भारत: प्रसिद्ध इसाई संस्थाकी एक कर्मचारीमाथि बच्चा बेचेको आरोप
तस्बिर स्रोत, Reuters
भारतको पूर्वी राज्य झारखण्डको प्रहरीले मदर टेरेसाले स्थापना गरेको परोपकारी संस्था मिसनरिज अफ च्यारिटिमा कार्यरत एक महिलालाई एकजना १४ दिनको शिशु बेचेको आरोपमा पक्राउ गरेको छ।
उक्त परोपकारी संस्थामा कार्यरत अन्य दुईजना महिला कर्मचारीलाई पनि हिरासतमा लिएर सोधपुछ गरिँदैछ।
राज्यको बालकल्याण समितिले गरेको उजुरीका आधारमा प्रहरीले त्यस्तो कदम चालेको हो।
यी पछिल्ला आरोपहरूबारे मिसनरिज अफ च्यारिटिले कुनै टिप्पणी गरिसकेको छैन।
झारखण्डको राजधानी राँचीमा अवस्थित उक्त संस्थाको कार्यालयबाट प्रहरीले एक लाख चालीस हजार भारतीय रुपैँया पनि बरामद गरेको छ।
अधिकारीहरूका अनुसार ती महिलाले धर्मपुत्र वा धर्मपुत्री पाल्न बच्चाहरू दिएर पैसा लिएको स्वीकार गरेकी छन्।
बालकल्याण समितिकी अध्यक्ष रूपाकुमारीले बीबीसीसँग कुरा गर्दै भनिन्, "उत्तर प्रदेश राज्यको एक दम्पतीलाई उक्त नवजात शिशु एक लाख बीस हजार भारुमा बिक्री गरिएको भन्ने विषयमा हामी अनुसन्धान गरिरहेका छौँ।"
खर्च
उनका अनुसार सो दम्पतीले उक्त रकम अस्पताल खर्चका लागि भएको बताइएको उल्लेख गरेका छन्।
तस्बिर स्रोत, Getty Images
मार्च १९ को दिन उक्त परोपकारी संस्थामा आएकी महिलाले जन्म दिएकी बालकलाई मे १४ मा उक्त दम्पतीलाई बेचिएको बालकल्याण समितिकी रूपाकुमारीले बताइन्।
रूपाकुमारीले ती गर्भवती महिलालाई अस्पताल लग्ने बेलामा सो संस्थाले आफूहरूलाई जानकारी गराउनु पर्ने थियो भनेकी छन्।
उक्त समितिले राँचीस्थित मिसनरिज अफ च्यारिटीको कल्याणकारी केन्द्रमा रहेका अन्य १३ जना गर्भवती महिलाहरुलाई अन्य स्थानमा सारेको छ।
मिसनरिज अफ च्यारिटिले भारतभरि नै विभिन्न कल्याणकारी केन्द्र र अनाथालयहरू सञ्चालन गर्ने गर्दछ।
भारत सरकारले राष्ट्रिय प्रकृयामा परिवर्तन गरेपछि सो संस्थाले तीन वर्षअघि नै धर्मपुत्र-धर्मपुत्री स्वीकार्ने व्यवस्था गर्न बन्द गरिदिएको थियो।
मुख्य समाचार
अनि यो पनि
धेरै रुचाइएको
सामग्री उपलब्ध छैन