इथियोपियन एअरलाइन्स: इन्डोनेशियामा भएको दुर्घटनासँग 'स्पष्ट समानता'

तस्बिर स्रोत, Reuters

एक हप्ताअघि दुर्घटनामा परेको इथियोपियन एअरलाइन्सको विमान र गत वर्ष अक्टोबरमा इन्डोनेशियामा भएको लायन एअरको विमान दुर्घटनाबीच स्पष्ट समानता देखिएको इथियोपियाका यातायातमन्त्रीले बताएका छन्।

दुवै विमान अमेरिकी कम्पनी बोइङले उत्पादन गरेको ७३७ म्याक्स मोडलका हुन्।

उक्त घटनाबारे प्रारम्भिक प्रतिवेदन ३० दिनभित्र सार्वजनिक गरिने मन्त्री दाग्मावित मोगेसले बताएका छन्।

"इथियोपियन एअरलाइन्सको फ्लाइट ३०२ र लायन एअरको फ्लाइट ६१० बीच स्पष्ट समानता पाइएको छ जसबारे थप अनुसन्धान गरिनेछ," मोगेसले भने।

दुवै विमानमा उडानको निगरानी राख्ने डेटाको विश्लेषण गर्दा तिनको उचाइमा तीव्र उतारचढाव देखिएको थियो।

तस्बिर स्रोत, AFP

तस्बिरको क्याप्शन, विमान दुर्घटनामा ज्यान गुमाउनेहरूको शवविनै आदिस अबाबमा सामूहिक अन्तिम संस्कार गरिएको छ

बोइङका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत डेनिस मुलन्बर्गले उक्त घटनाको अनुसन्धानमा आफूहरूले सहयोग गर्ने बताएका छन्।

एउटा विज्ञप्तिमा उनले विमानको उडान नियन्त्रण प्रणालीको व्यवहारबारे उठेका प्रश्नहरूको सम्बोधन गर्न सफ्टवेअर अद्यावधिक गर्ने बताएका छन्।

आइतवार केन्या र इथियोपियामा पीडितहरूको सम्झनामा कार्यक्रम आयोजना गरिएको थियो।

राष्ट्रिय झन्डामा बेरिएका रित्ता शवपेटिका राखिएको होली ट्रिनिटी गिर्जाघरमा हजारौँ मानिसहरू भेला भएका थिए।

त्यहाँ शवविनै ज्यान गुमाउनेहरूको सामूहिक अन्तिम संस्कार गरियो।

विमान दुर्घटनाबारे हामीलाई के थाहा छ?

इथियोपियन एअरलाइन्सको फ्लाइट ३०२ आदिस अबाबाको अन्तर्राष्ट्रिय विमानस्थलबाट केन्याको राजधानी नाइरोबीका लागि मार्च १० को बिहान उडेको थियो।

उडेको केही मिनेटमै विमानचालकले समस्या भएको जानकारी दिँदै विमान फर्काउन अनुमति मागेका थिए।

भिजिबिलिटीको समस्या नरहेको भनिए पनि हवाई ट्राफिकको अनुगमन गर्ने फ्लाइटरेडार२४ले भने विमान उडेपछि ठाडो हुँदाको अवस्थाको गति अस्थिर रहेको बताएको छ।

उक्त घटनाका एक प्रत्यक्षदर्शीका अनुसार विमान भुइँमा झरेलगत्तै ठूलो आगो लागेको थियो।

फ्रान्सेली हवाई सुरक्षा अनुसन्धानकर्ताहरूले उक्त विमानको डेटा रेकर्डर र ब्ल्याक बक्स अर्थात् ककपिट भ्वाइस रेकर्डरबाट सङ्कलित विवरणको अध्ययन गरेर निकालेको निष्कर्ष इथियोपियाका समकक्षीलाई दिइसकेका छन्।

इन्डोनेशियामा के भएको थियो?

गत अक्टोबर २९ मा जकार्ता विमानस्थलबाट उडेको लायन एअरलाइन्स ६१० विमान दुर्घटनामा पर्दा १८९ जनाको ज्यान गएको थियो।

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, इन्डोनेशियामा विमान दुर्घटना हुँदा १८९ जनाको मृत्यु भएको थियो

त्यसपछि भएको अनुसन्धानले विमानलाई धेरै ठाडो हुन बाट रोक्ने 'एन्टिस्टल' प्रणालीमा समस्या उत्पन्न भएको पत्ता लगाएको थियो।

फ्लाइट जेटी ६१० मा उक्त प्रणालीले बारम्बार विमानको चुच्चोलाई जमिनतिर धकेलेको थियो। त्रुटिपूर्ण सेन्सरका कारण त्यसो भएको हुन सक्छ।

चालकदलले विमानको चुच्चो माथितिर सोझ्याएर उक्त त्रुटि सच्याउन खोजेको थियो। तर उक्त प्रणालीले बारम्बार विमानलाई तलतिर धकेलेको थियो।

त्यस्तो अवस्था २० पटक भन्दा बढी आएको थियो।

बोइङले उत्पादन गरेको ७३७ म्याक्स मोडलको विमान दोस्रो पटक दुर्घटनामा परेपछि विश्वभरि उक्त विमानको उडानमा रोक लगाइएको छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, विमान दुर्घटना