'यो वर्षको सबभन्दा ठूलो समाचार': नब्बे प्रतिशत बिरामी बाँच्ने आशा दिएको वैज्ञानिक खोज

तस्बिर स्रोत, AFP

तस्बिरको क्याप्शन, अनुसन्धानमा इबोला सङ्क्रमणको सुरुमै उपचार गराउनेहरू ९० प्रतिशत बाँचेको बताइएको छ

दशकौँसम्म इबोलाले मानिसमा ठूलो त्रास पैदा गरेको छ। जसलाई यो रोग लाग्छ ती मध्ये धेरै कम मात्र बाच्न सफल हुन्छन्।

तर यो अवस्थामा परिवर्तन आउला कि जस्तो छ। कङ्गोका इबोला बिरामीहरूमा सफल क्लिनिकल परीक्षण गरेका वैज्ञानिकहरूले बाँच्ने दरमा नाटकीय रूपमा सुधार भएको घोषणा गरेका छन्।

अनुसन्धानले देखाएको छ- प्रभावकारी औषधि खुवाएर र छिटो उपचार सुरु गर्ने हो भने ९०% सङ्क्रमितहरू बाँच्न सक्छन्।

इबोला रेस्पोन्स कार्यक्रमका संयोजक प्राध्यापक जाँ ज्याक्स मुएम्बेले उक्त घोषणामा भने- इबोला रोग छिटै "रोक्न सकिने र उपचार गर्न सकिने बन्न सक्छ" र उनले नयाँ परीक्षणलाई "यो वर्षकै सबभन्दा सुखद समाचार" भने।

उनले बीबीसीको फोकस अन अफ्रिका रेडियो कार्यक्रमलाई भने, "म त्यसबाट ज्यादै हर्षित भएको छु।"

"मैले इबोला भाइरसबाट सङ्क्रमितहरूको उपचार कसरी गर्ने भन्ने चिन्तन गर्दै चार दशक बिताएँ। त्यसैले यो मेरो जीवनको ठूलो उपलब्धि हो। "

तस्बिर स्रोत, AFP

तस्बिरको क्याप्शन, डा. मुएम्बे सन् १९७६ मा इबोला पत्ता लगाउने समूहका सदस्य थिए

एन्टीबडीहरू

यो अध्ययन कङ्गोमा गरिएको थियो जहाँ गत वर्षको अगष्ट महिना यता मात्रै इबोलाका कारण १,८०० मानिसको ज्यान गएको छ।

नोभेम्बरमा चार औषधिसहित परीक्षण सुरु गरिएको थियो। करिब ७०० जना बिरामी भर्ना गरिएको थियो र ती मध्ये उपचार गरिएका ४९९ जनाको परिणाम अहिले प्रकाशमा आएको छ।

डा मुयेम्बेले भने यी औषधि मध्ये दुईवटा- जसको प्रयोगशाला नाम आरइजीएन-इबीथ्री र एमएबीवानवानफोर रहेको छ- "इबोला विरुद्ध निकै प्रभावकारी देखिन्छन्।"

मोनोक्लोनल एन्टीबडीज भनिने उपचार पद्धतिमा औषधिले भाइरसलाई निस्क्रिय बनाइदिन्छन्।

सामान्यत इबोला लागेपछि मृत्युदर ६०-६७% हुन्छ तर आरइजीएन-इबीथ्री दिइएका बिरामीमा मृत्युदर २९%मा झर्‍यो।

एमएबीवानवानफोर औषधि प्रयोग गरिएकाहरूमा मृत्युदर ३४ % रहेको पाइयो।

शरीरमा भाइरसको तह कम भएका बिरामीमध्ये आरइजीएन-इबीथ्री औषधि दिइएका बिरामीमा मृत्युदर ६%मा झर्‍यो र एमएबीवानवानफोर दिइएकाहरूमा ११%मा झरेको पाइयो।

"यो साँचिकै ठूलो उपलब्धि हो," डा मुयेम्बेले भने। "यो असाध्यै महत्वपूर्ण छ किनभने इबोलाको उपचार छैन, खोप पनि छैन त्यसैले यो वर्षको सबभन्दा ठूलो खबर नै यही हो।

