गद्दीत्याग गर्न लागेका जापानी सम्राटका नातिको डेस्कमा चक्कु भेटियो, राख्ने व्यक्तिको खोजी

तस्बिर स्रोत, AFP/ IMPERIAL HOUSEHOLD AGENCY

तस्बिरको क्याप्शन, राजकुमार हिसाहितो

जापानका सम्राट आकिहितोका १२ वर्षीय नाति पढ्ने विद्यालयको कक्षामा दुईवटा चक्कु भेटिएपछि प्रहरीले अनुसन्धान थालेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

ती धारिला हतियार राजकुमार हिसाहितो बस्ने डेस्कको छेउमा शुक्रवार फेला परेका हुन्।

सम्राट आकिहितोले गद्दीत्याग गर्ने घोषणा गरिसकेकाले राजकुमार हिसाहितो अब जापानी राजगद्दीको उत्तराधिकारीको दोस्रो क्रममा हुनेछन्।

विद्यालय परिसरमा अवैध रूपमा छिरेका एक व्यक्तिबारे पत्ता लगाउन प्रहरीले सीसीटीभीका दृश्य हेरेर अनुसन्धान गरिरहेको छ।

प्रहरीका अनुसार हेल्मेट र नीलो लुगा लगाएर निर्माण मजदुरजस्तो देखिने एक व्यक्ति ओचानोमिजु विश्वविद्यालयको परिसरमा रहेको विद्यालय भवनमा प्रवेश गरेको सीसीटीभीमा देखिएको छ।

ती चक्कुहरू कक्षामा राखिँदा राजकुमार र उनका सहपाठीहरू विद्यालयको अर्को भागमा थिए।

राजकुमारलाई प्राय: प्रहरीहरूले सुरक्षा दिन्छन्। तर विद्यालय कक्षामा प्रहरी नजाने गरेको राजदरबारसँग सम्बन्धित विषय हेर्ने निकायले क्योदो न्यूजलाई बताएको छ।

अनुसन्धान गरिरहेको स्रोतले क्योदोलाई बताएअनुसार सबै कक्षामा डेस्कसँगै विद्यार्थीको नाम पनि टाँसिने गरेकाले राजकुमार बस्ने स्थान चिनिएको हुनुपर्छ।

उनीहरूका अनुसार ती चक्कुको धारमा गुलाबी रङ्ग लगाइएको थियो।

गद्दीत्याग र उत्तराधिकारी

तीस वर्ष राजगद्दीमा बसेका ८५ वर्षीय सम्राट आकिहितोले मङ्गलवार पदत्याग गर्दैछन्।

यही बेला यो घटना भएको छ।

स्वास्थ्यका कारण देखाउँदै सम्राटले स्वेच्छाले राजगद्दी छोड्न लागेका हुन्।

सन् १८१७ पछि पहिलो पटक जापानका सम्राटले त्यसो गर्न लागेका हुन्।

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, युवराज नारुहितो र युवराज्ञी मासुको। मे १ मा नारुहितो सम्राट बन्नेछन्

युवराज नारुहितोले बुधवार विधिवत् राजगद्दी सम्हाल्ने छन्।

नारुहितो सम्राट भएपछि फुमिहितो युवराजका रूपमा राजगद्दीको उत्तराधिकारी हुनेछन्।

त्यसपछिको क्रममा फुमिहितोका छोरा हिसाहितो हुनेछन्।

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, राजकुमार हिसाहितो बुवा राजकुमार फुमिहितो र आमा राजकुमारी किकोसँग

जापानमा सम्राटसँग राजनीतिक अधिकार हुँदैन। तर उनलाई राष्ट्रिय प्रतीक मानिन्छ।

देशमा राजपरिवारलाई सर्वसाधारणले मन पराउँछन्। राजपरिवारका सदस्यलाई प्राय: त्यस्तो कुनै सुरक्षा खतरा हुँदैन।