स्टेट्र अफ मलाका : विश्वव्यापारको अर्को प्रमुख जलमार्गलाई लिएर बढेको चिन्ता
तस्बिर स्रोत, EPA
- Author, लुइस बरुचो
- Role, बीबीसी विश्व सेवा
- पढ्ने समय: ६ मिनेट
मध्यपूर्वको अत्यन्तै संवेदनशील तथा प्रमुख जलमार्ग स्ट्रेट अफ होर्मुजमा भएको लामो अवरोधपछि विश्वव्यापारको अर्को प्रमुख जलमार्गप्रति विश्वव्यापी चासो बढ्न थालेको छ।
दक्षिणपूर्वी एशियामा रहेको स्ट्रेट अफ मलाकाप्रति आकर्षण बढेको देखाउने पछिल्लो कडी संयुक्त राज्य अमेरिकाले राखेको एउटा प्रस्ताव पनि हो।
सोमवारको रक्षा सम्झौतापछि अमेरिकाले इन्डोनेशियाको आकाशमा निर्बाध रूपमा सैन्य उडानहरू गर्न अनुमति दिनुपर्ने प्रस्ताव राखेका इन्डोनेशियाली अधिकारीहरूले पुष्टि गरेका छन्।
इन्डोनेशियाको विदेश मन्त्रालयले त्यसबारे निर्णय हुन अझै बाँकी रहेको जनाएका छन्। विज्ञहरूले चाहिँ त्यस्तो कदमको भूराजनीतिक प्रभाव रहने प्रतिक्रिया व्यक्त गरिरहेका छन्।
स्ट्रेट अफ मलाका के हो र यसको महत्त्व किन छ?
विश्वव्यापी महत्त्व
समुद्री मार्गहरूमा हुने विभिन्न घटनाबारे यूकेमा रहेको संस्था इन्टर्न्याश्नल इन्स्टिट्यूट फर स्ट्रटीजिक स्टडिजका लागि एउटा अध्ययनमा संलग्न एक जना क्षेत्रीय विज्ञ अजिफा अस्ट्रिनाले मध्यपूर्व, युरोप र पूर्वी एशियाबीचको व्यापारका लागि उक्त जलमार्ग असाध्यै महत्त्वपूर्ण रहेको बताइन्।
अमेरिकाको यूनिभर्सिटी अफ इलिनोई अर्बाना च्याम्पेनमा विज्ञावारिधि गरिरहेकी उनी भन्छिन् "स्ट्रेट अफ मलाका हिन्द महासागर र प्रशान्त महासागरलाई जोड्ने सर्वाधिक छोटो र सबैभन्दा प्रभावकारी समुद्री मार्ग हो, जसले गर्दा यो जलमार्ग मध्यपूर्व, युरोप र पूर्वी एशियाबीचको व्यापारका लागि अपरिहार्य रहेको छ।"
"यो सोझै साउथ चाइना सीसँग जोडिन्छ, जहाँबाट विश्वको एकतिहाइ व्यापार हुने गर्छ।"
सिङ्गापुरनजिकै फिलिप्स च्यानलमा रहेको उक्त जलमार्गको सबैभन्दा साँघुरो बिन्दु करिब २.८ किलोमिटर फराकिलो छ।
अमेरिकाको एनर्जी इन्फर्मेशन एड्मिनिस्ट्रेशन (ईआईए) को पछिल्लो प्रतिवेदनअनुसार सन् २०२५ को पहिलो छ महिनामा स्ट्रेट अफ मलाकामार्फत् २ करोड ३२ लाख ब्यारल तेल ढुवानी भएको थियो। त्यो समुद्री मार्ग हुँदै गरिने तेल आपूर्तिको झन्डै २९ प्रतिशत हो।
उक्त अवधिमा सो जलमार्गले दैनिक ९.२ अर्ब क्युबिक फिट तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) को आपूर्ति धानेको थियो।
यूकेको यूनिभर्सिटी अफ लीड्जमा दिगो समुद्री यातायात र बन्दोबस्तीबारेका प्राध्यापक गोके बाल्सी उक्त जलमार्ग 'विद्युतीय उपकरण, उपभोग्य र औद्योगिक वस्तु, औद्योगिक औजार र कारहरू ल्याउन' प्रमुख रूपमा प्रयोग हुने बताए।
"विश्वको २५ प्रतिशत कार त्यही मार्गबाट आउँछ। अन्न र भटमासजस्ता ठूलो परिमाणका ठोस कार्गोहरू पनि त्यहीबाट आउँछन्।"
उनका अनुसार भूगोल, ऊर्जा निर्भरता, वस्तुको परिमाण र प्रकारलाई जोड्ने हो भने स्ट्रेट अफ मलाका, स्ट्रेट अफ होर्मुजभन्दा फरक छ।
"होर्मुज विश्वव्यापी व्यापारका लागि पनि महत्त्वपूर्ण छ तर यो स्ट्रेट अफ मलाका जतिको उल्लेखनीय ट्रान्सशिपमेन्ट हब भने होइन। यसको भूमिका इन्धनभन्दा बृहत् छ र यसले कैयौँ प्रकारका वस्तुहरूलाई समेट्छ।"
"मलाका विश्व अर्थतन्त्रको एउटा प्रमुख धमनी हो भन्नु उपयुक्त नै हुन्छ," अस्ट्रिना थप्छिन्।
यहाँको निरन्तरको चिन्ता समुद्री डकैती हो। सिङ्गापुरस्थित रिक्याप इन्फर्मेशन शेअरिङ सेन्टरका अनुसार सन् २०२५ मा मलाका र सिङ्गापुरमा १०८ वटा समुद्री डकैतीका घटना भएका थिए। यो सङ्ख्या सन् २००७ यताकै उच्च रहेको जनाइएको छ।
यो जलमार्गमा सुनामी र ज्वालामुखीसँग सम्बन्धित गतिविधिजस्ता प्राकृतिक जोखिमका असरहरू पनि देखा पर्ने गरेका छन्। उदाहरणका लागि, सन् २००४ को डिसेम्बरमा आएको सुनामीले यसको दक्षिणी प्रवेशद्वार नजिकैका तटीय पूर्वाधारमा व्यापक क्षति पुर्याएको थियो।
यसको महत्त्व के छ?
