कतारमाथि जितसँगै नेपाललाई अब विश्वकप छनोटका लागि आवश्यक समीकरण

विश्वकप छनोटअन्तर्गत कतारसँगको खेलमा खुसी मनाउँदै रोहित पौडेल र सन्दीप लामिछाने

तस्बिर स्रोत, CAN

तस्बिरको क्याप्शन, सोमवारको खेलमा ब्याटिङतर्फ रोहित पौडेल र बलिङतर्फ सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरे
    • Author, निरञ्जन राजवंशी
    • Role, बीबीसी न्यूज नेपाली
  • पढ्ने समय: ५ मिनेट

फेरि अर्को एउटा नाटकीय खेलमा कतारको मुखमा पुगिसकेको जित खोस्दै नेपाली क्रिकेट टोलीले टी२० विश्वकप यात्रामा महत्त्वपूर्ण पाइला अगाडि बढाएको छ।

विश्वकपको एशिया तथा पूर्वी एशिया प्रशान्त छनोट प्रतियोगिताअन्तर्गत अघिल्लो दिन मात्र यूएईविरुद्ध प्राप्त १ रनको जित जति अविश्वसनीय थियो, कतारविरुद्ध प्राप्त ५ रनको जित पनि झन्डै झन्डै उस्तै प्रकृतिको रह्यो।

यो जित यति महत्त्वपूर्ण बन्यो कि यसले नेपाललाई अर्को वर्ष हुने टी२० विश्वकपको निकै नजिक पुर्‍याएको छ।

छ अङ्क जोडिसकेको नेपाल अहिले एशिया तथा पूर्वी एशिया प्रशान्त क्षेत्रीय छनोटअन्तर्गत 'सूपर सिक्स' खेल तालिकाको दोस्रो स्थानमा छ र अब टोलीलाई विश्वकप पुग्ने सुनिश्चित गर्न अर्को एक जित आवश्यक छ।

नेपालले अब समान छ अङ्क भए पनि रनरेटका आधारमा अङ्कतालिकामा शीर्ष स्थानमा रहेको ओमान र बिनाअङ्क पाँचौँ स्थानमा रहेको सामोआसँग खेल्न बाँकी छ।

ओमानसँगको खेल बुधवारका लागि तय गरिएको छ भने सामोआसँग शुक्रवार।

नेपालले ती दुई खेलमध्ये कम्तीमा एउटा जिते मात्र पनि विश्वकप खेल्ने कुरा सुनिश्चित हुने छ।

'सूपर सिक्स'का छमध्ये तीन टोली विश्वकप पुग्ने छन्। गणितीय रूपमा विश्वकपका लागि कतार छनोट हुने सम्भावना करिब सकिइसकेको छ भने यूएई, जापान र सामोआको सम्भावना जीवित छ। नेपालसँगै ओमान सबैभन्दा बलियो दाबेदारका रूपमा देखिएको छ।

सङ्घर्षपूर्ण खेल

विश्वकप छनोटअन्तर्गत कतारसँगको खेलका क्रममा नेपाली क्रिकेट खेलाडीहरू

तस्बिर स्रोत, CAN

हारको सँघारमै पुगेर पनि दुई दिनमा दुवै खेल जितेपछि नेपाली कप्तान रोहित पौडेलले भने, "अहिले हामीमाथि ईश्वरको कृपा छ।"

निकै खुसी देखिएका कप्तान रोहितले थपे, "मलाई विश्वास लागिरहेको छैन कि के भयो। तर हाम्रो टीमले एकजुट भएर खेल्यो। म सबैलाई धन्यवाद भन्न चाहन्छु। अब भारतमा गएर (विश्वकप) खेल्नु हाम्रो सपना हो।

जितको नजिक पुगेर पनि हारको सामना गर्नुपरेको कतारका कप्तान मिर्जा मोहम्मद बेगले विशेषतः नेपाली फील्डिङको प्रशंसा गरे।

टस जितेर फील्डिङ रोजेको कतारले उत्कृष्ट बलिङ गर्दै नेपाललाई ९ विकेटको क्षतिमा १४७ रनमा रोकेको थियो। अनि त्यसलाई एक समय सहजै पार गर्ने लक्षण देखाएको कतार अन्ततः नेपाली बलिङ र फील्डिङको अगाडि घुँडा टेक्दै १४२ रनमा रोकिन पुग्यो।

नेपालको जितमा पाँच विकेट लिएका सन्दीप लामिछाने नायक बने। कप्तान रोहित पौडेलले अर्धशतकीय पारी खेले। दीपेन्द्रसिंह ऐरीले चौथो खेलमा पनि विपक्षीलाई रनआउटको सिकार बनाए। गुलशन झाले गाह्रो मानिएको क्याच लिए।

र मस्कटको अल अमेरत क्रिकेट मैदानमा उपस्थित भएर नेपाली खेलाडीहरूलाई लगातार समर्थन जनाइरहेका दर्शकले चाहे जस्तो रोमाञ्चक जितको साक्षी बन्न पाए।

धरमराएको मध्यक्रम

विश्वकप छनोटअन्तर्गत कतारविरुद्ध ब्याटिङ गर्दै रोहित पौडेल

तस्बिर स्रोत, CAN

तस्बिरको क्याप्शन, खेलमा कप्तान रोहित पौडेलले अर्धशतक बनाए

नेपाली ब्याटिङको मध्यक्रमले कतारविरुद्धको खेलमा पनि प्रभाव जमाउन सकेको देखिएन।

प्रारम्भिक जोडी कुशल भुर्तेल (६ रन) र आशिफ शेख (११ रन) सुरुवाती 'पावरप्ले'भित्रै आउट हुन पुगेका थिए।

