दार्जिलिङ चियाको स्वाद बिर्सन सक्नुहुन्छ?
तस्बिर स्रोत, Getty Images
यदि तपाईँ चियाको पारखी हुनुहुन्छ भने तपाईँका लागि नराम्रो खबर छ। तपाईँले बिहानै चुस्की लिने दार्जिलिङ चिया अब चाँडै पाउन नै गाह्रो हुनेछ।
विश्वप्रसिद्ध उक्त चिया भारत पश्चिम बंगालमा अवस्थित दार्जिलिङ पहाडका ८७ वटा बगानमा उक्त चिया लगाइन्छ।
कतिपय बगान झण्डै डेढ सय वर्ष पुराना छन् र सबैभन्दा शुरुमा त्यहाँ एक स्कटिश सर्जनले चिया खेती शुरु गराएका थिए।
त्यहाँ उत्पादन हुने ८० लाख किलो चियामध्ये ६० प्रतिशतले 'अर्गानिक'को मान्यता पाएको छ र उक्त उत्पादन संयुक्त अधिराज्य, युरोप र जापानमा निर्यात गर्ने गरिन्छ।
आम्दानी
चियाकै कारण दार्जिलिङले करिब ८ करोड डलर बर्सेनि आम्दानी गर्दै आएको छ।
दार्जिलिङ चिया विश्वकै मंहगो चियामध्ये एक हो।
कतिपय ठाउँमा यसको प्रतिकिलो मूल्य ८५० डलरसम्म पर्ने गर्छ। दार्जिलिङ चिया भारतबाट 'पिजीआइ' भनिने ठाउँ विशेषको नाममा युरोपेली संघको मान्यता पाउने भारतको पहिलो खाद्य र कृषि उत्पादन हो।
तर जून महिनायता दार्जिलिङमा हिंसात्मक आन्दोलन भइरहेको छ र त्यहाँ नेपालीभाषीका लागि अलग्गै राज्यको माग गर्दै लामो समयदेखि हडताल चलिरहेको छ।
त्यसको परिणाम पूर्ण र आशिंक गरी झण्डै एक लाख कामदारले बगानमा काम ठप्प पारेका छन्। उत्पादन भारी मात्रामा घटेको छ।
जुनमा काम ठप्प पारिनुअघि ८० लाख किलो वार्षिक उत्पादनको एक तिहाई चियामात्रै बगानबाट टिपिएका थिए।
यदि आन्दोलन निरन्तर भयो भने चिया बगानका सञ्चालकहरुका भनाईमा करिब ४ करोड डलरको नोक्सानी हुनेछ।
दार्जिलिङ चिया संघका प्रमुख सल्लाहकार सन्दीप मूखर्जी भन्छन्,"यो हामीले भोगेको अहिलेसम्मकै सबैभन्दा ठूलो संकट हो। भविष्यका लागि गरिएका चियाका मागहरु पनि रद्द भइरहेका छन् र अहिले हामीले निर्यात गर्न पनि सकिरहेका छैनौँ, अवस्था सुधार नहुञ्जेलसम्म दार्जिलिङ चियाका पारखीहरुले अब अरु नै ब्राण्डका चिया पिउनुपर्नेछ।"
संकट
चिया बगानमा आन्दोलनका लागि शायद यो भन्दा खराब समय थिएन।
दार्जिलिङमा मार्चदेखि अक्टोबर गरी ७ महिना चिया टिप्ने गरिन्छ।
तस्बिर स्रोत, AFP
अहिलेको गतिरोध गर्मीयामको दोस्रोपटक चिया टिप्ने समयमा देखा परेको छ।
यो मौसममा टिपिएका चियाको स्वाद बेजोड हुने र कुल उत्पादनको आधा चिया यो समयमा बन्ने बताइन्छ।
दार्जिलिङमा अलग्गै राज्यको माग गर्दै सन् १९८० को दशकयता आन्दोलन भइरहेका छन्।
तर विगतमा चिया उत्पादनलाई प्रतिकूल प्रभाव पर्ने समयमा यसरी आन्दोलन गरिएका थिएनन्।
चियाका उपभोक्ताहरुले संकटको मार खेप्न थालिरहेका छन्।
भारतमा नै दार्जिलिङ चिया बजारबाट छिट्टै रित्तिन थालेको छ।
अभ्यास
आपूर्ति सहज नभए जापानका केही सुपरमार्केटमा नोभेम्बरबाट दार्जिलिङ चिया नपाइने भनिएको छ।
जर्मनीका एक आयातकर्ता भन्छन् दार्जिलिङ चिया चाँडै नै एकदमै सीमित मात्रामा उपलब्ध हुने पेयपदार्थ बन्ने जोखिम बढेको छ।
यदि आन्दोलन भोलि नै फिर्ता भयो र कामदारहरु तत्कालै चिया बगानमा फर्किए भने पनि चिया टिप्ने काम शुरु गर्न एक महिनाभन्दा बढी समय लाग्ने देखिन्छ।
तस्बिर स्रोत, AFP
दुई महिना बगानमा काम ठप्प हुँदा त्यहाँ नचाहिने झाडीहरु फैलिएका छन्।
शुरुमा कामदारहरुले त्यसलाई सफा गरेपछि मात्रै चियाको पात टिप्ने काम शुरु गर्नसक्ने छन्।
यदि राजनीतिक संकट यही महिना समाधान भयो भने पनि चिया बगानहरुमा अर्को वर्ष मात्रै चहलपहल देखिनेछ किनभने भारतमा लामो बिदा हुने वार्षिक चाडवाडको समय आउन लागेको छ।
"अबको केही समय दार्जिलिङ चिया एकदमै सीमित उपलब्ध हुने चिया बन्ने निश्चित छ" १३ वटा चिया बगानका सञ्चालन सञ्जय लोहिया भन्छन्, "तर म चियाका पारखीहरुलाई केही समय धैर्य गर्न आग्रह गर्छु। हामी एकदमै गुणस्तरीय चिया लिएर चाँडै नै आउनेछौँ।"
तर अहिलेका लागि भने चियाका पारखीहरुले आफ्नो सबैभन्दा मनपर्ने चियाको स्वाद विना नै जिउने अभ्यास भने थाल्नुपर्ने देखिन्छ।
.
मुख्य समाचार
अनि यो पनि
धेरै रुचाइएको
सामग्री उपलब्ध छैन