चन्दननाथ मन्दिरको सुरक्षाको माग

जुम्लाको चन्दननाथ मन्दिरको निगरानी र सुरक्षाका लागि जडान गरिएका सीसीटीभी क्यामरामा कुनै रेकर्ड नरहेको पत्ता लागेको छ।

गत वर्ष मंसिरमा उक्त पुरातात्विक र धार्मिक स्थलबाट मू्र्तिहरू चोरी भएका थिए।

त्यसपछि रु ३५०,००० को लागतमा सात वटा सीसीटीभी क्यामराहरू जडान गरिएको थियो।

तर ती क्यामरामा कुनै रेकर्ड नरहेको कुरा एक वर्षपछि पत्ता लागेको अधिकारीहरूले बताएका छन्।

प्रतिबद्धता

मन्दिरको सुरक्षामा चुनौती देखिएपछि आवश्यक सुरक्षाकर्मी र प्राविधिक व्यवस्था तत्काल गरिने जिल्ला प्रशासन कार्यालय जुम्लाले प्रतिबद्धता व्यक्त गरेको छ।

चन्दननाथ-भैरवनाथ गुठी व्यवस्थापन समितिका एकजना कर्मचारी रत्नप्रसाद आचार्यले भने, "सुरक्षामा समस्या धेरै भयो। को मान्छे आउँछ, कतिखेर आउँछ, के गर्छ? रेकर्ड नै हुँदैन।"

उनका अनुसार हाल उक्त मन्दिरको सुरक्षाका लागि जम्मा तीन जना सुरक्षाकर्मी खटिएका छन्।

अडिओ क्याप्शन सुरु हुँदैछ, स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई जग्गा दान

जिल्ला प्रशासन कार्यालयअगाडि रहेको मन्दिरबाट चोरी भएका मूर्तिहरू पछि भेटिएका थिए।

तर त्यहाँ सुरक्षा व्यवस्था राम्रो नभएको स्थानीयवासीको गुनासो छ।

परिचालन

थप सुरक्षाकर्मी खटाउनु पर्ने र तत्काल सीसीटीभी क्यामरामा रेकर्डको व्यवस्था गर्नु पर्नेमा मन्दिरका जुम्लाका प्रमुख जिल्ला अधिकारी विष्णु पौडेल पनि सहमत छन्।

उनका अनुसार दाताबाट वा आन्तरिक स्रोत परिचालन गरेर भए पनि मन्दिरको सुरक्षाका लागि आवश्यक प्राविधिक व्यवस्था मिलाइने छ।

"केही दाताहरू पनि आउनुभएको छ। उहाँहरूसित पनि कुरा भइराखेको छ," उनले भने, "यद्यपि उहाँहरूसित कुरा मिलेन भने आन्तरिक स्रोत खोजेर भएपनि हामी छिटोभन्दा छिटो रेकर्डिङ गर्ने व्यवस्था गर्न लागिराखेका छौँ।"

जिल्लामा जनशक्ति अभाव भएका हुनाले मन्दिरमा कम सुरक्षाकर्मी परिचालन भएको दावी गर्दै उनले छिटै नै दरबन्दीअनुसार सुरक्षाकर्मी खटाउने प्रयास गरिने बताए।

सदरमुकाम खलंगाबाहेक जिल्लामा अन्यत्र रहेका पुरातात्विक सम्पदाको समेत सरकारले सुरक्षा गर्नुपर्ने स्थानीयको माग छ।

अडिओ क्याप्शन सुरु हुँदैछ, बदलिँदो कर्णाली