तस्बिर स्रोत, Reuters
विज्ञहरूले मलाकाको महत्त्व आर्थिक कारणले मात्र नभई यसको बढ्दो भूराजनीतिक संवेदनशीलताका कारण पनि रहेको उल्लेख गरेका छन्।
"चीन र अमेरिका वा भारतबीच समुद्री प्रभुत्वलाई लिएर उक्त क्षेत्रमा बढ्ने तनावले उक्त जलमार्गमार्फत् हुने आवतजावतलाई गम्भीर रूपमा अवरोध पुर्याउन सक्छ," बाल्सी थप्छन्।
अस्ट्रिनाका अनुसार इन्डोनेशियाको हवाई क्षेत्रमा अमेरिकी सैनिकलाई प्राप्त बढ्दो पहुँचको सम्भावनाले पनि दीर्घकालीन प्रभाव निम्त्याउन सक्छ।
उनले भनिन् "यसले तत्काल व्यापारमा अवरोध नपार्न सक्छ, तर संरचनागत रूपमा भने यसलाई सम्भावित रूपमा अस्थिर बनाउने कदमको रूपमा हेर्न सकिन्छ।"
उनको अनुसन्धानले स्ट्रेट अफ मलाकाको अहिलेको सुरक्षा संरचना प्रमुख शक्तिहरूबीच द्वन्द्व व्यवस्थापनका लागि नबनाइएको देखाएको छ।
"डकैती, तस्करी, समुद्री अपराधजस्ता गैरपरम्परागत जोखिमहरूको सम्बोधनका लागि यो बनाइएको छ। यो ठूला शक्तिहरूबीचको प्रतिस्पर्धा व्यवस्थापनका लागि बनाइएको छैन।"
अमेरिकाजस्तो प्रमुख शक्तिले आफ्नो उपस्थिति बढाउँदा त्यसले उक्त प्रणालीले धान्न नसक्ने सुरक्षा आयामहरू निम्त्याउने बताएकी उनले तत्कालै सो जलमार्गमा अवरोध हुने सम्भावना आफूले नदेखेको बताइन्।
तर ठूला जोखिमहरू भविष्यमा आउन सक्ने उनको आकलन पाइन्छ।
उनी भन्छिन्, "मुख्य चिन्ता दीर्घकालीन रूपमा तनाव कसरी चर्किँदै जान्छ भन्ने हो। यदि चीनले यसलाई महत्त्वपूर्ण समुद्री मार्गनजिक अमेरिकाको निगरानी वा रणनीतिक उपस्थितिको विस्तारका रूपमा बुझ्यो भने, उसले व्यापार अवरुद्ध गरेर होइन, बरु सो क्षेत्रभित्र र वरिपरि आफ्नै उपस्थिति वा प्रभाव बढाएर प्रतिक्रिया दिन सक्छ।"
त्यस्तो अवस्थामा सहकार्यमा आधारित कानुन कार्यान्वयनसँग जोडिएको सुरक्षा वातावरण अझ प्रतिस्पर्धात्मक र सैन्य अवधारणामा धकेलिने उनको तर्क छ।
प्रत्यक्ष द्वन्द्व नभए पनि त्यस्तो बदलावले ठोस असर पार्ने बताएकी उनले थपिन्, "विश्व व्यापारमा यसको अप्रत्यक्ष तर वास्तविक प्रभाव पर्ने छ। बीमाबापत तिर्नुपर्ने रकम बढ्न सक्छ भने जोखिम बढेको धारणा निर्माण हुन सक्छ र विश्व अर्थतन्त्र भारी मात्रमा निर्भर रहेको यस जलमार्ग ज्यादै अस्थिर बन्न पुग्छ।"
इन्डोनेशियाको भूमिकालाई साँघुरो दृष्टिले हेर्न नहुने तर्क गरेकी उनले इन्डोनेशिया कुनै एक पक्षतर्फ ढल्किएको रूपमा हेरिन नहुने तर्क गरिन्।
इन्डोनेशियाले अमेरिकासँग सहकार्य विस्तार गर्दा सन्तुलनको रणनीति पनि अपनाइरहेको उल्लेख गरेकी उनले त्यसका लागि उसले चीनसँग बलियो आर्थिक सम्बन्ध कायम राखेको र रुसजस्ता अन्य साझेदारहरूसँग सम्बन्ध अघि बढाएको बताइन्।
