पोलियो खोप अभियानका लागि लडाइँ रोक्न इजरेल सहमत

गाजा पोलियो अभियान

तस्बिर स्रोत, AFP

पढ्ने समय: २ मिनेट

गाजामा पोलियोविरुद्धको खोप अभियानका लागि शृङ्खलाबद्ध “मानवीय सङ्घर्ष विराम” गर्न इजरेल सहमत भएको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले जनाएको छ।

डब्ल्यूएचओका एक वरिष्ठ अधिकारीका अनुसार आइतवार सुरु हुने उक्त अभियान अन्तर्गत गाजा स्ट्रिपमा रहेका झन्डै ६ लाख ४० हजार बालबालिकामा खोप लगाइनेछ।

खोप वितरण कार्य तीन बेग्लाबेग्लै चरणमा स्ट्रिपको मध्य, दक्षिणी र उत्तरी भागमा सञ्चालन गरिनेछ।

त्यस क्रममा प्रत्येक चरणका लागि लगातार तीन दिन बिहान ६ बजेदेखि दिउसो ३ बजेसम्म लडाइँ रोकिनेछ।

राष्ट्रसङ्घीय अधिकारीहरूले गाजामा एक दश महिने शिशु पोलियोका कारण आंशिक रूपमा पक्षाघात भएको जनाएको केही दिनमा उक्त सम्झौता भएको हो।

त्यो गाजामा २५ वर्षमा देखा परेको पोलियोको पहिलो घटना हो।

कस्तो अभियान?

गाजा

तस्बिर स्रोत, Getty Images

गाजामा झन्डै १२ लाख ६० लाखको सङ्ख्यामा 'नोभेल पोलियो भ्याक्सिन टाइप टु (nOPV2)' पुगिसकेको छ भने खोपको अतिरिक्त ४ लाख मात्रा छिट्टै पुग्दैछ।

उक्त अभियान 'प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले डब्ल्यूएचओ, युनिसेफ, यूएनआरडब्ल्यूएसँग मिलेर सञ्चालन गरिनेछ।

खोप वितरणका लागि २,००० भन्दा धेरै स्वास्थ्य तथा सामुदायिक कार्यकर्तालाई प्रशिक्षित गरिएको छ।

डब्ल्यूएचओले स्ट्रिपभर ९० प्रतिशत खोप वितरण समेट्ने लक्ष्य राखेको छ जुन गाजामा सङ्क्रमण रोक्नका लागि आवश्यक ठानिएको छ।

उक्त लक्ष्य हासिल गर्नका लागि यदि आवश्यक परेमा थप चौथो दिन मानवीय सङ्घर्ष विराम गर्ने कुरा उक्त सम्झौतामा छ।

निकै सङ्क्रामक हुने पोलियो भाइरस धेरैजसो ढल र सङ्क्रमित पानीमार्फत् फैलन्छ।

त्यसले पक्षाघात हुनेदेखि अङ्गहरू सुक्नेजस्तो समस्या हुने र धेरैजसो हकमा घातक हुने गर्छ। यो खास गरी पाँच वर्षभन्दा कम उमेरका बालबालिकालाई प्रभावित पार्ने गर्छ।

अवस्था

डब्ल्यूएचोका अनुसार पछिल्लो द्वन्द्व सुरु हुनुअघि गाजा र अधीनस्थ वेस्ट ब्याङ्कमा खोप वितरणको काम पर्याप्त मात्रामा भएको जनाएको छ।

सन् २०२२ मा पोलियो खोप वितरण ९९ प्रतिशत भएको आकलन गरिएको थियो थियो जुन पछिल्लो विवरण अनुसार गत वर्ष ८९ प्रतिशत भएको थियो।

इजरेली सेनाले गत जुलाईमा उक्त रोगविरुद्ध आफ्ना सेनालाई खोप दिइएको जनाएको थियो।

एकजना हमास अधिकारी बसिम नइमले रोयटर्स समाचार संस्थासँग भने: "हामी गाजा स्ट्रिपमा यस अभियान सुनिश्चित गर्न, ६,५०,००० भन्दा धेरै प्यालेस्टिनी बालबालिकालाई जोगाउन अन्तर्राष्ट्रिय संस्थाहरूसँग सहकार्य गर्न तयार छौँ।"

इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले तीन दिने शृङ्खलाबद्ध सङ्घर्ष बिराम "युद्ध विराम भएको" बताए।

राष्ट्रसङ्घमा यूकेका सहायक स्थायी प्रतिनिधि जेम्स करिउकीले खोप अभियानको आफूले "जोडदार" रूपमा स्वागत गरेको बताए।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।