मलाला र कैलाशलाई नोबेल शान्ति पुरस्कार

तस्बिर स्रोत, Getty
पाकिस्तानी बाल शिक्षा अभियानकर्ता मलाला युसुफजाइ तथा भारतीय बाल अधिकार अभियानकर्ता कैलाश सत्यार्थीलाई यसवर्षको नोबेल शान्ति पुरस्कार संयुक्त रुपमा प्रदान गरिएको छ।
१७ वर्षको उमेरमा सो पुरस्कार पाउने मलाला सबैभन्दा युवा व्यक्तित्व हुन्।
सन् २००९ मा पहिलोपटक मलालाले पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा इस्लामवादी तालिबानको नियन्त्रणमा जीवन कस्तो छ भन्नेबारे बीबीसीमा अज्ञात नामबाट ब्लग लेख्न थालेपछि चर्चामा आएकी थिइन्।
टाउकोमा गोली
त्यसको तीन वर्षपछि सन् २०१२ मा बालिकाको लागि शिक्षाको अभियान चलाएको भनेर उनलाई तालिबान बन्दुकधारीले टाउकोमा गोली हानेका थिए।
टाउकोमा गोली लागेकी उनलाई पहिला पाकिस्तान र पछि ब्रिटेनमा उपचार गरिएको थियो।
त्यसपश्चात उनले आफ्नो अभियानलाई विश्वव्यापी बनाएकी छिन्, जसलाई विश्वभरका सञ्चारमाध्यमले प्राथमिकता दिएका थिए।
मलालाले शुक्रबार विद्यालयमा रसायनशास्त्रको कक्षा लिइरहेको बेला उनका शिक्षकले उनलाई सो समाचार सुनाएका थिए।
त्यसपछि पनि उनले अन्य विषयका कक्षाहरु लिएकी थिइन्।
पछि उनले उक्त पुरस्कार पाएर आफु सम्मानित भएको ठानेको बताइन्।
"एकजना भारतीय अधिकारकर्मीसंगसंगै यो पुरस्कार पाउँदा म साह्रै खुसी छु," उनले भनिन्।
उनले अहिले पनि विद्यालय जान नपाएका करोडौं बालबालिकाहरुको पढ्न पाउने अधिकारकालागि आफुले अभियान चलाइ रहने पनि बताइन्।
अभियान
६० बर्षीय सत्यार्थीले गएको झण्डै पच्चीस वर्षदेखि वाध्यात्मक बाल श्रम विरुद्ध अभियान चलाउँदै आएका छन्। उनले बाल श्रम विरुद्ध विश्वव्यापी यात्रा पनि सन्चालन गरेका थिए। नोबले कमिटिले मलाला तथा कैलाश दुबैले बालबालिकामाथि गरिएको दमन विरुद्ध संघर्ष गरेको भन्दै त्यसको प्रशंसा गरेको छ। बीबीसीसंग कुरा गर्दै कैलाशले उक्त पुरष्कार सबै भारतीयहरु र अहिले पनि दासतामा बाँच्न वाध्य सबै बाल श्रमिकहरुको सम्मान भएको बताए। उनले उक्त पुरष्कार संसारभरिका बालबालिकाप्रति आफुले समर्पण गर्ने पनि जनाए।
सत्यार्थीले महात्मा गान्धीको परम्परालाई धान्दै विभिन्न खालका शान्तिपूर्ण आन्दोलनहरुमार्फत आर्थिक लाभका लागि भइरहेको बालबालिकाहरुको शोषणविरुद्ध आवाज उठाउँदै आएको समितिले जनाएको छ।
पुरस्कार घोषणा गर्ने समितिले यी दुइ व्यक्तिलाई उनीहरुले बालबालिका र युवाहरुको दबिएको आवाजलाई उजागर गर्न संघर्ष गरे वापत नोबल शान्ति पुरस्कार प्रदान गरिएको बताएको छ।
यो वर्ष नोबल शान्ति पुरस्कारको लागि छानिएका २७८ मध्ये पोप फ्रान्सिस र कंगोकी स्त्री रोग विशेषज्ञ डेनिस मुकवेगी पनि थिए।
यद्यपि उक्त सूचीलाई गोप्य राखिएको छ।
पुरस्कार घोषणा गर्दै नर्वेजियन नोबेल समिति २०१४ का अध्यक्ष थोर्बजोन जगल्यान्डले यसपटकको पुरस्कारले दुई छिमेकी देश पाकिस्तान र भारतका मुसलमान र हिन्दुले शिक्षा र अतिवादविरुद्ध साझा संघर्ष गरेकोले महत्वपूर्ण ठानिएको बताएका छन्।




























