गैरमधेशी र मुस्लिम पनि छठप्रति आकर्षित हुँदै
तस्बिर स्रोत, RSS
भोजपुरी र मैथिलीभाषी मधेशी समुदायले परम्परागत रूपमा मनाउँदै आएको छठपर्व हिजोआज पहाडी, मारवाडी र मुस्लिम समुदायका मानिसहरूले पनि मनाउन थालेका छन्।
पहिला भारतको उत्तर प्रदेश र बिहारसँग जोडिएका तराईका जिल्लामा सीमित यो चारदिने पर्व केही वर्षदेखि काठमाण्डू उपत्यका र नेपालका अन्य स्थानमा पनि मनाउने गरिएको छ।
अरूले पनि छठपर्व मनाउँदा समाजमा एकता र सद्भाव कायम राख्न सहयोग पुगेको धारणा संस्कृतिविद् र समाजशास्त्रीहरूको छ।
संस्कृतिविद् उमाशङ्कर द्विवेदी भन्छन्, "जातीय तथा वर्गीय रूपमा विभाजित नभई धनी-गरिब, हिन्दू-मुस्लिम, महिला-पुरुष, पहाडी-मधेशी सबै वर्ग र समुदायले मनाउने यस पर्वले सामाजिक एकता र धार्मिक सहिष्णुतालाई समेत सहयोग पुगेको छ।"
चार दिनसम्म मनाइने छठको तेस्रो र चौथौ दिनमा यो पर्वको विशेष रौनक देखिन्छ।
तस्बिर स्रोत, RSS
तेस्रो दिन व्रत बसेका भक्तजनहरू जलाशयछेउ जम्मा भएर अस्ताउन लागेको सूर्यलाई अर्घ्य दिएर छठीमाताको पूजा गर्छन्।
चौथौ दिन बिहान उदाउँदो सूर्यको पूजा गरे व्रत समापन गरिन्छ।
विश्वास
व्रत बस्दा आफूले चाहेको कुरा छठीमाताले पूरा गरिदिने र परिवारमा सुख हुने विश्वास भक्तजनहरूमा छ।
व्रत कठोर भए पनि पूर्ण आस्थाका साथ यो वर्षदेखि छठको व्रत बस्न लागेको वीरगन्ज मुर्लीकी लक्ष्मी थापा बताउँछिन्।
काठमाण्डू घर भएकी सरस्वती थापा भने छठ मनाउनका लागि वीरगन्जको श्रीपुरस्थित माइत आएकी छन्।
आफूले विगत ३५ वर्षदेखि छठ मनाउँदै आएको उनी बताउँछिन्।
तस्बिर स्रोत, RSS
पर्सा लङ्गडीका मोमजान मियाँ केही वर्षदेखि विधिपूर्वक व्रत बस्दै आएका छन्।
गैरहिन्दू भए पनि आफ्नो भाकल पूरा भएको भन्दै आफू आजीवन छठको व्रत बस्ने र पूजा गर्ने उनी बताउँछन्।
उनी भन्छन्, "सबै मन्दिरमा भगवान् छन्, मस्जिदमा अल्लाह छन्। सब एकै त हुन् । यो हाम्रो मनको भावना हो।"
"भगवान्ले पर्व नमनाउन भन्दैनन्, भगवान् रिसाउँदैनन्। जसले जसरी काम गर्छ अनि पूजा गर्छ उसले पाउँछ...।"
सांस्कृतिक एकताको आधार बनेकाले यो पर्व अन्य समुदायले पनि आस्था र निष्ठापूर्वक मनाउने चलन बढ्नु सुखद भएको धेरैको धारणा छ।
मुख्य समाचार
अनि यो पनि
धेरै रुचाइएको
सामग्री उपलब्ध छैन