दशैँको मुखमा डेङ्गीको डर: अतिप्रभावित जिल्ला कुनकुन हुन्

तस्बिर स्रोत, Getty Images

जनस्वास्थ्यविद्‌हरूले लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गी रोग ‘पोस्ट-मनसुन’ अर्थात्‌ बर्खा सकिएपछिको अवधिमा थप फैलिन सक्ने भएकाले सावधानी अपनाउन सुझाव दिएका छन्।

डेङ्गीको प्रकोप नियन्त्रण तथा रोकथाममा स्थानीय सरकारको भूमिका प्रभावकारी हुन नसकेको भन्दै विज्ञहरूले असन्तुष्टि समेत व्यक्त गरेका छन्।

यो वर्ष काठमाण्डू उपत्यकाका तीनसहित ७६ जिल्लामा डेङ्गीका बिरामी रहेको इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।

यो वर्ष अहिलेसम्म हुम्ला जिल्लामा डेङ्गी फेला नपरेको अधिकारीहरूले बताएका छन्।

यो वर्षको ज्यानुअरी १ देखि अक्टोबर १० तारिखसम्म ३८,०५९ जनामा डेङ्गी पुष्टि भएको छ भने त्यसबाट २० जनाको ज्यान गएको महाशाखाको तथ्याङ्क छ।

दार्चुला, दाङ, अछाम, डोटी, सुर्खेत, बझाङ, डडेलधुरा, रसुवा, मुगु, जुम्ला, कालीकोट र हुम्लामा बाहेक अरू जिल्लामा एकदेखि हजारौँको सङ्ख्यामा डेङ्गीको बिरामी रहेको स्वास्थ्य मन्त्रालयले मङ्गलवारसम्म सङ्कलन गरेको तथ्याङ्कले देखाउँछ।

कहाँ बढी प्रभाव देखिएको छ?

प्रदेशगत हिसाबले अक्टोबर १० सम्मको तथ्याङ्कअनुसार डेङ्गी भएका ६२.८% बिरामी कोशी प्रदेशमा फेला परेका हुन्।

कोशीमा पनि सुनसरी अतिप्रभावित जिल्ला हो।

मोबाइलपेजमा सामग्रीको यो भाग देखाउन हामी असमर्थ छौँ।

गण्डकी प्रदेशमा ६,८१८ (१७.९%), बागमतीमा ४,८८३ (१७.९%), सुदूरपश्चिममा १,०८० (२.८%), लुम्बिनीमा ६५५ (१.७%), मधेशमा ५९० (१.६%) र कर्णाली प्रदेशमा १२८ (०.३%) मा डेङ्गी पुष्टि भएको महाशाखाले जनाएको छ।

सबैभन्दा धेरै प्रभावित १० जिल्लामा सुनसरी, तनहुँ, झापा, धादिङ, मोरङ, कास्की, काठमाण्डू, धनकुटा, सङ्खुवासभा र कैलाली छन्।

सुनसरीमा १६,०९६ जनामा पुष्टि भएको छ भने तनहुँमा ४,६५१ जनामा डेङ्गी पुष्टि भएको महाशाखाले जनाएको छ।

सङ्घीय राजधानी काठमाण्डूमा ८०२ जना पुष्टि भएको छ। गत वर्ष सबैभन्दा बढी प्रभावित जिल्लाहरूको सूचीमा काठमाण्डू शीर्ष स्थानमा थियो। त्यसै गरी ललितपुरमा २६० र भक्तपुरमा २६४ जनामा डेङ्गी पुष्टि भएको छ।

काठमाण्डू उपत्यकाका तीन जिल्लामा अक्टोबर १ देखि १० सम्म १८२ जनामा डेङ्गी पुष्टि भयो। गत महिना उक्त सङ्ख्या ३८९ थियो।

मोबाइलपेजमा सामग्रीको यो भाग देखाउन हामी असमर्थ छौँ।

सङ्क्रमणको प्रवृत्ति कस्तो छ?

नेपालमा सन् २००४ मा पहिलो पटक डेङ्गी पुष्टि भएको अधिकारीहरू बताउँछन्।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का अनुसार भारतबाट फर्केका एक व्यक्तिमा पहिलो पटक डेङ्गी देखिएको प्रतिवेदन नेपालले दिएको थियो।

त्यति बेला आयातित रूपमा डेङ्गी आएको भए पनि अहिले "रैथाने" रोगको रूपमा विकसित भइसकेको उनीहरू बताउँछन्।

सन् २००४ यता नेपालमा छिटपुट डेङ्गी पुष्टि हुँदै आएकोमा सन् २०१९ मा १७, ९९२ जनामा पुष्टि भयो भने २०२२ मा सबैभन्दा धेरै ५४, ७८४ बिरामी फेला परे।

सन् २०२३ मा २४,०१२ जनामा डेङ्गी पुष्टि भएको महाशाखाको तथ्याङ्क छ।

स्वास्थ्यविद्‌ के भन्छन्?

