नोबेल पुरस्कार: जलवायु र विकासबारे अध्ययन गर्ने दुई अर्थशास्त्रीलाई
तस्बिर स्रोत, YALE
दीर्घकालीन विकासको क्षेत्रमा अनुसन्धान गरेका दुई अमेरिकी अर्थशास्त्री विलियम नोर्ड्हाउस र पल रोमरलाई अर्थशास्त्रतर्फ सन् २०१८ को नोबेल पुरस्कार संयुक्त रूपमा प्रदान गरिएको छ।
कसरी जलवायु परिवर्तन र प्रविधिले अर्थतन्त्रलाई प्रभावित पार्छन् भन्ने विषयमा उनीहरूले अध्ययन गरेका छन्।
अर्थशास्त्रविधाको पुरस्कार घोषणा गर्दै रोयल स्वीडिश अक्याडमी अफ साइन्सेसले ती दुई अर्थशास्त्रीले कसरी दीर्घकालीन वृध्दि गर्न सकिन्छ भनेर "वर्तमान समयका अतिमहत्त्वपूर्ण प्रश्न" लाई सम्बोधन गरेको बताएका छन्।
उनीहरूले ९० लाख स्वीडिश क्रोनर अर्थात् झन्डै १० लाख अमेरिकी डलर पुरस्कारराशि बाँड्नेछन्।
येल विश्वविद्यालयका प्राध्यापक नोर्ड्हाउस अर्थतन्त्र र जलवायुको अन्तर्सम्बन्ध व्याख्या गर्ने ढाँचा बनाउने पहिलो व्यक्ति भएको अक्याडमीले उल्लेख गरेको छ।
न्यू योर्क विश्वविद्यालयअन्तर्गत रहेको स्टर्न स्कूल अफ बिज्नसका प्राध्यापक रोमरले कसरी आर्थिक शक्तिले नयाँ युक्ति र नवीनता विकास गर्न संस्थाहरूको इच्छालाई प्रभावित पार्छन् भनेर व्याख्या गरेका छन्।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 1
अक्याडमीले आफ्नो विज्ञप्तिमा भनेको छ, "उनीहरूको निष्कर्षले बजार अर्थतन्त्रले कसरी प्रकृति र ज्ञानसँग अन्तर्क्रिया गर्छ भन्ने बुझाउन आर्थिक विश्लेषणको सीमालाई व्यापक रूपमा विस्तार गरिदिएको छ।"
विश्व ब्याङ्कमा प्रमुख अर्थशास्त्रीका रूपमा १५ महिना काम गरेका प्राध्यापक रोमरले यो वर्ष सो पद त्याग गर्दा विवाद उत्पन्न भएको थियो।
विश्व ब्याङ्कको "डुइङ बिज्नस" प्रतिवेदनमा राष्ट्रपति मिचेल बेचेलेटको नेतृत्वमा रहेको दक्षिण अमेरिकी राष्ट्र चिलेको स्थान निर्धारण गरिँदा राजनीतिक कारणले तथ्याङ्कहरू बङ्ग्याइएको उनले दाबी गरेका थिए।
स्पष्टवक्ताको छवि भएका प्राध्यापक रोमरको आफू कार्यरत संस्थाको प्रचलन र अर्थशास्त्रीहरूले प्रयोग गर्ने भाषाबारे सहकर्मीहरूसँग विवाद भएको भन्ने विवरण आएकै बेला उनले त्यस्तो टिप्पणी गरेका थिए।
तस्बिर स्रोत, AFP/GETTY
पुरस्कारको घोषणा भएपछि प्राध्यापक रोमरले सम्वाददाताहरूलाई भने, "धेरैलाई पर्यावरण संरक्षण गर्न धेरै खर्च लाग्छ र धेरै कठिन छ भन्ने लाग्छ र उनीहरू [यसलाई] बेवास्ता गर्न खोज्छन्।"
"[तर] पर्यावरण संरक्षण गरेर हामी पक्कै पनि उल्लेख्य सुधार गर्न सक्छौँ, र यो विकासलाई दिगो बनाउने अवसर नगुमाईकनै गर्न सकिन्छ।"
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 2
अमेरिकी वर्चस्व
अल्फ्रेड नोबेलको स्मृतिमा स्वीडनको केन्द्रीय ब्याङ्कले नोबेल अर्थशास्त्र पुरस्कारको स्थापना गरेको हो।
