थाईल्यान्ड: गुफाबाट बालकहरू कसरी बाहिर आउलान्?

थाईल्यान्डमा एउटा बाढीग्रस्त गुफामा ११ दिनदेखि अलपत्र परेका १२ जना बालक र तिनका प्रशिक्षकलाई बाहिर ल्याउन उद्धारकर्ताहरूले विभिन्न प्रयास गर्दैछन्।

खोजीदलले सोमवार जीवितै फेला पार्दा उनीहरूले सो अँध्यारो गुफामा विनाखाना नौ दिन बिताइसकेका थिए।

तर उनीहरूलाई त्यहाँबाट सकुशल बाहिर ल्याउन अझै हप्तौँ अथवा महिनौँ लाग्नसक्ने अनुमान गरिएको छ।

उनीहरू कसरी बाहिर आउलान्?

ती स्कूले विद्यार्थीहरूलाई स्कुबा डाइभिङको उपकरण प्रयोग गरी पौडी खेल्न सिकाउन सकिन्छ।

गुफाहरूबाट गरिने उद्धारसम्बन्धी एक अमेरिकी स‌ंस्था 'यूएस केभ रेस्क्यु कमिशन'का संयोजक अन्मर मिर्जाका अनुसार डाइभिङ गराएर छिट्टै बाहिर ल्याउन सकिने भएपनि त्यो उपाय एकदमै जोखिमपूर्ण छ।

संसारकै केही उत्कृष्ट गोताखोरलाई उनीहरूनजिक पुग्न कैयौँ दिन लाग्यो।

भिडिओ क्याप्शन सुरु हुँदैछ, गुफामा बालकहरू 'स्वस्थ'

गुफामा अलपत्र परेका अधिकांश बालकहरूलाई पौडी खेल्न नआउने बताइएको छ।

तिनलाई तीव्र वेगमा बग्ने पानी, साँघुरा सुरुङ र राम्ररी नदेखिने स्थिति खेप्न गाह्रो हुने अनुमान गरिएको छ।

उद्धारकर्मीहरूले पूरै अनुहार छोप्ने मास्क उपलब्ध गराएका छन् र बाटोमा डाइभ लाइन, अक्सिजन ट्याङ्क एवम् बत्ती जडान गरिदिएका छन्।

तर पनि जोखिम धेरै हुने विज्ञहरू बताउँछन्।

अर्को विकल्प भनेको पानीको सतह घटुन्जेलसम्म कुर्नु हो। पानी घटेपछि उनीहरू हिँडेरै बाहिर निस्किन सक्छन्।

तस्बिर स्रोत, AFP

तस्बिरको क्याप्शन, गोता लगाउन सिक्दा पूरै अनुसार छोप्ने डाइभिङ मास्कको प्रयोग उपयोगी हुन्छ

तर भरखरै वर्षा सुरु भएकाले पानी घट्न महिनौँ पर्खनुपर्ने हुन्छ।

उद्धारकर्मीहरूले गुफामा ड्रिल गरेर उनीहरूको हवाईउद्धार गर्न सकिन्छ कि भनेर पनि विचार गर्दैछन्।

तर त्यसो गर्न त्यति सहज भने छैन।

गुफाभित्र कस्ता जोखिम छन्?

ती बालकहरू र तिनका २५ वर्षीय प्रशिक्षक गुफाभित्र एउटा सानो माटोको ढिस्को जस्तो ठाउँमा खाँदिएर बसेका छन्।

ओसिलो वातावरण भएकाले उनीहरूले न्यानो र सुख्खा रहनुपर्ने हुन्छ। नत्र तापक्रम घट्दा हुने हाइपोथर्मियाले पिरोल्न सक्छ।

ढुङ्गा खस्ने जोखिम पनि छ। तर उद्धारकर्मी पनि पानीको बढ्दो सतहका कारण चिन्तामा परेका छन्।

