एलेक्स मस्टर्ड, यूके
तस्बिर स्रोत, Alexander Mustard/WPY2019
रक्तसागरमा माछाको बथान। भाले र पोथीको समागम हुनुभन्दा अघि माछाहरू यसरी नै गोलो बनाउँदै घुम्दै गर्छन्।
यसरी समूहमा घुम्दा उनीहरू सिकारीबाट जोगिन पनि सक्छन्।
भाग्यमानी, जेसन ब्यान्टल, क्यानडा
तस्बिर स्रोत, Jason Bantle/WPY2019
यो तस्बिरमा एउटा पोथी र्याकून एउटा थोत्रो गाडीको सिसा फुटाएर बाहिर मुख निकालेको देखिन्छ।
छाउरा हुर्काउन ऊ त्यो गाडीमा बसेकी थिई।
विश्वास, टोमस पेशाक, जर्मनी/दक्षिण अफ्रिका
तस्बिर स्रोत, Thomas.P.Peschak/WPY2019
एउटा ग्रे ह्वेल मेक्सिकोको सान इग्नासिओ लगूनमा एकजना पर्यटकले डुङ्गाबाट पानीमा हात राखेपछि त्यतातिर जाँदै।
सो लगूनमा बस्ने ह्वेलहरू मानिसले आफूलाई छोएको मन पराउँछन् र मानिससँग लहसिन जान्छन्।
खोल, मिङ्गुई युआन, चीन
तस्बिर स्रोत, Minghui Yuan/WPY
यो पिँजडाजस्तो संरचना एक जातको पुतलीको लार्भा र वयस्क चरणको बीचको प्युपाको खोल हो।
शरीर रूपान्तरण हुँदा सिकारीबाट जोगिनका लागि लार्भा चरणको झुसिल्कीराले रेसादार खोल बनाउँछ।
फोहोर, टमस वेअर, अमेरिका
तस्बिर स्रोत, Matthew Ware/WPY2019
समुद्रमा फोहोर फाल्दा पर्यावरणमा नराम्रो असर पर्छ।
समुद्रमा फ्यालिएको माछा मार्ने उपकरणमा यो समुद्री कछुवा च्यापिएको थियो। यो फोटो एलबामामा खिचिएको हो।
आक्रमण, आड्रिआन हिर्शी, स्वीट्जरल्यान्ड
तस्बिर स्रोत, Adrian Hirschi/WPY2019
भर्खर जन्मिएको जलगैँडा (हिपपोटमस) को बच्चालाई एउटा भालेले जिम्बाब्वेको लेक कारिबा तालमा आक्रमण गर्यो।
जलगैँडाको समूहमा प्राय: यस्तो घटना हुँदैन। तर स्थान र प्रभुत्वका लागि भाले जलगैँडाहरू आक्रामक बन्न सक्छन्।
लन्डनस्थित न्याचुरल हिस्ट्री म्युजिअमले प्रतियोगिताका विजेताको नाम आगामी महिना घोषणा गर्नेछ।
मुख्य समाचार
अनि यो पनि
धेरै रुचाइएको
सामग्री उपलब्ध छैन