मेक्सिकोमा इतिहास बनाउँदै राष्ट्रपतिमा निर्वाचित यी महिला को हुन्?

    • Author, भनेसा बुशस्लुटर
    • Role, बीबीसी न्यूज

ऐतिहासिक जितसँगै क्लोडीआ शेन्बाउम मेक्सिकोमा राष्ट्रपतिमा निर्वाचित हुने पहिलो महिला बनेकी छन्।

त्यहाँको निर्वाचनसम्बन्धी निकायका अनुसार प्रारम्भिक नतिजाले मेक्सिको सिटीकी ६१ वर्षीया पूर्वमेयरले करिब ६० प्रतिशत मत पाएको देखिएको छ।

त्यो भनेको उनले आफ्नी निकटतम प्रतिद्वन्द्वी सोचिट्ल ग्यालभेजले भन्दा करिब ३० प्रतिशत बढी मत पाएकी हुन्।

राष्ट्रपतिनिर्वाचित शेन्बाउमले आफ्ना मार्गदर्शक एवं बाहिरिन लागेका राष्ट्रपति एन्ड्रेस म्यानवेल लोपेस ओबराडोरलाई अक्टोबर १ तारिखमा विस्थापित गर्नेछिन्।

फरक इतिहास

ऊर्जा वैज्ञानिक समेत रहेकी शेन्बाउमले “निरन्तरता दिने” प्रतिबद्धता जनाएकी छन्।

उनले लोपेस ओबराडोरले अगाडि बढाएका विकासका कार्यक्रमलाई निरन्तरता दिँदै थप लोककल्याणकारी कार्यक्रमहरू ल्याउने बताएकी छन्।

आफ्नो विजयी भाषणमा उनले मेक्सिकोका चुनावमा यसअघिका राष्ट्रपतिहरूले भन्दा फरक इतिहास कोरेको उल्लेख गरिन्।

हर्षित समर्थकहरूलाई उनले भनिन्, “गणतन्त्र मेक्सिकोको दुई सय वर्षको इतिहासमा पहिलो पटक म महिला राष्ट्रपति हुनेछु।”

शेन्बाउमले यो उपलब्धि आफ्नो लागि मात्र नभई सबै महिलाका लागि भएको जिकिर गरिन्।

“मैले शुरूदेखि नै भन्दै आएकी छु कि सर्वोच्च पदमा म मात्र पुगेकी हुनेछैन, सबै पुगेका हुनेछन्,” उनले भनिन्।

“म तपाईँहरूको विश्वासलाई टुट्ने दिनेछैन,” शेन्बाउमले वाचा गरिन्।

महत्त्वपूर्ण परिवर्तन

पराजय स्वीकारेकी आफ्नी निकटतम प्रतिद्वन्द्वी ग्यालभेजलाई उनले धन्यवाद पनि दिइन्।

राष्ट्रपतिका लागि चुवानी मैदानमा ओर्लिनुअघि शेन्बाउम मेक्सिको सिटीकी मेयर थिइन्।

मेक्सिकोको मेयर पद त्यहाँका सबैभन्दा प्रभावशाली राजनीतिक पदमध्ये एउटा हो। सोही पदले राष्ट्रपतिका लागि बाटो खोलेको रूपमा हेरिन्छ।

नाजीको डरका कारण शेन्बाउमका यहुदी मावली हजुरबुवा बुल्गेरीआबाट मेक्सिको बसाइँसराइ गरेका थिए। उनका हजुरबुवा चाहिँ लिथुआनीआका थिए।

राजनीतिमा प्रवेश गर्नुअघि वैज्ञानिकका रूपमा शेन्बाउमले काम थालेकी थिइन्।

वैज्ञानिक आमाबुवाकी सन्तान शेन्बाउमले भौतिकशास्त्र अध्ययन गरेपछि ऊर्जा इन्जिनियरिङमा विद्यावारिधि गरिन्।

क्यालिफोर्निआस्थित एउटा प्रतिष्ठित अनुसन्धान प्रयोगशालामा उनले मेक्सिकोको ऊर्जा उपयोग प्रवृत्तिबारे कैयौँ वर्षसम्म अध्ययन गरिन् र जलवायुसम्बन्धी विषयमा विज्ञ पनि बनिन्।

सन् २०१८ मा उनी मेक्सिकोकी प्रथम मेयर बनिन् र राष्ट्रपतिका लागि चुनावी प्रतिस्पर्धामा आउनुअघि उनले सन् २०२३ सम्म मेयर पद सम्हालिन्।

ग्यालभेजलाई पछि पार्दै राष्ट्रपतिमा निर्वाचित शेन्बाउमलाई मेक्सिकोमा महिलाका निम्ति एउटा महत्त्वपूर्ण परिवर्तनको रूपमा हेरिँदै छ।

एकजना ८७ वर्षीया महिलाले शेन्बाउमलाई मुलुककै सर्वोच्च पदमा पुगेको देख्नका लागि बाँच्न पाएकोमा खुशी व्यक्त गरिन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।