डाइबिटिज पाँच प्रकारका, उपचारविधि पनि फरक हुने
तस्बिर स्रोत, Getty Images
हालसम्म जम्मा दुई प्रकारको मात्र हुने भनी उपचार भइरहेको डाइबिटिज रोगको विभिन्न पाँच प्रकारले वर्गीकरण गर्न सकिने स्वीडेन र फिनल्याण्डका वैज्ञानिकहरूले बताएका छन्।
गत शुक्रवार सार्वजनिक गरिएको त्यस्तो अनुसन्धान परिणामले उक्त रोगको सही निदान गर्न चिकित्सकहरूलाई सघाउ पुग्ने ठानिएको छ।
साथै डाइबिटिजका कारण उत्पन्न हुने घातक जटिलताहरूको पनि ठिक ढङ्गले अनुमान गर्न सकिने आशा व्यक्त गरिएको छ।
एउटा प्रतिष्ठित मेडिकल जर्नल 'द ल्यानसेट डाइबिटिज एण्ड एन्डोक्राइनोलोजी' मा प्रकाशित अनुसन्धान नतिजाले वयस्कहरूमा हाल निदान हुने गरेका दुई प्रकारको साटो डाइबिटिज रोगको पाँच विशिष्ट प्रकार हुन सक्ने पत्ता लागेको जनाएको छ।
विभिन्न पाँच फरक प्रकारका डाइबिटिजको पहिचान गरिएको बताउने स्वीडेन र फिनल्याण्डका वैज्ञानिकहरूले झण्डै १५ हजार मानिसहरूमा अध्ययन गरेका थिए। र तिनीहरुको रगतको नमुनाको विस्तृत विश्लेषण गरिएको थियो।
वैज्ञानिकहरूका अनुसार ती पाँच प्रकारमध्ये प्रत्येकको कारण, जटिलता र उपचार फरक फरक छ।
स्क्यान्डिनेभियाका बासिन्दाहरूमा गरिएको उक्त अनुसन्धानले डाइबिटिजबाट पीडित बिरामीहरूलाई तिनीहरुको व्यक्तिगत आवश्यकता र समस्या अनुरूपकै उपचार पद्धति विकास गर्नमा सघाउ पुग्ने अनुसन्धानकर्ताहरूले आशा गरेका छन्।
डाइबिटिजका कारण मानिसको शरीरमा रहेको रगतमा चिनीको मात्रा अनियन्त्रतित बन्न पुग्छ।
टाइप वान डाइबिटिजलाई अटोइम्युन रोग भनिन्छ भने टाइप टु डाइबिटिज मानिसको खराब जीवनशैलीसँग सम्बन्धित छ।
तस्बिर स्रोत, Getty Images
तर यो पछिल्लो अनुसन्धान गरेका वैज्ञानिकहरू भन्छन् डाइबिटिज रोगको अवस्था बारेको चित्र झन् जटिल छ।
संसारमा ११ जनामध्ये एकजना वयस्कमा डाइबिटिज रोग देखिएको छ।
लण्डनस्थित इम्पिरिअल कलेजमा वरिष्ठ चिकित्सा अनुसन्धान फेलोका रूपमा कार्यरत डा. भिक्टोरिया सलेम भन्छिन् - स्क्यान्डिनेभियाका बिरामीहरूमा गरिएको अनुसन्धानको नतिजा अन्यत्रका विरामीसँग पनि मिल्छ कि मिल्दैन भन्ने स्पष्ट भएको छैन।
"उदाहरणका लागि दक्षिण एशियालीहरूको हकमा त्यस्तो नतिजा मिल्दैन। त्यसैले अबको कदम भनेको अन्य जातीयता भएका मानिसहरूमा यस्तो प्रकारको अनुसन्धान हुनुपर्छ," उनी भन्छिन्।
अन्तर्राष्ट्रिय डाइबिटिज महासङ्घका अनुसार हाल संसारमा ४२ करोड मानिसहरू डाइबिटिजबाट पीडित रहेको र सन् २०४५ सम्ममा त्यो संख्याले ६२ करोड नाघ्ने अनुमान छ।
टाइप वान डाइबिटिज बालककालमा नै निदान हुने गर्छ जसमा मानिसको शरीरले रगतमा चिनीको मात्रा नियमित तुल्याउने हर्मोन इन्सुलिन निर्माण गर्नै सक्दैन।
टाइप टु डाइबिटिज भएका विरामीहरुको शरीरले इन्सुलिन उत्पादन त गर्छ तर पर्याप्त मात्रामा होइन। त्यसो हुँदा रगतमा ग्लुकोजको मात्रा बाँकी नै रहन्छ।
यस्तो प्रकारको डाइबिटिजको सम्बन्ध चर्को मोटोपनासँग हुन्छ र समयक्रममा त्यसबाट अन्धोपन, मृगौलामा खराबी, मुटु रोग र मस्तिष्काघात समेत हुनपुग्छ।
जटिल अवस्थामा बिरामीहरूको हातखुट्टा समेत काट्नु पर्ने हुन सक्छ।
मुख्य समाचार
अनि यो पनि
धेरै रुचाइएको
सामग्री उपलब्ध छैन