प्रसिद्ध ज्याज संगीतकार मासकेलाको निधन
दक्षिण अफ्रिकाका प्रसिद्ध ज्याज संगीतकार तथा रंगभेद विरोधी अभियानकर्मी ह्यु मासकेलाको जोहानेस्बर्गस्थित एक अस्पतालमा निधन भएको छ। उनी ७८ वर्षका थिए।
लामो समयदेखि प्रोस्टेट क्यान्सरबाट पीडित मासकेलाको जोहानेस्बर्गमा निधन भएको उनको परिवारले एक विज्ञप्तिमार्फत् जनाएको छ।
पृथक अफ्रिकी-ज्याज धुनका लागि र 'सोएटो ब्लुज'जस्ता चर्चित गीतहरुबाट मासकेलाले विश्वव्यापी ख्याति कमाएका थिए।
सन् १९७७ मा मासकेलाले लेखेको 'सोएटो ब्लुज' बोलको गीत रंगभेद विरोधी आन्दोलनको पर्याय नै बनेको थियो ।
मासकेलालाई दक्षिण अफ्रिकाको ज्याज संगीतका पिता मानिन्छ ।
'क्षति'
एक विज्ञप्ति जारी गर्दै दक्षिण अफ्रिकी राष्ट्रपति जेकब जुमाले मासकेलाको निधनबाट देश र संगीत उद्योगका लागि अपूरणीय क्षति पुगेको उल्लेख गरेका छन्।
तस्बिर स्रोत, Getty Images
स्वतन्त्रतता प्राप्तिमा मासकेलाले गरेको योगदान कहिल्यै बिर्सिन नसकिने जुमाले उल्लेख गरेका छन्।
सन् १९६० मा २१ वर्षको हुँदा उनले दक्षिण अफ्रिका छाडेका थिए र त्यसपछिको ३० वर्ष उनले निर्वासित जीवन बिताएका थिए।
दक्षिण अफ्रिकाका रंगभेदी विरोधी नेता नेल्सन मण्डेलालाई कारागारमुक्त गरिएपछि मात्र उनी सन् १९९० मा स्वेदश फर्किएका थिए।
सन् १९८६ मा उनले गाएको 'ब्रिंग होम नेल्सन मन्डेला' गीत नेल्सन मण्डेलाको रिहाइको माग गर्दै गरिएको आन्दोलनको मुख्या हिस्सा नै भएको थियो।
सन् २०१० को जून महिनामा उनले दक्षिण अफ्रिकामा आयोजना गरेको फिफा विश्वकप फुटबलको उद्घाटन समारोहमा सांगीतिक प्रस्तुति पनि दिएका थिए।
ह्यु मासकेलाको निधनले एउटा युगको अन्त्य भएको टिप्पणी गरिएको छ र उनको निधनले धेरैलाई दुःखित बनाएको छ।
संगीत, रंगमंच तथा सामाजिक र राजनीतिक अभियानमा उनले पुर्याएको विशिष्ट योगदानका लागि उनी निकै सम्मानित छन्।
मुख्य समाचार
अनि यो पनि
धेरै रुचाइएको
सामग्री उपलब्ध छैन