हङ्‌कङमा प्रहरी-प्रदर्शनकारी झडप: अस्पतालमा ५ जनाको अवस्था गम्भीर

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, प्रहरीले प्रदर्शनकारीलाई तितरबितर पार्न अश्रुग्यास प्रहार गरेको थियो

शनिवार प्रजातन्त्रवादी प्रदर्शनकारी र प्रहरीबीच भएको मुठभेडमा घाइते भएकामध्ये पाँचजनाको अवस्था गम्भीर रहेको हङ्‌कङको अस्पतालका अधिकारीहरूले जनाएको बताइएको छ।

भर्ना गरिएका ३१ जनामध्ये १८ जना अस्पतालबाट घर फर्काइएका छन् भने थप आठजनाको अवस्था स्थिर रहेको बताइएको छ।

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, हङकङमा तेह्र हप्तादेखि विरोध प्रदर्शन हुँदै आएको छ

भाग्दै गरेका प्रदर्शनकारी र दङ्गा प्रहरीबीच युद्धमैदान जस्तो बनेपछि हङ्‌कङका केही मेट्रो स्टेशनहरू आइतवार बन्द रहने बताइएको छ।

प्रहरीले एउटा मेट्रो स्टेशनमा प्रवेश गरेर धरपकड गरेको र पिरो वस्तु छरिदिएको बताइएको छ।

एक ठाउँबाट ४० जना गिरफ्तार गरिएको थियो।

अदालतले एक आदेश जारी गर्दै प्रतिबन्ध लगाएको भए पनि प्रदर्शनकारीहरूले अन्तर्राष्ट्रिय विमानस्थल वरपरका सडकहरू बन्द गरिदिने योजना बनाएको बताएका छन्।

तस्बिर स्रोत, AFP

तस्बिरको क्याप्शन, प्रहरीमाथि बम प्रहार गर्ने तयारी गर्दै प्रदर्शनकारी

हङ्‌कङका अधिकारीहरूले कानुनी शासन कायम गराउने बताएका छन् र मानिसहरूलाई हिंसा अस्वीकार गर्न आग्रह गरेका छन्।

चिनियाँ राज्य सञ्चालित सञ्चार माध्यमले उक्त भूभाग नियन्त्रण बाहिर जाने खतरा बढेको भन्दै कानुन स्थापित गरिनुपर्ने समय आएको बताएका छन्।

हङ्‌कङमा प्रतिबन्ध बेवास्ता गर्दै आइतवार पनि विरोध प्रदर्शनमा उत्रिएका दशौँ हजार मानिसलाई हङ्‌कङको दङ्गा प्रहरीले अश्रुग्यास, रबरको गोली र पानीको फोहोरा प्रयोग गरेको थियो।

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, प्रहरीद्वारा अश्रुग्यास प्रहार

अधिकारीहरूले सडक खाली गराउनका लागि चेतावनी स्वरूप पाँच हवाइ फायर समेत गरेका थिए।

प्रदर्शनकारीहरूले आगो बालेका थिए, पेट्रोल बम प्रहार गरेका थिए र संसद् भवनमा आक्रमण गरेका थिए।

हङ्‌कङमा पूर्ण प्रजातान्त्रिक चुनावमाथि चीनले प्रतिबन्ध लगाएको पाँच वर्ष पुगेको सन्दर्भमा शनिवार प्रदर्शन गरिएको थियो।

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, केही प्रदर्शनकारीलाई गिरफ्तार गरिएको थियो

शुक्रवार कैयौँ प्रजातन्त्रवादी अभियानकर्मीहरू र चीनको विशेष प्रशासित क्षेत्रका सांसदहरू गिरफ्तार गरिएका थिए।

अपराधमा सन्दिग्धहरूलाई मुद्दा चलाउन मुख्यभूमि चीन लग्न मिल्ने किसिमको सुपुर्दगी विधेयक आएपछि सुरु भएको आन्दोलन विधेयक स्थगित भएपछि पनि निरन्तर चलिरहेको छ।

तस्बिर स्रोत, AFP/Getty Images

तस्बिरको क्याप्शन, केहीले घुँडा टेकेको देखिएको थियो

विधेयक स्थगित गरिएपनि विरोध प्रदर्शन वृहत् प्रजातन्त्रवादी आन्दोलनको स्वरूपमा चलिरहेको छ र मुठभेड झन् झन् हिंसात्मक बन्दै गएको छ।

बीबीसीका हङकङ संवाददाता ड्यानी भिसेन्टको विश्लेषण छ:

प्रदर्शनकारीहरूले इट्टाका टुक्राहरू अगाडि अगाडि सारिरहेका थिए।

प्रहरी अगाडि नबढुन् भनेर रोक्नका लागि तिनको प्रहार गरिएको थियो।

तस्बिर स्रोत, AFP

प्रहरीले अश्रुग्यास प्रहार गर्‍यो त्यसपछि रबरका गोलीहरू।

तर प्रहरीको प्रहारको जवाफ पेट्रोल बमहरू प्रहार गरेर दिइयो।

तीन महिनादेखि प्रदर्शन गर्दै आएका कैयौँ युवा प्रदर्शनकारीहरू संघर्षप्रति झन कट्टर बन्दै गएका छन्।

उनीहरूसँग रणनीति छ, हिंसा भए स्वीकार्न तयार बन्दै गएका उनीहरू सङ्गठित पनि छन्।