आफ्नै सुन्दरताका कारण सङ्कटमा छन् शङ्खेकीरा, जोगाउने अभियान सुरु

तस्बिर स्रोत, Bernardo Reyes-Tur

तस्बिरको क्याप्शन, पोलिमिटा शङ्खेकीरा पूर्वी क्युबास्थित जङ्गलमा पाइने रैथाने जीव हो
    • Author, भिक्टोरिया गिल
    • Role, विज्ञान संवाददाता, बीबीसी न्यूज
  • पढ्ने समय: ५ मिनेट

शोधकर्ताहरूले संसारकै सबैभन्दा सुन्दर ठानिएको शङ्खेकीरा जोगाउने र तिनीहरूको जैविक रहस्य उजागर गर्ने एउटा अभियान सुरु गरेका छन्।

पूर्वी क्युबाका जङ्गलस्थित आफ्नो मूल स्थानबाट हराउँदै गरेका लुप्तप्राय: पोलिमिटा शङ्खेकीरा (रूखमा पाइने) को खबटा जीवन्त, रङ्गीन र असाधारण स्वरूपको हुन्छ।

दुर्भाग्यवश ती खबटाहरू त्यसका सङ्ग्रहकर्ताहरूका निम्ति आकर्षक हुन्छन् र संरक्षणविद्‌हरूका अनुसार उक्त खोलको व्यापारले यी शङ्खेकीराहरूको लोप हुने जोखिम बढ्दो छ।

क्युबाका जीववैज्ञानिक र यूकेस्थित नटिङ्गम विश्वविद्यालयका विशेषज्ञहरूले पोलिमिटाका छ वटा प्रजातिलाई जोगाउने उद्देश्यले मिलेर काम थालेका छन्।

सौन्दर्यले निम्त्याएको जोखिम

तस्बिर स्रोत, Angus Davison

तस्बिरको क्याप्शन, रङ्गिन गहनाहरू बनाउन ती खबटाहरूको प्रयोग गरिन्छ

तीमध्ये सबैभन्दा खतरामा परेको प्रजाति पोलिमिटा सल्फरोसा हो जुन कागती रङ्गको हुन्छ। त्यसमा नीलो ज्वालाजस्तो स्वरूपको गोलाकार घेरा हुन्छ भने खोलमा चम्किलो सुन्तला र पहेँलो रङ्गको पट्टी हुन्छ।

पोलिमिटाका सबै प्रजातिहरू अत्यन्तै चमकदार र रङ्गीन हुन्छन् जुन क्रमविकासका हिसाबले पनि स्वयंमा एउटा रहस्य हो।

"यसमा मेरो रुचि हुनुको एउटा कारणमध्ये यिनीहरू औधी सुन्दर हुनु पनि हो," क्रमविकास अनुवंशविद् तथा खबटा विशेषज्ञसमेत रहेका नटिङ्गम विश्वविद्यालयका प्राध्यापक एङ्गस डेभिशनले भने।

"तर विडम्बना चाहिँ यो खतरामा पर्नुको कारण पनि त्यही नै हो।"

"यसको सुन्दरताले यसको खोल सङ्कलन गर्ने र बेच्ने मानिसहरूलाई आकर्षित गर्छ। तिनलाई भिन्न बनाउने र एक जना वैज्ञानिकका हिसाबले मलाई रुचिकर लाग्ने कारण पनि त्यही नै हो तर दुर्भाग्यवश त्यही कुराले यसलाई खतरामा पारिराखेको छ।"

तस्बिर स्रोत, Bernardo Reyes-Tur

अनलाइन अध्ययनका क्रममा प्राध्यापक डेभिशनसँगै हामीले यूकेमा आधारित केही त्यस्ता प्ल्याट्फर्महरू भेट्टायौँ जहाँ पोलिमिटाको खबटा बिक्रीमा राखिएको थियो। तीमध्ये एउटा वेबसाइटमा सात वटा खबटाको सङ्ग्रहको मूल्य १६० पाउन्ड राखिएको थियो।

"तीमध्ये केही वास्तवमै सङ्कटग्रस्त रहेको हामी जान्दछौँ। त्यसैले क्युबाका कसैले यी खबटाहरू सङ्कलन गरेर बेच्छ भने केही प्रजाति लुप्त हुन समय लाग्दैन।"

यसका खबटाहरू सजावटका वस्तुका रूपमा किनबेच गरिन्छन् तर हरेक खाली खबटा कुनै समय एउटा जीवित प्राणी हुने गर्थ्यो।

संरक्षणका प्रयास

तस्बिर स्रोत, Bernardo Reyes-Tur

तस्बिरको क्याप्शन, वैज्ञानिकहरूको समूहले प्रजनन तथा अनुसन्धानका निम्ति केही शङ्खेकीरा जम्मा गरेका छन्

