तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
इजरेली लडाकु विमानहरूको छायामा तेहरानका बासिन्दाको दिनचर्या
- Author, कासरा नाजी
- Role, विशेष संवाददाता, बीबीसी पर्सिअन, लन्डन
- पढ्ने समय: ४ मिनेट
तेहरानमा रहेकी मेरी बहिनीको आवाजमा डर र तनाव स्पष्ट रूपमा झल्किन्छ, जहाँ अस्थिर इन्टरनेट कनेक्शन र अड्कीअड्की आवाज आउने भए पनि ह्वाट्स्यापले चामत्कारिक रूपमा बेलाबेला अझै काम गरिरहेको छ।
म लन्डनमा रहेको बीबीसीको पत्रकार भएको नाताले उनी मबाट स्पष्टता खोज्छिन्।
"के हुन लागेको छ? हामीले के गर्नुपर्छ?," उनी मसँग सोध्छिन्। संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले तेहरानका बासिन्दाहरूले राजधानी खाली गर्नुपर्छ भनेका छन्। "के उनी गम्भीर छन्?"
अन्योल र चिन्ता
गत बिहीवार रातिदेखि इजरेली विमानहरूले तेहरानमाथि निरन्तर बमबारी गरिरहेका छन्। ती विमानहरू राजधानीको आकाशमा निर्वाध रूपमा उडिरहेका देखिन्छन्।
ती विमानहरूले तेहरानमा 'एन्टि-एअरक्राफ्ट फायर'को सामना गर्नुपर्ने भए पनि त्यो धेरैजसो प्रभावकारी देखिएको छैन।
अग्लो भवनको माथिल्लो तलाको झ्यालबाट उनी स्पष्ट रूपमा गतिविधिहरू देख्न सक्छिन्। त्यसले उनलाई खासै शान्त चाहिँ बनाउँदैन।
सबै दिशामा कैयौँ किलोमिटरसम्म फैलिएको उनी बस्ने जिल्लाका बासिन्दाहरूलाई इजरेली सेनाले जिल्ला खाली गर्न भनेको छ। तर उनले त्यहीँ बस्ने निधो गरेकी छन्।
मेरी बहिनी बस्ने अपार्टमेन्ट ब्लकनजिक कुनै सैन्य निसाना भएको आफूले अहिलेसम्म थाहा नपाएको उनले बताइन्।
तथापि रिभोलूशनरी गार्ड्सको स्वामित्वको नजिकै रहेको व्यापारिक भवनलाई निसाना बनाइन सकिने कुरालाई लिएर उनी चिन्तित छिन्। कम्पनीले खासमा के गर्छ भन्नेबारे उनलाई थाहा थिएन।
आफ्ना छिमेकी को हुन् अथवा नजिकै सैनिक निसाना छ कि भन्नेबारे धेरै मानिसलाई थाहा छैन किनकि रिभोलूशनरी गार्ड्सका अधिकांश गतिविधि गोप्य रूपमा र गोप्य स्थानबाट सञ्चालन हुने गरेका छन्।
डरलाग्दो तरिकाले शान्त
राजधानीका धेरै हिस्सामा अहिले पनि बिजुली र पानीको आपूर्ति भइरहेको छ, तर खाद्यान्न आपूर्ति कम हुन थालेको छ।
धेरै पसलहरू बन्द भएका छन् र अरूले पनि आफ्ना ढोका बन्द गर्न थालेका छन्। कतिपय बेकरीहरू आटाको अभावमा बन्द भइरहेका छन् भने कतिपयका सञ्चालक अन्यत्र गइसकेका छन्।
मेरी बहिनीले तेहरान छोड्न अस्वीकार गरेकी छन्, जबकि हजारौँ अझ लाखौँले सहर छोडिसकेका छन्। मेरी बहिनी भागेर जाने ठाउँ पनि छैन।
सडकहरूमा जाम र पेट्रोलको अभावबीच पछिल्ला दिनहरूमा धेरै बासिन्दाहरू अन्यत्र गएका छन्।
ट्राफिक जाम हुने गरेका तेहरानका सडकहरू अहिले डरलाग्दो तरिकाले शान्त देखिन्छन्। अन्यत्र नगएका मानिसहरू आक्रमणको त्रासमा सायदै बाहिर निस्कन्छन्।
पछिल्ला विवरणहरूका अनुसार पेट्रोल पम्पहरूमा भिडभाड कम हुन थालेको छ भने राजधानीबाहिरका सडकहरूमा कम जाम देखिन थालेको छ।
देशका परमाणु केन्द्रहरू आसपास बस्ने मानिसहरूमा रेडिओविकिरण फैलिन सक्ने अतिरिक्त त्रास छ किनकि पछिल्ला दिनमा ती केन्द्रहरूलाई इजरेलले निसाना बनाएको छ।
संयुक्त राष्ट्रसङ्घको परमाणु निगरानी निकाय आईएईएले बताएअनुसार शुक्रवारका हमलामा परेका दुई इरानी परमाणु केन्द्रहरूबाहिर रेडिओविकिरणको स्तरमा परिवर्तन देखिएको छैन।
मानिसहरूले यी सबै कुराले कता लैजान्छन् र कहिलेसम्म यो चल्छ भनेर सोधिरहेका छन्।
धेरै मानिसहरू समाचारका लागि विदेशबाहिर रहेका पर्सिअन टेलिभिजन च्यानलहरूमा निर्भर छन्।
बीबीसी पर्सिअनको टेलिभिजन सेवा र त्यसको वेबसाइट प्रमुख समाचार स्रोत बनेका छन्।
अधिकांश समयमा इन्टरनेटको गति एकदम सुस्त हुँदाहुँदै इरानबाट वेबसाइटमा हुने पहुँच रातारात दुई गुनाले बढेको छ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानलाई आत्मसमर्पण गर्न भनेका छन्, तर त्यहाँका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेईले इरानले आत्मसमर्पण नगर्ने घोषणा गरेका छन्।
बुधवार टेलिभिजनमार्फत् प्रसारित उनको वक्तव्यमा भनिएको छ, "बुद्धिमान् मानिसहरू जसले इरान, इरानका जनता र इतिहास बुझेका छन्, उनीहरू यो देशसँग धम्कीको भाषा बोल्दैनन् किनकि इरानीहरू त्यस्ता मानिस होइनन्, जसले आत्मसमर्पण गर्छन्।"
अली खामेनेईले आफ्नो मुलुकमाथि सैन्य हस्तक्षेप गरेमा अमेरिकाले अपूरणीय क्षति बेहोर्ने चेतावनी समेत दिए।
मङ्गलवार ट्रूथ सोसलमा पोस्ट गर्दै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अली खामेनेई ठ्याक्कै कहाँ छन् भनी आफूहरूलाई थाहा रहेको र उनलाई सजिलै निसाना बनाउन सकिने दाबी गरेका थिए।
आफ्नो पोस्टमा ट्रम्पले इरानलाई निःसर्त आत्मसमर्पण गर्न पनि भनेका थिए।
केही मानिसहरूले इरानको सत्ताप्रति सहानुभूति राख्छन्, तर उल्लेख्य स्तरमा अस्थिरता भयो भने अस्तव्यस्तता र कानुनविहीनताको अवस्था उत्पन्न हुने कुराको धेरैमा त्रास देखिन्छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।