चोरिएका प्राचीन मूर्तिहरू नेपाल 'फिर्ता ल्याइँदै'
तस्बिर स्रोत, Courtesy: Metropolitan Art Museum
नेपालबाट हराएका ११ औं र १२ औं शताब्दीका दुई मूर्तिहरू अमेरिकाबाट चैतको तेस्रो साता फिर्ता हुन लागेको पुरातत्त्व विभागले जनाएको छ।
उमामहेश्वर र बुद्धका मूर्तिहरू अमेरिकाको न्यूयोर्कस्थित मेट्रोपोलिटन कला संग्रहालयले त्यहाँस्थित नेपाली दूतावासमार्फत नेपाल पठाउन लागेको हो।
यी दुवै मूर्तिहरू नेपालबाट सन् १९८० को दशकमा नेपालबाट चोरी भएको बताइएको छ।
फिर्ता हुन लागेका मूर्तिमध्ये पाटनको टंगालहिटीमा चोरिएको उमामहेश्वर १२औँ देखि १३औँ शताब्दीमा र काठमाडौँको यट्खाबाट चोरिएको बुद्धको उभिएको पूर्णकदको मूर्ति ११औँ शताब्दीमा बनेको विभागले जनाएको छ।
दाबी
पुरातत्त्व विभागका अनुसार नेपालबाट चोरी भएका पुराना मूर्तिहरू पछिल्ला वर्षहरूमा फिर्ता हुने क्रममा बढेको छ।
तस्बिर स्रोत, Courtesy: Metropolitan Art Museum
नेपालको पुरातत्त्व विभागमार्फत् ती दुई मू्र्ति नेपालबाटै लगिएका हुन भन्ने पुष्टि भएपछि उक्त संग्रहालयले ती मू्र्ति नेपाली दूतावासमार्फत् नेपाल पठाउन लागेको हो।
"संग्रहालयले हामीलाई ती मूर्तिको आधिकारिकता सोधेर पत्र पठायो। हामीले हाम्रै हुन् भनेर दाबी गरिसकेपछि ती मूर्तिहरू नेपाली दूतावासमार्फत् नेपाल फिर्ता हुन लागेका हुन्," विभागका महानिर्देशक भेषनारायण दाहालले बीबीसीलाई भने।
नेपालबाट चोरिएका मूर्तिहरू अनेक माध्यमबाट विभिन्न देशका संग्रहालयमा पुग्ने गरेका छन्।
ती मूर्तिहरू नेपाल फर्किएपछि छाउनीस्थित राष्ट्रिय संग्रहालयमा प्रदर्शनीमा राखिने दाहालले बताए।
मुख्य समाचार
अनि यो पनि
धेरै रुचाइएको
सामग्री उपलब्ध छैन