पहिलो चोटि सन् १९६९ यो पुरस्कार दिइयो।
अन्य विधाका पुरस्कार भने नोबेलको इच्छानुसार नै स्थापित भएका हुन् र पहिलो चोटि सन् १९०१ देखि दिन थालिएको हो।
'नज' नामक चर्चित पुस्तकका लेखक तथा अमेरिकी अर्थशास्त्री रिचर्ड थेलरलाई गत वर्ष आचरणसम्बन्धी अर्थशास्त्रमा उनले पुर्याएको योगदानका लागि नोबेल पुरस्कार दिइएको थियो।
सन् २०१६ मा ब्रिटेनमा जन्मेका अमेरिकी अर्थशास्त्री ओलिभर हार्ट र फिन बेङ्ट होल्स्ट्रोमले 'कन्ट्र्याक्ट थीअरी' का लागि सो पुरस्कार पाएका थिए। मानिसहरूले अन्योलको स्थितिमा मानिसहरूले कसरी कानुनी सहमति गर्छन् भनेर उनीहरूले अध्ययन गरेका थिए।
तस्बिर स्रोत, ALFREDNOBEL.ORG
सन् १९६९ मा वितरण गर्न थालिएदेखि नै यो पुरस्कारमा अमेरिकी अर्थशास्त्रीहरूको वर्चस्व रहँदै आएको छ।
अर्थशास्त्रविधामा नोबेल पुरस्कार पाउने एउटी मात्र महिला छिन्। एलिनोर ओस्ट्रोम सन् २००९ मा सो पुरस्कारबाट सम्मानित भएकी थिइन्।
अरू विधाका विजेता
गत हप्ता तीन चार विधातर्फ नोबेल पुरस्कार विजेताको नाम घोषणा भएको थियो।
लेजर फिजिक्सको क्षेत्रमा गरिएका आविष्कारका लागि एक महिलासहित तीन वैज्ञानिकलाई भौतिक शास्त्रतर्फ सन् २०१८ को नोबेल पुरस्कार दिइएको छ।
क्यानडाकी डोना स्ट्रिक्ल्यान्ड ५५ वर्षमा भौतिक शास्त्रतर्फ नोबेल पुरस्कार पाउने प्रथम महिला वैज्ञानिक भएकी छन्। सो विधामा नोबेल पुरस्कार पाउने उनी तेस्री महिला हुन्।
शरीरको रोगप्रतिरोधी क्षमताको प्रयोग गरेर क्यान्सरको उपचारविधि पत्ता लगाएका दुई वैज्ञानिकले संयुक्त रूपमा सन् २०१८ को चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार पाएका छन्।
अमेरिकाका प्राध्यापक जेम्स पी एलिसन र जापानका प्राध्यापक तासुकु होन्जोको अनुसन्धानले छालाको डरलाग्दो क्यान्सरको उपचारमा सम्भावनाको नयाँ बाटो खोलिदिएको थियो।
त्यसैगरी एन्जाइमबारे गरिएका अनुसन्धानका लागि एक महिलासहित तीन वैज्ञानिकलाई रसायनशास्त्रतर्फ सन् २०१८ को नोबेल पुरस्कार प्रदान गरिएको छ।
अमेरिकी वैज्ञानिकहरू फ्रान्सेस आर्नोल्ड, जोर्ज पी स्मिथ र ब्रिटेनका वैज्ञानिक ग्रेगरी विन्टरले संयुक्त रूपमा सो पुरस्कार पाएका हुन्। उनीहरूले 'डिरेक्टिड इभ्युलुशन' नाम दिइएको प्रविधि प्रयोग गरेर नयाँ प्रोटिनहरू बनाएका थिए। त्यसरी बनाइएका प्रोटिन नयाँ औषधिदेखि इन्धनसम्म बनाउन र विभिन्न क्षेत्रमा प्रयोग गरिन्छ।
तर एउटा यौनदुर्व्यवहारको घटनाका कारण स्वीडिश अक्याडमीले यस वर्ष साहित्यविधाको नोबेल पुरस्कार विजेताको नाम घोषणा गर्नेछैन।
अर्को वर्ष सन् २०१८ र २०१९ का विजेताको घोषणा एकैचोटि गरिने बताइएको छ।
मुख्य समाचार
अनि यो पनि
धेरै रुचाइएको
सामग्री उपलब्ध छैन