चन्द्रमाको फन्को मार्न उडेको नासाको यान पृथ्वीको फन्को मार्दै
तस्बिर स्रोत, Reuters
पचास वर्षभन्दा लामो समयपछि चन्द्रमाको परिक्रमा गर्न अमेरिकी अन्तरिक्ष संस्था नासाको मानवसहितको यान 'आर्टिमिस २' प्रक्षेपण गरिएको छ।
अमेरिकाको फ्लोरिडास्थित केप कनाभ्रलस्थित रहेको केनडी स्पेस सेन्टरबाट उडेको यो अन्तरिक्षयानले अहिले पृथ्वीको फन्को मारिरहेको छ।
यसमा सवार सदस्यहरूले सबै जाँच नसक्दासम्म पहिलो २४ घण्टा यसले पृथ्वीलाई फन्को लगाइरहने छ। त्यसमा सबै ठिकठाक देखिए उक्त यानलाई चन्द्रमातर्फ अगाडि बढ्न अनुमति दिइने अधिकारीहरूले बताएका छन्।
यो अन्तरिक्ष अभियानमा तीन अमेरिकी अन्तरिक्षयात्री रिड वाइज्मन, क्रिस्टिना कोच र भिक्टर ग्लोभर तथा एक क्यानडेली अन्तरिक्षयात्री जेनमी ह्यान्सन संलग्न छन्।
चालकदलका सदस्यहरू "सुरक्षित, निश्चिन्त र उच्च मनोबलका साथ" रहेको नासाका अधिकारीहरूले बताएका छन्।
नासाका अन्तरिक्षयात्री रिड वाइज्मनले "भव्य दृश्य" देखिएको बताए।
प्रक्षेपणको केही समयपछि उनले भने "हामीले गजबको चन्द्रोदय देख्यौँ।"
तस्बिर स्रोत, NASA/PA WIRE
तस्बिर स्रोत, Reuters
कुल १० दिन यो यानमा बिताउने अन्तरिक्षयात्रीहरूले चन्द्रमामा पाइला नटेक्ने तर चन्द्रमाको फन्को मार्ने योजना बनाएका छन्।
सन् १९६० र ७० को दशकमा प्रसिद्ध 'अपोलो' मिशनहरूमा मानिसले चन्द्रमामा पाइला टेकेका थिए।
'आर्टिमिस २'का चालकदलले भविष्यमा चन्द्रमामा अवतरणको निम्ति 'ओरिअन' अन्तरिक्षयानको सञ्चालन र त्यसलाई व्यवस्थित गर्ने अभ्यास गर्ने छन्।
अन्तरिक्षमा यसको सबैभन्दा गहिराइको बिन्दुमा यो चन्द्रमाको बाहिरी भागभन्दा लगभग ४,६०० माइल टाढा हुने छ।
उनीहरू यसअघि मानिसहरू पुगेको भन्दा पनि टाढाको दूरीसम्म यात्रा गरेर फर्कने योजना छ।
मिशनका विशेषज्ञ क्रिस्टिना कोचले अन्तरिक्षयात्रीहरूले तीन घण्टासम्म चन्द्रमाको सतहको यसअघि भएका भन्दा विस्तृतमा अध्ययन गर्ने पहिले नै बताएकी छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
मुख्य समाचार
अनि यो पनि
धेरै रुचाइएको
सामग्री उपलब्ध छैन