तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
इरान भन्छ, होर्मुज जलमार्ग 'खुला' छ, तर जहाजहरूको आवागमन कस्तो देखिन्छ?
- Author, क्याथ्रिन आर्म्सट्रङ
- पढ्ने समय: ३ मिनेट
इरानका विदेशमन्त्रीले व्यापारिक जहाजहरूका निम्ति होर्मुज जलमार्ग पुनः खुला गरिएको बताएका छन्। तर जहाजहरूले तोकिएका सुरक्षित मार्गहरू प्रयोग गर्नुपर्ने उनले उल्लेख गरेका छन्।
गत फेब्रुअरीको २८ तारिखमा संयुक्त राज्य अमेरिका र इजरेलले इरानमाथि हमला गरेयता तेहरानले स्ट्रेट अफ होर्मुजलाई प्रभावकारी ढङ्गले अवरुद्ध पारेको अवस्था छ।
अमेरिका र इरानबीच हालै भएको दुई हप्ते युद्धविरामको समयसीमा एप्रिल २२ तारिखमा सकिँदै छ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले दुई देशबीच शान्ति सम्झौता नभएसम्म इरानी बन्दरगाहहरूविरुद्ध अमेरिकी नौसैनिक नाकाबन्दी जारी रहने बताएका छन्, तर उनले त्यसलाई 'विश्वका निम्ति एउटा ठूला र गजबको दिन' भनी टिप्पणी गरे।
समुद्री क्षेत्रसँग सम्बन्धित समूहहरूले उक्त जलमार्ग भएर जान जहाजहरूका लागि सुरक्षित रहे वा नरहेको विषय हेरिरहेको बताएका छन् भने जहाजहरूको न्यून आवागमन भइरहेको 'ट्र्याकिङ'बाट देखिएको छ।
स्पष्ट पार्न माग
इजरेल र लेबननबीच १० दिने पूर्ण युद्धविराम भएको पहिलो दिन शुक्रवार इरानका विदेशमन्त्री अब्बास अरागचीले होर्मुज जलमार्ग पुनः खुला गरिएको घोषणा गरेका हुन्।
"लेबननमा भएको युद्धविरामअनुसार युद्धविरामको बाँकी समयावधिसम्म सबै व्यापारिक जहाजहरूका लागि होर्मुज जलमार्ग पूर्ण रूपमा खुला रहेको घोषणा गरिन्छ र जहाजहरूको आवागमन इस्लामिक गणतन्त्र इरानको 'पोर्ट्स एन्ड म्यारीटाइम अर्गनाइजेशन'ले समन्वयन गर्ने मार्गहरूमार्फत् हुने छ," अरागचीले सामाजिक सञ्जाल एक्समा लेखेका छन्।
त्यसपछि इरानको सरकारी टेलिभिजनले 'एक वरिष्ठ सैनिक अधिकारी'लाई उद्धृत गर्दै तोकिएका 'तोकिएका मार्ग' भएर जहाजहरू जान पाउने तर सैनिक जहाजहरूको आवागमन अझै "प्रतिबन्धित" रहेको बतायो।
इरानको आईआरजीसीले तयार पारेको एउटा नक्सा र उसले तोकेका दुई मार्गलाई इङ्गित गरिएको हुन सक्ने बुझिएको छ। इरानी सञ्चारमाध्यमहरूले गत साता त्यसबारे विवरण सार्वजनिक गरेका थिए।
केही इरानी सञ्चारमाध्यमहरूले विदेशमन्त्री अरागचीको पोस्टको आलोचना गरेका छन्।
आईआरजीसीसँग सम्बद्ध तस्निम न्यूज एजेन्सीले त्यसलाई "नराम्रो र अपूर्ण" भन्दै अमेरिकी नौसैनिक नाकाबन्दी जारी रहेसम्म पानीजहाजहरूको आवागमनलाई "अमान्य" मानिने जनाएको छ। अरू सञ्चारमाध्यमले त्यसबारे स्पष्ट पार्न इरानी अधिकारीहरूसँग माग गरेका छन्।
इस्लामाबादमा गत साता अमेरिकासँग भएको वार्तामा इरानी टोलीको नेतृत्व गरेका सभामुख मोहम्मद बागेर गलिबाफले डोनल्ड ट्रम्पले "एक घण्टामा सातवटा दाबी गरेका र ती सबै दाबी गलत भएका" एक्समा लेखेका छन्।
होर्मुज जलमार्गका सन्दर्भमा उनले " [अमेरिकी] नाकाबन्दी जारी रहँदासम्म" "जलमार्ग खुला नरहने" बताए।
ट्रम्पको दाबी अस्वीकार
दक्षिणी लेबननमा अवस्थित शिआ मुस्लिम राजनीतिक तथा सैनिक समूह हिज्बुल्लाह इरानको एउटा साझेदार हो।
हिज्बुल्लाहले गरेका आक्रमणको बदला स्वरूप भन्दै इजरेलले लेबननमाथि मार्च २ तारिखमा आक्रमण शुरू गरेको थियो।
अमेरिका र इजरेलले इरानमाथि हमला गरेको बदलामा उसले तिनीहरूविरुद्ध आक्रमण गरिरहेको थियो।
अर्कोतर्फ राष्ट्रपति ट्रम्पले युद्ध अन्त्यबारे सप्ताहान्तभरि वार्ता जारी रहने भन्दै दुवै पक्षबीच धेरै मतभिन्नता रहेको जस्तो आफूलाई नलागेको बताएका छन्।
इरानी विदेशमन्त्रीले इरानको संवर्धित युरेनिअम "जुनसुकै अवस्थामा जहाँसुकै" नपुर्याइने बताएपश्चात् ट्रम्पको भनाइ आएको हो।
त्यसअघि ट्रम्पले इरान आफ्ना संवर्धित युरेनिअम अमेरिकालाई हस्तान्तरण गर्न सहमत भएको दाबी गरेका थिए।
अमेरिकास्थित बीबीसीको साझेदार सीबीएस न्यूजसँग कुरा गर्दै ट्रम्पले संवर्धित युरेनिअम हटाउन स्थलसेना आवश्यक नपर्ने बताए। उनले त्यो दिशामा अमेरिका र इरानले "मिलेर काम गर्ने" उल्लेख गरे।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।