"यहाँको अहिलेको वास्तविकता गठबन्धन निर्माण होइन। ऐतिहासिक रूपमा विश्व व्यापारका लागि साझा र क्रियाशील कोरिडोरका रूपमा व्यवस्थापन हुँदै आएको क्षेत्रमा ठूला शक्तिहरूको प्रतिस्पर्धा प्रवेश गरिसकेको छ, जुन अहिलेको यथार्थ हो।"
'मलाकाको द्विविधा'
चीनको उक्त जलमार्गप्रतिको भारी निर्भरतालाई व्याख्या गर्न सन् २००३ मा चिनियाँ राष्ट्रपति हु जिन्ताओले 'मलाकाको द्विविधा' भन्ने शब्दावली प्रयोगमा ल्याएका थिए।
चीनको झन्डै तीनचौथाइ इन्धन आपूर्ति र झन्डै ६० प्रतिशत समुद्री व्यापार उक्त जलमार्ग र त्योसँग जोडिएको साउथ चाइना सीबाट हुने गरेको ईआईए र सीएसआईएस चाइना पावर प्रोजेक्टको आँकडामा उल्लेख छ।
"तर चीन मात्रै होइन। जापान र दक्षिण कोरिया पनि ऊर्जाका लागि त्यो जलमार्गमा निर्भर छन् र उनीहरूको ९० प्रतिशत तेल आयात त्यहीँबाट हुने गर्छ," बाल्सी भन्छन्।
उनले उक्त जलमार्ग विश्वको दोस्रो व्यस्त कन्टेनर बन्दरगाह रहेको सिङ्गापुरका लागि पनि ज्यादै महत्त्वपूर्ण रहेको बताए।
"सिङ्गापुर र स्ट्रेट अफ मलाकाका लागि वस्तुहरूको आपूर्ति मात्र नभई व्यावसायिक शिपिङलाई इन्धन भर्ने पूर्वाधारहरूका कारणले पनि यसको महत्त्व छ। सिङ्गापुर विश्वकै सबैभन्दा ठूलो पानीजहाजहरूमा इन्धन भर्ने हब हो।"
अस्ट्रिनाका विचारमा उक्त जलमार्गप्रतिको निर्भरता घटाउने कुरा तत्कालै चीनका लागि सम्भव देखिँदैन।
"वैकल्पिक मार्गहरू—पाइपलाइन वा अन्य कोरिडरहरूले केही सहयोग पुर्याउन सक्छन् तर त्यसले बृहत् रूपमा मालाकालाई प्रतिस्थापित गर्न सक्दैन।"
बाल्सी त्यसमा सहमति जनाउँछन्। उनले इन्डोनेशियाकै जलक्षेत्रमा पर्ने सुन्डा स्ट्रेट र लोम्बोक स्ट्रेट दुई वटा भरपर्दो विकल्प रहेको बताए।
"पपुवा न्यू गिनीनजिकै रहेको टोरेस स्ट्रेट एउटा कम गहिरो र संवेदशील जलमार्ग हो। त्यहाँ कोरल चट्टानहरू छन् त्यही भएर ठूला व्यावसायिक पानीजहाजहरू सञ्चालन गर्न सकिँदैन," उनले भने।
दक्षिण अस्ट्रेलिया घुमेर जाने विकल्प छ तर त्यसका लागि "अत्यधिक लागत र समय" लाग्ने बाल्सी बताउँछन्।
यस्ता कारणहरूले गर्दा, चीनको ध्यान कमजोरीहरू हटाउनेभन्दा पनि जोखिमको व्यवस्थापन कसरी गर्ने भन्नेमा केन्द्रित हुने एस्ट्रिना ठान्छिन्।
"द्विविधा भनेको त्यहाँ रहेको निर्भरता घटाउने भन्ने होइन। त्यो निर्भरतालाई चीनले कसरी व्यवस्थापन गर्न सक्छ भन्ने हो," उनी भन्छिन्।
"यही कारणले चीनले वैकल्पिक मार्गहरू खोज्ने मात्र नभएर साउथ चाइना सी तथा अन्य महत्त्वपूर्ण समुद्री मार्गहरूमा आफ्नो प्रभाव र उपस्थिति विस्तार गर्नमा पनि ध्यान केन्द्रित गरिरहेको देखिन्छ।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
मुख्य समाचार
अनि यो पनि
धेरै रुचाइएको
सामग्री उपलब्ध छैन