जेम्स वेब टेलिस्कोप: पहिला कहिल्यै नदेखिएका ब्रह्माण्डका तस्बिर

तस्बिर स्रोत, NASA/ESA/CSA/STSCI/WEBB ERO PRODUCTION TEAM

तस्बिरको क्याप्शन, यो तरापुञ्ज पृथ्वीबाट १६१,००० प्रकाशवर्षको दूरीमा छ र यहाँ हजारौँ ताराहरूको जन्म भएको थियो

यो विश्वलाई १० अर्ब डलरले दिएको उपहार थियो। एउटा मेशिन जसले हामीलाई विश्वमा हाम्रो स्थान देखाइरहेको छ।

जेम्स वेब टेलिस्कोप ठ्याक्कै एक वर्षअघि क्रिसमसकै दिन अन्तरिक्षमा पठाइएको थियो।

त्यसको योजना बुन्न, डिजाइन र निर्माण गर्न तीन दशक लागेको थियो।

धेरैले निकै चर्चित हबल स्पेस टेलिस्कोपको उत्तराधिकारीले अपेक्षा अनुरूप काम गर्न सक्छ कि सक्दैन भनेर जिज्ञासा पनि राखेका थिए।

व्यास ६.५ मिटर भएको खगोलीय ऐना प्रयोग गरिएको यो टेलिस्कोपका कतिपय प्रणालीको परीक्षण र सञ्चालनमा केही समय लागेको थियो।

तर अन्त्यमा यसले राम्रोसँग काम गरेको छ। र, अमेरिकी, युरोपेली तथा क्यानडाली अन्तरिक्ष निकायहरूले गएको जुलाईमा पहिलो रङ्गिन तस्बिर सार्वजनिक गर्ने क्रममा प्रसन्नता व्यक्त गरेका थिए।

यहाँ तपाईँ त्यसपछि प्रकाशित भएका उक्त टेलिस्कोपबाट लिइएका केही तस्बिर देख्न सक्नुहुन्छ।

तपाईँले जान्नुपर्ने पहिलो कुरा भनेको जेम्स वेब एउटा इन्फ्रारेड टेलिस्कोप हो।

हाम्रो आँखाले फरक छुट्याउन सक्ने अवस्थाभन्दा पर आकाशमा रहेका विभिन्न आकृति उसले देख्नसक्छ।

खगोलशास्त्रीहरूले ब्रह्माण्डका विभिन्न क्षेत्र जस्तै ग्यास र धुलोका चुचुराहरू अन्वेषण गर्न यसका विभिन्न क्यामेराहरूको प्रयोग गर्छन्।

त्यो पूरा कुरालाई दृश्यमा समेट्न पृथ्वीबाट प्रकाशको गतिमा कैयौँ वर्ष यात्रा गर्नुपर्ने हुन्छ।

करिना नेब्युला

तस्बिर स्रोत, NASA/ESA/CSA/STSCI

यो दृश्यलाई कस्मिक क्लिफ पनि भन्ने गरिन्छ। यो भीमकाय, ग्यासले भरिएको तारा निर्माण गर्ने धुलाम्मे नेब्युलालाई करिना भनिन्छ।

उक्त तस्बिरमा देखिएको एउटा कुनाबाट अर्कोसम्म पुग्न करिब १५ प्रकाश वर्ष लाग्छ। एक प्रकाश वर्ष करिब ९.४६ ट्रिलियन किलोमिटरको हुन्छ।

कार्टवील आकाशगङ्गा

तस्बिर स्रोत, NASA/ESA/CSA/STSCI/WEBB ERO PRODUCTION TEAM

एकजना महान् स्वीस खगोलशास्त्री फ्रिज ज्‍वीकीले सन् १९४० को दशकमा यो ठूलो आकाशगङ्गा पत्ता लगाएका थिए।

आफूतर्फ आइरहेको अर्को आकाशगङ्गासँग ठोक्किएर पाङ्ग्राको आकारको यो आकाशगङ्गा बनेको हो।

