सन् २०२३ मा चन्द्रमा र अन्यत्र अन्तरिक्ष मिसन पठाउन लागेका देश कुन कुन हुन्?

तस्बिर स्रोत, Getty Images

सन् २०२३ मा रुस, भारत र युरोपेली अन्तरिक्ष एजेन्सीले चन्द्रमा र अन्तरिक्षको भित्री भागमा अन्वेषणका लागि यानहरू पठाउँदै छन्।

नासाको आर्टमिस एक मिसनले हालै चन्द्रमा कक्षको परिक्रमा गरेको थियो।

चन्द्रमाको सतहमा मानिसलाई पठाउने लक्ष्यसहित उक्त अन्तरिक्षयान डिजाइन गरिएको थियो।

चन्द्रमामा कसले यानहरू प्रक्षेपण गरिरहेका छन्?

भारतले सन् २०२३ को जुन महिनामा चन्द्रयान मिसन प्रक्षेपण गर्ने योजना बनेको छ।

सतहमा अन्वेषण गर्नका लागि त्यसमा लेन्डिङ मोड्युल र रोबोट सहितको रोभर हुनेछ।

सन् २००८ मा चन्द्रयान एक मार्फत भारत पहिलो पटक चन्द्रमामा पुगेको थियो।

रुसले लुना २५ मिसन जुलाई २०२३ मा चन्द्रमा प्रक्षेपण गर्न लागको छ।

उसले दक्षिण ध्रुवीय क्षेत्रका नमुनाबारे जाँच गर्न उक्त मिसन चन्द्रमामा अघि बढाउन लागेको हो।

स्पेसएक्सले जापानी अर्बपति युसाकु मायाजावा र अरू आठ जना यात्रुलाई डिअरमुन यात्रामा सन् २०२३ को अन्त्यतिर लैजाँदै छ।

यो १०० जना यात्रु बोक्ने क्षमताको स्टारसीप यानको पहिलो मिसन हो।

तस्बिर स्रोत, SpaceX

अमेरिकी अन्तरीक्ष निकाय नासाले सन् २०२४ मा अर्को चन्द्र मिसन प्रक्षेपण गर्दैछ।

आर्टमिस दुई नामक यो मिसनका क्रममा अन्तरिक्षयात्रीहरू चन्द्रमाको कक्षको परिक्रमा गर्नेछन्।

आर्टमिस तीन नामक अर्को मिसन नासाले सन् २०२५ वा २०२६ मा अघि बढाउनेछ जसका क्रममा पहिलो महिला वा पहिलो अश्वेत व्यक्ति चन्द्रमामा जानेछन्।

नासाको सन् १९७२ को एपोलो मिसनयता पहिलो पटक मानिसहरू चन्द्रमामा पाइला टेक्नेछन्।

नासाले भनेको छ- उसले स्पेस एक्स स्टारसीपको प्रयोग उक्त मिसनमा गर्नेछ।

चीनले रुससँग मिलेर सन् २०३५ सम्ममा चन्द्रमामा संयुक्त बेस निर्माण गर्ने बताएको छ। तर उक्त परियोजनाको कुन काम कहिले गरिन्छ खुलाइएको छैन।

विभिन्न देशहरू चन्द्रमामा किन जाँदैछन्?

तस्बिर स्रोत, NASA

तस्बिरको क्याप्शन, अमेरिका र अरू शक्तिहरूले अन्तरिक्षमा मानववस्ती बसाउन चाहान्छन्

अमेरिकास्थित हार्वड-स्मिथसोनियन सेन्टर फर एस्ट्रोफिजिक्सक्सका खगोलशास्त्री डाक्टर म्याकडोएल अमेरिका, रुस र चीन जस्ता अन्तरिक्ष शक्तिहरूले अन्तरिक्षयात्रीहरू चन्द्रमामा नै बस्न सकुन् भनेर बेस निर्माण गर्न चाहेको बताए।

"चन्द्रमालाई मङ्गल जस्ता ठाउँ पुग्ने पहिलो पाइला बनाउन लागिएको हो।

यो भित्री अन्तरिक्षका प्रविधिको परीक्षण गर्ने महत्त्वपूर्ण थलो बन्न सक्छ।"

