आईफोन कि एन्ड्रोइड: तपाईँको फोनले तपाईँको व्यक्तित्वबारे के बताउन सक्छ

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, तपाईँको व्यक्तित्व र स्मार्टफोन बिचको सम्बन्ध पत्ता लगाउने यो पहिलो अध्ययन हो।

हामीले प्रयोग गर्ने स्मार्टफोन हाम्रो पहिचानको हिस्सा बनिसकेको छ। हामीमध्ये धेरैले प्रत्येक दिन कम्तीमा पाँच घण्टाभन्दा बढी त्यस्ता उपकरणसँग समय बिताउने गर्छौँ।

तर यी स्मार्टफोनले हामी को हौँ भन्नेबारे के भन्छन्?

युनिभर्सिटी अफ लिङ्कन र ल्याङ्कस्टर युनिभर्सिटीका शोधकर्ताको एउटा समूहले ५०० भन्दा बढी एन्ड्रोइड र आईफोन प्रयोगकर्ता र उनीहरूको स्मार्टफोन प्रतिको दृष्टिकोण नियालेका थिए।

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, तपाईँको व्यक्तित्व र स्मार्टफोन बिचको सम्बन्ध पत्ता लगाउने यो पहिलो अध्ययन हो।

र, उनीहरूले के पाए भन्दा हाम्रो रोजाइको स्मार्टफोनले हाम्रो व्यक्तित्वबारे केही महत्त्वपूर्ण जानकारी दिन्छ।

उदाहरणका लागि, आईफोन प्रयोगकर्ताको तुलनामा एन्ड्रोइड प्रयोगकर्ता धेरै इमान्दार हुन्छन्।

तर आईफोन प्रयोगकर्ताहरू एन्ड्रोइड प्रयोगकर्ताको तुलनामा युवा अनि खुला विचारका देखिएका छन्।

तस्बिर स्रोत, Getty Images

महिलाहरू आईफोन मन पराउँछन्।

अध्ययनले के पायो भने पुरुषको तुलनामा महिलाहरूले आईफोन किन्नसक्ने सम्भावना झन्डै दुई गुणा देखिएको छ। तर यस्तो किन त भन्नेबारे भने केही पनि स्थापित हुन सकेको छैन।

अर्को तर्फ, एन्ड्रोइड प्रयोगकर्ता भने अधबैँसे पुरुष हुने सम्भावना बढी रहन्छ।

तर स्मार्टफोनको रोजा र मानिसको व्यक्तित्वबीच सम्बन्ध किन हुन सक्छ?

शोधकर्ताहरू यसलाई व्यक्तिले आफ्ना रुचिका विषयमा आफ्नो छनोट प्रस्तुत गरेर आफूलाई खुला रूपमा अभिव्यक्त हुन दिने प्रक्रियासँग जोडेर हेर्न चाहन्छन्।

"स्मार्टफोन प्रयोगकर्ताहरूको फोन बढ्दो रूपमा तिनीहरू स्वयं कै सानो डिजिटल संस्करण बन्दैछ भन्ने स्पष्ट हुँदैछ,'' उक्त अध्ययनको सहलेखक हेदर श भन्छिन्। "हामीमध्ये धेरैलाई आफ्नो फोन अरूले प्रयोग गर्ने प्रयास गरेको मन पर्दैन किनकि उक्त फोनले हाम्रो बारे धेरै कुरा खोलिदिन सक्छ।"

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, तपाईँको व्यक्तित्व र स्मार्टफोन बीचको सम्बन्ध पत्ता लगाउने यो पहिलो अध्ययन हो

आईफोन प्रयोग गर्नेहरू एन्ड्रोइड प्रयोगकर्ताको तुलनामा बढी समृद्ध हुँदैनन् भन्ने कुरा अध्ययनले देखाउँछ। तर आईफोन प्रयोगकर्ताहरू भने आफूले उपयोग गर्ने स्मार्टफोनलाई बढ्दो रूपमा आर्थिक हैसियत जनाउने बस्तु 'स्टेटस अब्जेक्ट' को रूपमा हेरिने कुरा बाट चिन्तित छन्।

शोधकर्ताहरूले आफ्नो अनुसन्धानलाई एक कदम अगाडि बढाउँदै एउटा कम्प्युटर प्रोग्राम बनाए जसले कस्ता व्यक्तिले कस्तो किसिमको स्मार्टफोन प्रयोग गर्छन् भन्ने अनुमान गर्न सक्छ। उक्त प्रोग्राम उनीहरूले गरेको अनुसन्धानको निष्कर्षको आधारमा तयार पारिएको हो।

"मानिसहरूलाई केही प्रश्न गरेपछि उनीहरूको खल्तीमा कुन फोन छ भन्ने कुरा करिब ७० प्रतिशतसम्म मिल्नेगरी अनुमान गर्न सक्ने कम्प्युटर मोडल बनाउन हामी सफल भयौँ," सिनेटसँगको अन्तर्वार्तामा अनुसन्धानकर्ता डेभिड एलिसले बताए।

'डेटा' को गोपनीयताबारेको बहसले गति लिइरहँदा एलिस र उनको समूहले के निष्कर्ष निकालेको छ - कुनै पनि व्यक्तिबारे महत्त्वपूर्ण जानकारी प्राप्त गर्नु परे ती व्यक्तिले प्रयोग गर्ने स्मार्टफोनको अपरेटिङ सिस्टम जस्तो सरल चिजबाटै सम्भव छ। ।