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, कङ्गोमा गत एक वर्षमा इबोलाका कारण १८०० मानिसको ज्यान गएको छ

इबोलाको रोकथाम

डा मुयम्बेले बीबीसीलाई बताए अनुसार ती एन्टीबडी सुइमार्फत दिएको एक घन्टामै बिरामीहरू आराम महसुस गर्न थाल्छन्।

तर उनले एन्टीबडी दिनु भनेको उपचार मात्र भएको प्रष्ट पार्दै त्यो रोकथाम नभएको बताए- जुन दुई हप्तापछि रगतबाट बाहिरिन्छ।

"त्यसैले हामीले बिरामीको शरीरबाट निस्कने तरल पदार्थसँगको सम्पर्कप्रति भने चनाखो हुनुपर्छ। यो भाइरस विरुद्ध उपचार हो तर त्यसको खोप होइन। यो लगाएर बिरामीहरू जीवनभरका लागि सुरक्षित हुन सक्दैनन्।"

यो परीक्षणको अन्तिम परिणाम सेप्टेम्बर अथवा अक्टोबर महिनामा आउने अपेक्षा राखिएको छ।

इबोला सन् १७७६ मा पत्ता लगाउने समूहका एक सदस्य रहेका डा मुएम्बेले नयाँ अनुसन्धानले रोग फैलिनबाट रोक्न सहयोग पुर्‍याउन सक्छ भने।

उनले बीबीसीलाई भने, "यसको असर महत्वपूर्ण छ किनभने इबोलाको उपचार थिएन र मानिसहरू उपचार गर्न जान पनि मान्दैनथे। मानिसहरूले इबोला उपचार गर्न खोलिएका केन्द्रहरूलाई मर्नका लागि जाने ठाउँ भन्ने ठान्छन्।"

"प्रभावकारी उपचारका कारण यदि मानिसहरूले उपचार केन्द्रमा गएकाहरू घर र समुदायमा फर्केको देखे भने उनीहरूले बिरामीलाई घरभित्र लुकाउने छैनन्। बिरामीलाई अस्पतालमा पुर्‍याउने छन्। त्यसैले सङ्क्रमणको साङ्लो चुँडाउन अति महत्वपूर्ण हुनेछ। "

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, एक स्वास्थ्यकर्मी इबोला उपचारबारे बताउँदै

आशा

हालै युगान्डा-रूवान्डा सीमा नजिकै रहेको २० लाख जनसङ्ख्या रहेको गोमा शहरको उपचार केन्द्रमा पुगेका एक महिला र बच्चा उपचार पछि बाँचेर घर फर्केका थिए।

४२ वर्षीय एसपरेन्स नबिन्टु र उनका एक वर्षीय छोरा इबेन इजेर दुई हप्ता अगाडि उपचारका लागि भर्ना भएका थिए। उनका श्रीमानको इबोलाबाट मृत्यु भइसकेको छ।

अरु नौ जना बच्चाकी आमा नबिन्टुले पत्रकारहरूलाई भनिन् "म भगवानलाई धन्यवाद दिन्छु। म इबोलाबाट बिरामी थिएँ। अहिले सन्चो भयो। मेरा श्रीमानलाई ढिलो उपचारमा नपुर्‍याएकाले उनको ज्यान गयो।"

उनले भनिन् "इबोला छ, मैले मेरो मांशपेशीमा त्यो भएको महसुस गरेकी छु। त्यसले ज्यान लिन्छ तर उपचार गरे छिटै सन्चो पनि हुन्छ।"

इबोला भनेको के हो?

तस्बिर स्रोत, BSIP/Getty Images

  • इबोला एक भाइरस हो जसले सुरुमा चर्को ज्वरो उत्पन्न गराउँछ, निकै कमजोर बनाउँछ जिउ दुख्छ र घाँटि पनि दुख्छ
  • त्यसपछि झाडा वान्ता हुन्छ आन्तरिक र बाह्य रक्तश्राव हुन थाल्छ
  • घाउ भएको छाला मुख र नाक रगत वान्ता र अन्य शरीरबाट निस्कने तरल पदार्थसँग सम्पर्क भए इबोला सर्छ
  • विरामीहरू धेरै अङ्गले काम गर्न छोडेर र शरिरमा पानीको मात्रा कम भएर मर्छन्