कप्तान रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीले चौथो विकेटका लागि गरेको ६२ रनको साझेदारीले नेपाली ब्याटिङ उकासिएको थियो।

रोहितले ५८ रनको अर्शतकिय पारी खेले। यो टी२० मा उनको आठौँ अर्धशतक थियो।

तर त्यसपछि नेपालले छ रनको उपलब्धिमा चार विकेट गुमाएपछि मध्यक्रम पतनको पुरानो रोगले फेरि निरन्तरता पाएको देखियो।

पन्ध्रौँ ओभरमा दीपेन्द्र आउट भएपछि नेपालको विकेट पतनको सुरुवात भयो।

कुशल मल्ल ८ रनमा आउट भए। दीपेन्द्रले २६ रन बनाए भने सोमवार मात्र टीममा थपिएका आदिल आलमले २ रन मात्र जोड्न सके। सन्दीप जोरा पनि १ रनमा सीमित भए।

गुलशन झाले ८ बलमा दुई छक्का प्रहार गरी १६ रन बनाएर इनिङ्स उकास्न प्रयास गरेका थिए भने सोमपाल कामीले १४ रन बनाए।

बलिङमा 'टर्निङ पोइन्ट'

सन्दीप लामिछाने

तस्बिर स्रोत, CAN

कतारको प्रारम्भिक ब्याटिङ जोडी इमाल लियानागे (५६ रन) र जुबेर अली (५२ रन)ले १० ओभरमा ७९ रनको साझेदारी गरेपछि कतार आरामदायी विजयतिर अग्रसर भएको थियो।

लियानागेलाई बोल्ड गर्दै सन्दीप लामिछानेले यो जोडी तोडेका थिए। सन्दीपले प्रभाव जमाएको खेलमा आफ्नो अर्को ओभरमा मोहम्मद वसिमलाई आउट गरे।

चौधौँ ओभरको पहिलो दुई बलमा भएको दुई रनआउटले नेपाललाई खेलमा फर्किने आशा दिलायो।

नन्दन यादवको उक्त ओभरमा पहिलो बलमा दीपेन्द्रसिंह ऐरीले मिर्जा मोहम्मद बेगलाई र दोस्रो बलमा आदिल आलमले जुबेर अलीलाई रनआउटको सिकार बनाएका थिए।

जुबेर अलीले एउटा एन्ड सम्हालिरहेका थिए। तर उनको आँखाअगाडि टोलीका सात खेलाडीहरू भने एकपछि अर्को गर्दै आउट हुँदै गए।

इन्नाइसौँ ओभरमा जुबेरलाई नन्दनले आउट गरेपछि नेपालको जितको आशा बढेको थियो तर खतरा भने अन्तिम ओभरसम्मै रह्यो।

नन्दन यादव र दीपेन्द्रसिंह ऐरी

तस्बिर स्रोत, CAN

अन्तिम ओभरको रोमाञ्च

अन्तिम ओभरमा कतारलाई जितका लागि छ बलमा १० रन चाहिएको थियो।

तर लेगस्पिनर सन्दीप लामिछानेले कसिकसाउ बलिङ गर्दै दुई खेलाडीलाई आउट गर्दै ३ रन मात्र दिएपछि कतार जितविहीन भयो।

सन्दीपले पहिलो दुई बल डट फ्याले।

तेस्रो बलमा आमिर फारुखलाई स्टम्पिङ आउट गरिदिए। चौथो बलमा १ रन र पाँचौँ बलमा २ रन दिए।

त्यसपछि कतारसँग नेपाललाई जित्न नदिन अन्तिम बलमा छक्का हान्नुको विकल्प थिएन। त्यसो भयो भने खेल बराबर हुन्थ्यो।

तर आक्रमण गर्ने धुनमा अगाडि बढेका मोहम्मद जमान पनि सन्दीपको सिकार बने। वाइड हुन पुगेको उक्त बलमा विकेटकीपर आशिफ शेखले स्टम्पिङ गरिदिए।

सन्दीप लामिछानेको सफलता

मैदानमा ढोग्दै सन्दीप लामिछाने

तस्बिर स्रोत, CAN

तस्बिरको क्याप्शन, सोमवार सन्दीप लामिछानेले आफ्नो नाममा २५० अन्तर्राष्ट्रिय विकेटको रेकर्ड पूरा गरेका छन्

अन्तिम विकेटसँगै नेपाली टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले ५ विकेटको सफलता पनि चुमे। यो उनको टी २० आईमा दोस्रो ५ विकेटको सफलता हो। साथै उनले यसै छनोटमा २५० अन्तर्राष्ट्रिय विकेट पनि लिन सफल भएका छन्।

हिजोको खेलमा दुई विकेट लिएसँगै उनले यो उपलब्धि हात पारेका हुन्।

हालसम्म उनले टी२० आई र एक दिवसीय अन्तर्राष्ट्रिय दुबैमा समान १२७ विकेट लिएका छन्।

खेलको उत्कृष्ट खेलाडी बनेका सन्दीपले भने, "हामी सबैमा जितको भोक देखिएको छ। टीमलाई चाहिएको बेला, देशलाई चाहिएको बेला मैले प्रदर्शन गर्न पाएँ। त्यसको लागि म सधैँ तयार छु।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।