खशोग्जी हत्या: सीआर्इएले लगायो साउदी युवराजमाथि आरोप
तस्बिर स्रोत, AFP
अमेरिकाको केन्द्रीय गुप्तचर निकाय सीआर्इएले साउदी युवराज मोहम्मद बिन सलमानले नै साउदी पत्रकार जमाल खशोग्जीको हत्या गर्न निर्देशन गरेको विश्वास गर्छ।
अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार, उक्त निकायका निकट स्रोतहरूका अनुसार उसले विस्तृत प्रमाणहरूमा आफ्नो पहुँच पुर्याएको थियो।
ठोस प्रमाण नभएको बुझिए पनि अमेरिकी अधिकारीहरूले त्यस्तो कदमका लागि युवराजको स्वीकृति चाहिने ठान्छन्।
साउदी अरेबियाले भने त्यस्तो दाबीलाई गलत भनेको छ र युवराजलाई उक्त हत्याको योजनाबारे केही थाहा नभएको दोहोर्याउँदै आएको छ।
बाचा
यसैबीच, अमेरिकी उपराष्ट्रपति माइक पेन्सले शनिबार खशोग्जीका हत्यारालाई उम्कन नदिने बाचा गरेका थिए।
पपुवा न्यू गिनीमा भएको एउटा सम्मेलनपछि बोल्दै उनले खशोग्जीको हत्याका जिम्मेवार सबैलाई जवाफदेही बनाउन अमेरिका प्रतिबद्ध रहेको बताए।
साउदी पत्रकार खशोग्जीको अक्टोबर २ तारिखका दिन इस्तानबुलस्थित साउदी महावाणिज्य दूतावासमा हत्या गरिएको थियो। उनको शव अझै फेला परेको छैन।
टर्कीले उक्त हत्याका लागि उच्च तहहरूबाट निर्देशन आएको दाबी गर्दै आएको छ।
खशोग्जीले काम गरेको पत्रिका द वासिङ्टन पोष्टले सीआर्इएको मूल्यांकन आंशिक रुपमा साउदी युवराजका भाइ खालेद बीन सलमानको फोनको कुराकानीमा आधारित रहेको जनाएको छ।
खालेद बीन सलमान अमेरिकाका लागि साउदी राजदूतसमेत हुन्।
आफ्ना दाइको निर्देशनमा खालेदले खशोग्जीलाई फोन गरी महाबाणिज्य दूतावास जान सुरक्षित रहेको भनी आश्वासन दिएको आरोप उनीमाथि लगाइएको छ।
निष्कर्ष
अहिले साउदी अरेबियामा रहेका खालेदले आफू करिब १ वर्षयता खशोग्जीसँग सम्पर्कमा नरहेको भनी ट्वीटरमा लेखेका छन्।
उनले आफूमाथिको आरोप अस्वीकृत गरेको विषयलाई साउदी सञ्चारमाध्यमहरूले प्राथमिकताका साथ प्रकाशित गरेको बीबीसीका सेबास्टियन असरले बताएका छन्।
ह्वाइट हाउस र अमेरिकी विदेशमन्त्रालय दुवैले त्यस्ता खबरहरूबारे कुनै प्रतिक्रिया जनाएका छैनन् तर स्रोतहरूका अनुसार केन्द्रिय गुप्तचर निकायको निष्कर्षहरूबारे भने दुवैलाई सुचित गरिसकिएको छ।
युवराज बिन सल्मानका वरिष्ठ सहयोगीले हत्यामा संलग्न टोलीसँग गरेको फोन कलहरूको पनि जाँच गुप्तचरहरूले गरेको बुझिएको छ।
हत्यासँग युवराज जोडिने प्रत्यक्ष कुनै प्रमाण नभए पनि त्यस्तो कामका लागि उनको स्वीकृति आवश्यक पर्ने अधिकारीहरूले ठानेको भन्दै स्रोतलाई उद्धृत गरेर अमेरिकी सञ्चारमाध्यमले समाचारहरू लेखेका छन्।
खशोग्जीको हत्यामा ११ जना मानिसलाई अभियोग लगाइएको छ र ती मध्ये पाँचजनालाई मृत्युदण्डको सजाय हुनुपर्ने अभियोजनकर्ताले बताएका छन्।
वासिङ्टन पोष्ट पत्रिकामा मासिक रुपमा स्तम्भ लेख्ने पत्रकार खशोग्जी आफ्नो विवाहका लागि कागजातहरू लिन गएका बेला इस्तानबुलस्थित साउदी महाबाणिज्य दूतावासमा प्रवेश गरेयता बेपत्ता भएका थिए।
शुक्रवार उनको अन्तिम संस्कार साउदी अरेबिया र टर्कीमा गरिएको थियो।
मुख्य समाचार
अनि यो पनि
धेरै रुचाइएको
सामग्री उपलब्ध छैन