गाजाको चिडियाखानाबाट वन्यजन्तु किन उद्धार गरिए

तस्बिर स्रोत, AFP/Getty

पढ्ने समय: २ मिनेट

गाजा स्ट्रिपस्थित एउटा चिडियाखानामा नराम्रो अवस्थामा राखिएका दर्जनौँ वन्यजन्तुलाई जोर्डनको एउटा आरक्षमा सारिएको पशुकल्याणको क्षेत्रमा काम गर्ने एउटा समूहले बताएको छ।

फोर पजका अनुसार इजिप्टको सीमानजिकै रहेको रहाफ चिडियाखाबाट ती वन्यजन्तुको उसले उद्धार गरेको हो।

उद्धार गरिएका ४७ वन्यजन्तुमा सिंह, बाँदर, मयूर र दुम्सी पनि छन्।

इजरेल हुँदै तीन सय किलोमिटर पर रहेको जोर्डनको आरक्षमा पुर्‍याउन ती वन्यजन्तुलाई लट्ठ्याउने औषधि दिइएको थियो।

फोर पजले इजरेलको भूमिबाट तिनलाई जोर्डन लैजाने अनुमति पाएको थियो।

उद्धार गर्नुपर्ने कारण

फोर पजका पशुचिकित्सक अमिर खलिलका अनुसार गाजाको चिडियाखानमा भएका खोर ती वन्यजन्तुका लागि धेरै साना भइसकेका थिए।

सो समूहले त्यो चिडियाखानामा चराचुरुङ्गी मात्र छोडेको थियो।

उद्धार गरिएका दुईवटा सिंहलाई पछि दक्षिण अफ्रिका लगिनेछ।

यो X पोस्ट छोड्नुहोस्
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त

रहाफ चिडियाखाना सन् १९९९ मा स्थापना गरिएको थियो।

त्यहाँ केही समयअघि मानिसहरूलाई खेल्न दिन एउटी पोथी सिंहको नङ्ग्रा निकालिएपछि फोर पजले वन्यजन्तुको पीडाबारे चासो व्यक्त गरेको थियो।

पशुअधिकारवादी समूहहरूले वन्यजन्तुसँग गरिएको व्यवहारका लागि चिडियाखानाका मालिक फाथी जोमाको आलोचना गरेका छन्।

सो चिडियाखानामा केही समयअघि सिंहका चारवटा डमरु मरेपछि जोमाले वन्यजन्तुको उद्धार गर्न फोर पजलाई गुहारेका थिए।

जोमाले इजरेली नाकाबन्दी र खराब अर्थतन्त्रका कारण चिडियाखानाको अवस्था बिग्रिएको बताएका छन्।

बीबीसीसँग उनले भने, "एक हप्ता वा महिना पालेको बिरालो गुमाउँदा हामी दु:खी हुन्छौँ। तर २० वर्षदेखि सँग बसेका वन्यजन्तु अकस्मात् गुमाउँदा के होला?"

तस्बिर स्रोत, AFP/Getty

तस्बिर स्रोत, AFP/Getty

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, आफ्नो भूमिबाट उद्धार गरिएका वन्यजन्तुलाई जोर्डन लैजाने अनुमति इजरेलले दिएको थियो

चिडियाखानमाबाट ती वन्यजन्तुलाई बाहिर लैजाँदा गाजावासी पनि दु:खी भएका छन्।

अब खाली समयमा जाने ठाउँ नभएको गुनासो गर्दै साबावेई भन्छन्, "हाम्रा बालबालिकालाई मनोरञ्जन गर्न लैजाने त्यही एउटा ठाउँ मात्रै थियो।"

इजरेलले एउटा विज्ञप्तिमा यथासम्भव चाँडो ती वन्यजन्तुको स्थानान्तरण गर्न आफूले सघाएको बताएको छ।

द्वन्द्वको प्रभाव

गाजामा प्यालेस्टाइनको नियन्त्रण छ।

सन् २००७ देखि २०१४ को बीचमा त्यहाँ इस्लामिक लडाकु समूह हमासको शासन थियो।

हमासले सन् २००६ मा प्यालेस्टाइनको संसदीय निर्वाचन जितेको थियो। तर उसको प्रतिद्वन्द्वी फताह समूहसँग हिंसात्मक द्वन्द्व भएको थियो।

हमासले गाजालाई आफ्नो नियन्त्रणमा लिएपछि इजरेलले सो क्षेत्रमा नाकाबन्दी लगाइदियो। त्यहाँ मानिस आवतजावत र मालसामानको ढुवानीमा प्रतिबन्ध लाग्यो।

इजिप्टले पनि गाजाको दक्षिणी नाका बन्द गरिदिएको थियो।