यसको व्यास १४५,००० प्रकाश वर्ष रहेको छ।

वरूण ग्रह

तस्बिर स्रोत, NASA/ESA/CSA/STSCI

जेम्स वेबले ब्रम्हान्डको भित्रभित्र मात्रै हेर्दैन। यसले हाम्रो सौर्यमण्डलको पनि अन्वेषण गर्छ।

तस्बिरमा देखिएको ग्रह वरुण हो। रिङ्ग सहितको वरुण सूर्यबाट आठौँ स्थानमा रहेको ग्रह हो।

यसको वरिपरि रहेका साना थोप्लाहरू उसका चन्द्रामा हुन्।

त्यहाँबाट माथिल्लो भागमा रहेको 'चुच्चो तारा' ट्रिटन हो जुन वरुणको सबैभन्दा ठूलो उपग्रह हो।

ओरायन नेब्युला

तस्बिर स्रोत, NASA/ESA/CSA/STSCI-PDRS4ALL ERS TEAM

ओरायन आकाशको सबैभन्दा चिरपरिचित क्षेत्र हो।

यो तारा बन्ने क्षेत्र हो जुन पृथ्वीबाट १३५० प्रकाशवर्ष टाढा पर्छ।

यहाँ टेलिस्कोपले ओरायन बार देखाएको छ, जहाँ ग्यास र धुलोको घनत्व धेरै रहेको छ।

डाइमोर्फस

तस्बिर स्रोत, NASA/ESA/CSA/STSCI/C.THOMAS/I.WONG

यसवर्षको सबैभन्दा ठूलो अन्तरिक्षसम्बन्धी समाचार नासाले डाइमोर्फस नामक क्षुद्र ग्रहमा एउटा अन्तरिक्षयान पठायो भन्ने रहेको थियो।

एउटा १६० मिटर फराकिलो चट्टानको मार्ग परिवर्तन गर्न सम्भव रहे या नरहेको जाँच गर्न त्यसो गरिएको थियो।

पृथ्वीमा खतरनाक क्षुद्रग्रह बज्रनबाट रोक्ने रणनीतिले उक्त परीक्षण गरिएको थियो।

जेम्स वेबले १ हजार टन क्षुद्रग्रहका अवशेषहरू खसिरहेको पल खिचेको थियो।

डब्लूआर-१४०

तस्बिर स्रोत, NASA/ESA/CSA/STSCI/JPL-CALTECH

यो वर्षको सबैभन्दा रोमाञ्चक तस्बिरमध्ये एक थियो।

'डब्ल्यूआर' को अर्थ वुल्फ राए भन्ने बुझिन्छ। यो एक प्रकारको विशाल तारा हो जसको आयु समाप्त हुन लागेको हुन्छ।

अन्तरिक्षको ठूलो क्षेत्रमा ग्यास सहितको हावा यो ताराले फ्याल्ने गर्छ। तस्बिरमा यो ताराले ग्यास भएको वायुलाई सङ्कुचित गरेर धुलो बनाइरहेको देखिन्छ।

फोटोमा देखिएको धुलाम्मे सेलहरूले १० ट्रिलियन किलोमिटर भन्दा परको क्षेत्रफल समेट्छ। त्यो भनेको पृथ्वीदेखी सूर्यसम्मको दूरीको ७,००० गुणा हो।

फ्यान्टम आकाशगङ्गा

तस्बिर स्रोत, NASA/ESA/CSA/STSCI

एम सेभेन्टिफोर पनि भनिने फ्यान्टम ग्यालेक्सी यसको शङ्खाकार स्वरूपका कारण पनि परिचित छ।

यो पृथ्वीबाट ३ करोड २० लाख प्रकाशवर्षको दूरीमा छ र ठ्याक्कै हाम्रो ठिक सामुन्ने रहेको छ।

अवस्थितिका कारण जेम्स वेबले उक्त तारापुञ्जको तस्बिर राम्रोसँग उतार्न सक्छ। यो टेलिस्कोपको सेन्सरहरू विशेष गरी ग्यास र धुलोका पत्रहरू खिच्न निपुण छन्।

तस्बिर स्रोत, NASA

तस्बिरको क्याप्शन, जेम्स वेब टेलिस्कोपले २० वर्षसम्म सेवा दिनसक्ने ठानिन्छ