बर्खापछि अहिले डेङ्गी रोगको लहर सुरु भएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुस्थित सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन्।

वर्षा हुन रोकिएसँगै खाल्टाखुल्टीमा तथा टायर आदिमा जमेका पानीमा झन् धेरै लामखुट्टेको विकास हुने जोखिम रहन्छ।

“मेरो विचारमा कार्तिकतिर डेङ्गीको प्रकोप उच्च बिन्दुमा पुग्न सक्छ। मङ्सिरदेखि ओरालो लाग्न थाल्छ। फाट्टफुट्ट त पुससम्मै देखिन सक्छ,” बीबीसी न्यूज नेपालीसँग डा. पुनले भने।

विगतबाट पाठ नसिक्दा पनि अहिलेको अवस्था आएको उनी बताउँछन्।

मोबाइलपेजमा सामग्रीको यो भाग देखाउन हामी असमर्थ छौँ।

“समयमै लामखुट्टेको लार्भा र फुल नष्ट गर्ने काम गर्नुपर्थ्यो। तर हामीले ती कुरामा ध्यान नै दिएनौँ। यसमा स्थानीय सरकारको महत्त्वपूर्ण भूमिका हुन्छ,” पुनले असन्तुष्टि व्यक्त गरे।

इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनीको विचारमा डेङ्गी नियन्त्रणमा सरकारदेखि सर्वसाधारणको भूमिका उत्तिकै महत्त्वपूर्ण हुन्छ।

नेपालमा डेङ्गी प्रकोप नियन्त्रण तथा रोकथामका प्रयास नै पर्याप्त नभएको उनको ठम्याइ छ।

“खुला ठाउँमा टायर राख्न नहुनेदेखि घरका झ्याल, ढोकामा जाली राख्नुपर्ने लगायतका काम गर्नुपर्ने हुन्छ। आआफ्नो ठाउँबाट सबैले भूमिका निर्वाह गर्नुपर्ने हुन्छ,” बीबीसी न्यूज नेपालीसँग डा. मरासिनीले भने।

“खुला ठाउँमा टायर राख्नेहरूलाई दण्डित नै गर्नुपर्छ। त्यो काम मात्र गर्न सकियो भने धेरै हदसम्म डेङ्गीको प्रकोप रोक्न सकिन्छ,” उनले थपे।

डेङ्गीबाट बच्ने उपाय के हुन्?

  • लामखुट्टेको जीवनचक्रलाई नष्ट गर्ने
  • खुला स्थानमा पानी जम्मा नगर्ने वा हुन नदिने
  • पानी छोपेर राख्ने
  • शरीरका अधिकांश अङ्ग ढाक्ने किसिमका लुगा लगाउने
  • सकेसम्म फिक्का सेतो रङ्गका लुगा लगाउने
  • दिनमा टोक्ने लामखुट्टेबाट बच्ने
  • लामखुट्टेको टोकाइ जोगिन तिनलाई विकर्षित गर्ने मलम प्रयोग गर्ने

डेङ्गी र त्यसका लक्षणहरू

डेङ्गी सङ्क्रमित लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने भाइरसजन्य रोग हो।

सामान्यत: जोखिमपूर्ण नभए पनि कतिपय जटिल लक्षणहरू देखिए भने यसले मानिसको जीवनमा खतरा उत्पन्न गराउन सक्छ।

अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल (सीडीसी) का अनुसार एइडिज प्रजातिको लामखुट्टेबाट सर्ने यो रोगको जोखिममा विश्वको आधा जनसङ्ख्या अर्थात् चार अर्ब मानिस छन्।

प्रत्येक वर्ष ४० करोड व्यक्ति सङ्क्रमित हुने ठानिएको डेङ्गीका कारण हरेक वर्ष ४०,००० जनाले ज्यान गुमाउने गरेको बताइन्छ।

चारवटा सम्बन्धित भाइरसहरूका कारण लाग्ने डेङ्गी एउटै मानिसलाई आफ्नो जीवनकालमा एकभन्दा धेरै पटक पनि लाग्न सक्छ।

सीडीसीका अनुसार डेङ्गीको लक्षणमा ज्वरो आउने, बान्ता हुने, छालामा डाबर आउने जस्ता पर्छन्।

कडा खालको डेङ्गीमा आन्तरिक रक्तस्राव हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत आउने, दिशामा रगत देखिने जस्ता समस्या हुने विज्ञहरू बताउँछन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्रामट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।