पानीको भेलले गुफाभित्र जाने बाटो छेकिदिन सक्छ र सो स्थानमा हावाको बहाव पनि प्रभावित हुनसक्छ।

त्यसो हुँदा उनीहरूलाई सो स्थानबाट बाहिर ल्याने प्रयासमा असर पुग्नसक्छ।

तस्बिरको क्याप्शन, जुन २३ का दिन १२ जना बालक र तिनका फुटबल प्रशिक्षक सो गुफाभित्र छिरेका थिए

आफ्नो उद्धार कुरिरहँदा ती बालकहरू शान्त भएर त्यो ढिस्कोमा बस्नुपर्ने धारणा ब्रिटिश केभिङ एसोसिएशनका पूर्वप्रमुख यान्डी ईभिसको छ।

नत्र चट्टान खस्ने अथवा पानीले बगाउने हुनसक्छ।

"अँध्यारोमा घिस्रिनु सबैभन्दा ठूलो समस्या हो," उनले बीबीसीलाई बताए।

उनीहरूलाई कस्तो सहयोग गरिँदैछ?

उनीहरूलाई अत्यावश्यक खाना र औषधि मङ्गलवार उपलब्ध गराइयो। तिनमा उच्चक्यालोरी दिने जेल र सिटामोल पनि थिए।

तस्बिर स्रोत, Getty Images

तस्बिर स्रोत, EPA

थाई जलसेनाका क्याप्टेन आनन्द सुरवानका अनुसार चार महिनालाई पुग्ने थप खानेकुरा पठाउने र गुफाबाट पानी निकास गर्ने प्रयाससँगै १३ जनालाई पानीमुनि पौडिने अर्थात् डाइभ गर्ने तालिम दिने तयारी गरिनेछ।

सो समूहका केही कमजोर देखिएका वा केहीलाई सामान्य चोट लागेको भए पनि अधिकांश सकुशल छन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, उद्धार चुनौतीपूर्ण

त्यहाँ एक चिकित्सक र नर्स पनि गएका छन्।

उनीहरूले नै अलपत्र परेका बालकहरू स्थानान्तरण गर्नका लागि सबल छन् कि छैनन् त्यसको निर्णय गर्नेछन्।

यसैबीच गोताखोरहरूले अक्सिजनका सयौँ ट्याङ्कहरू गुफामा लगेका छन्।

त्यहाँ एउटा आधार शिविर स्थापना गर्ने तयारी हुँदैछ।

मानसिक तनाब कसरी कम गर्ने?

ईभिसका अनुसार यस्तो परिस्थितिमा सबैभन्दा डरलाग्दो कुरा भनेको अन्धकार हो।

बालकहरूसँग टर्च लाइट वा मोबाइलमा बत्ती हुन सक्छ। तर उनीहरू सयौँ घण्टा अन्धकारमा बसेका थिए, उनी भन्छन्।

त्यसैले उद्धारटोलीहरूले गुफामा बत्ती पुर्‍याएका छन् र उनीहरूसँग समय बिताउन थालेका छन्।

गोताखोरहरूले बिजुली र टेलिफोन लाइन पुर्‍याएर ती बालकहरूलाई तिनका परिवारसँग कुरा गराउने व्यवस्था पनि मिलाउँदैछन्।

तस्बिर स्रोत, EPA

सबै कुरा विचार गर्दा अहिलेसम्म उनीहरू ठिकै रहेको आकलन गरिएको छ।

"उनीहरू मानसिक रूपमा स्थिर छन् जुन धेरै राम्रो कुरा हो," उद्धार अभियानमा सहभागी बेल्जियमका गोताखोर बेन रेमेनन्ट्सले एएफपीलाई बताए।

"भाग्यवश प्रशिक्षकसँग सबैलाई सँगै राख्ने बुद्धि थियो। जसका कारण उनीहरू जोगिए।"

भिडिओ क्याप्शन सुरु हुँदैछ, यसरी खोजियो गुफामा हराएको टोलीलाई