पोलिमिटा शङ्खेकीराको संरक्षण गर्न अन्तर्राष्ट्रिय नियम त छ तर तिनलाई लागु गर्न निकै कठिन छ। दुर्लभ वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार महासन्धि (साइटिस) अनुसार अनुमतिबिना यी शङ्खेकीराका खबटाहरू क्युबाबाट बाहिर लग्नु गैरकानुनी हो। तर अन्यत्र ती खबटा बेच्न कानुनले छेक्दैन।

प्राध्यापक डेभिशनका विचारमा जलवायु परिवर्तन र वनविनाशजस्ता दबावका कारण क्युबास्थित तिनका प्राकृतिक आवासमा असर पारिराखेको छ र "तिनको खबटा सङ्कलन गरेर मानिसहरूले तिनको सङ्ख्यालाई स्थानीय स्तरमा कसरी विलुप्तितर्फ धकेल्दै छन् भन्ने हामी सजिलै कल्पना गर्न सक्छौँ।"

तस्बिर स्रोत, Angus Davison

तस्बिरको क्याप्शन, प्राध्यापक डेभिसन र उनको औँलामा पोलिमिटा शङ्खेकीरा

त्यसलाई रोक्न प्राध्यापक डेभिशन क्युबास्थित ओरिएन्ते विश्वविद्यालयका प्राध्यापक बर्नान्डो रेयस–टुअरसँग मिलेर काम गरिराखेका छन्। रेयस–टुअर संरक्षणसम्बन्धी जीववैज्ञानिक हुन्।

यो अन्तर्राष्ट्रिय परियोजनाको उद्देश्य यी शङ्खेकीराका विकासक्रमलाई राम्ररी बुझ्नु र यसको संरक्षणमा सघाउ पुग्ने गरी जानकारी उपलब्ध गराउनु हो।

प्राध्यापक रेयस–टुअरको यो प्रयासको सबैभन्दा चुनौती सायद भर पर्न नसकिने विद्युतीय आपूर्ति र उच्च तापक्रममा काम गर्नु हो जहाँ उनले नियन्त्रित प्रजननका निम्ति घरैमा पोलिमिटा शङ्खेकीरा हुर्काइरहेका छन्।

"तिनीहरूले प्रजनन गरिसकेका त छैनन् तर राम्रो गरिराखेका छन्," उनले हामीसँग भिडिओ कलमा भने।

"जतिखेर पनि बत्ती गएको गयै गर्ने भएकाले यो चुनौतीपूर्णचाहिँ छ।"

तस्बिर स्रोत, Bernardo Reyes-Tur

तस्बिरको क्याप्शन, आफ्नो घरमा हुर्किरहेका शङ्केकीरा देखाउँदै वैज्ञानिक रेयस–टुअर

चुनौती र आशा

तस्बिर स्रोत, Angus Davison

तस्बिरको क्याप्शन, पोलिमिटा सल्फरोसा लोप हुने गम्भीर खतरामा छ

उता नटिङ्गम विश्वविद्यालको सुसज्जित प्रयोगशालमा यसबारे आनुवंशिक अनुसन्धान भइराखेको छ।

प्राध्यापक डेभिशन र उनको समूह शङ्खेकिराका कोषका मसिना नमुनाहरूलाई संरक्षण गर्न 'क्रायोजेन्टिक फ्रीजर'हरूमा राख्न सक्छन्। साथै उनीहरू ती जीवका 'जिनोम'बारे अध्ययन गर्न ती सामग्रीहरूको उपयोग गर्न सक्छन् र यिनको असाधारण स्वरूप हुनुका जैविक कारणहरू पत्ता लगाउन सक्छन्।

उक्त समूहले यसका प्रजातिका प्रकारबारे निधो गर्न, एकर्कासँगका अन्तरसम्बन्ध केलाउन र कुन निश्चित आनुवांशिक अवयवले यिनलाई असाधारण र रङ्गीन स्वरूप प्रदान गर्छन् भन्ने थाहा पाउन यी जानकारीहरूलाई उपयोग गर्ने उद्देश्य राखेको छ।

खरिदबिक्रीका कारण यी रङ्गीविरङ्गी जीवहरू लोप हुनुअगावै यसका जैविक रहस्यहरू उजागर हुने आशा गरिएको छ।

"पूर्वी क्युबा यी शङ्खेकीराहरू पाइने संसारको एकमात्र स्थान हो," प्राध्यापक डेभिसनले बीबीसीसँग भने।

"वास्तविक विशेषज्ञता त्यहीँ छ, जहाँ मानिसहरू यिनलाई जान्दछन्, माया गर्छन्, बुझ्छन्, तीसँगै रहन्छन् र काम गर्छन्।"

"यसका आनुवांशिक जानकारी उपयोग गरेर यसको संरक्षणमा योगदान पुर्‍याउन सकिन्छ भन्ने हामीले आशा गरेका छौँ।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।