छठ पर्वको विधिवत् सुरुवात कसरी गरियो

तस्बिर स्रोत, BrijKumar Yadav

छठ पर्व आइतबारबाट विधिवत् रुपमा प्रारम्भ भएको छ।

छठको तयारी केही दिन अघिदेखि नै सुरु भए पनि व्रतालुहरूले आज स्नान गरी पवित्र खाएर व्रत प्रारम्भ गरेका छन्।

तराइमा सिमित छठ पर्व केही वर्षयता देखि काठमाडौंसहित कैयौं सहर र पहाडी जिल्लाहरूमा पनि छठ पर्व मनाउन थालिएको छ।

छठ मान्ने व्रतालुहरूले आज बिहानै नङ कटाएर नुहाइधुवाइ गरी चोखो खाएका छन्।

तयारी

छठको पहिलो दिनलाई अर्वाअर्वाइन पनि भनिन्छ।

व्रतालुहरूले दुई छाक नै खाना खाने भए पनि उनीहरूले उसिनेको चामल, मुसुरोको दाल खाँदैनन्।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १० की एकजना व्रतालु सरस्वती देवी झाले अर्वाअर्वाइनबाट व्रत प्रारम्भ गरेको बताईन्।

"बिहान नुहाइधुवाइ गर्ने, चोखो खानेकुरा अर्वामात्रै खाने। लसुनप्याज खान हुँदैन।"

छठ पर्वमा खानपानको समेत अत्यधिक ध्यान दिने गरिन्छ।

ठाउँ अनुसार खानपानमा केही फरक भएको देखिन्छ।

रौतहट जिल्लाका व्रतालुहरूले फर्सीको तरकारीलाई महत्त्व दिएको गौरकी वीणा साह बताउँछिन्।

"बिहानै उठेर घर आँगन सफा गरेर नुहाइधुवाइ गरेर फर्सीको तरकारी बनाएर खायौं।"

तराइमा मानिने पर्वमध्ये छठलाई सबै भन्दा ठूलो मानिन्छ।

तस्बिर स्रोत, BrijKumar Yadav

विधि

छठ पर्वमा उपवास बस्नेदेखि अन्य सबै तयारी महिलाहरूले नै गर्छन्।

व्रतालु महिलाहरू दिनभरी उपवास बस्ने र राती प्रसाद ग्रहण गरेपछि सप्तमीको व्रत सम्पन्न गरी मात्र भोजन ग्रहण गर्छन्।

छठ पर्व विभिन्न लोकमान्यतासित जोडिएको छ।

पण्डित गणेश झा व्रतको लागि आजबाट पवित्रताको सञ्चय सुरु भएको बताउँछन् ।

"खानपानको आधारले प्याजलसुन माछामासु यिनीहरूको परित्याग गर्ने। चोखो बस्ने, खाने। आजदेखि पूर्ण रुपले शुद्धताको पालना गर्न सुरु गरिदिनुपर्छ।"

तराइमा मात्र मानिने छठ पर्व अब देशको अधिकांश सहरहरूमा विस्तार भइसकेको छ।

हरेक वर्ष व्रतालुहरूको संख्या बढदो छ।

अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिने एकमात्र पर्व छठ हो।