युनिभर्सिटी अफ पोर्ट्समाउथकी अन्तरिक्ष परियोजना प्रमुख लुसिन्डा किङले अन्तरिक्षको भित्री क्षेत्रमा यानहरू चन्द्रमाबाट प्रक्षेपण गर्दा पृथ्वीबाट यान पठाउँदाको तुलनामा कम इन्धन खर्च हुने बताइन्।

उनले चन्द्रमामा इन्धनको स्रोत पनि फेला परेको उल्लेख गरिन्।

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, चन्द्रमाको दक्षिणी ध्रवीय क्षेत्रमा ६०० अर्ब किलोग्राम बरफ रहेको छ

डाक्टर किङ भन्छिन्, "चन्द्रमाको दक्षिणी ध्रुवमा पानी परेको जानकारीमा आएको छ। यसलाई हाइड्रोजन र अक्सिजनमा विभाजित गर्न सकिन्छ जसलाई मङ्गल ग्रह र अन्यत्र जाने यानहरूमा इन्धनका रूपमा प्रयोग गर्न सकिन्छ।"

उनले चन्द्रमामा पुग्न भइरहेको प्रतिस्पर्धा त्यहाँ रहेको पानीमाथि दाबी गर्नका लागि पनि भइरहेको उल्लेख गरिन्।

अरू कस्ता अन्तरिक्ष मिसनका योजना बुनिएका छन्?

तस्बिर स्रोत, NASA

सन् २०२३ को गर्मियाममा साइकी अन्तरिक्षयान नासाले पठाउँदैछ। सौर्य प्रणालीको सुरुवाती दिनमा निर्माण भएको सिक्स्टिन साइकी नामक एउटा क्षुद्र ग्रहको अन्वेषणका लागि उक्त यान पठाउन लागिएको हो।

युरोपका २२ वटा देशहरूको समर्थन प्राप्त युरोपियन स्पेस एजेन्सीले जुपिटर आइसी मुन एक्सप्लोररलाई एप्रिल २०२३ मा प्रक्षेपण गर्ने योजना बनाएको छ।

उक्त अन्वेषणले बृहस्पतिका चन्द्रमाहरू - गेनीमेड, कालिस्ट्रो र युरोपाको सतह मुन्तिर निर्मित बरफ भएको क्षेत्रमा जीवनको सङ्केतबारे जाँच गर्ने भनिएको छ।

तर रुसले युक्रेनमाथि गरेको हमलाको विरोधमा युरोपियन स्पेस एजेन्सीले आगामी वर्ष रुसी रकेटको मद्दतले युक्लिड अन्तरिक्ष टेलिस्कोपलाई कक्षमा पठाउने छैन।

त्यसको साटो उसले स्पेसएक्स फाल्कन नाइन रकेटको प्रयोग गर्नेछ।

उसले मङ्गल ग्रहमा रोभर पठाउने उद्देश्य राखेको एक्सोमार्समा पनि रुससँग काम गर्न छाडेको छ। उक्त मिसनको प्रक्षेपण सन् २०२८ सम्म धकेलिएको छ।

चीनले सुनटियन नामक टेलिस्कोपलाई पृथ्वीको तल्लो कक्षमा सन् २०२३ को डिसेम्बरमा पठाउने जनाएको छ। त्यसले तारा र ब्ल्याक होलको दुरीहरू मापन गर्ने भनिएको छ।

तस्बिर स्रोत, Getty Images

चीनले चन्द्रमा र मङ्गल ग्रहहरूमा अन्वेषण सुरु गरिसकेको छ र रोबोटिक रोभरहरू पठाएको छ।

उसले वैज्ञानिक अनुसन्धान केन्द्र अन्तरिक्षमा स्थापना गरेको छ, त्यसको नाम तियाङगुङ्ग हो।

"एउटा नयाँ अवधारणा हालैका वर्षमा देखा परिरहेको छ, जसले मङ्गल ग्रह वा त्यसभन्दा परसम्म मानवीय उपस्थिति विस्तार गर्न सकिने ठान्ने गरेको छ," डाक्टर म्याकडोवेल भन्छन्।

त्यही भएर चीन र भारतजस्ता देशहरू अमेरिका, रुस र युरोपसँगै अन्तरिक्षका शक्ति राष्ट्रहरू बनेका छन्।

"उनीहरूका सरकारले सोचिरहेका छन् कि यदि भविष्य त्यस्तै हो भने हामी हाम्रो देशलाई पछि राखिराख्न चाहँदैनौँ।"