नेपाल निर्वाचन: रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको 'उदय'पछि प्रमुख दलका शीर्ष नेताले के भने?

तस्बिर स्रोत, RSS

आमनिर्वाचनको प्रारम्भिक मत परिणाम र राष्ट्रिय स्वतन्त्र पार्टीको उदयलाई लक्षित गर्दै प्रमुख दलका शीर्ष नेताहरूले विभिन्न खाले टिप्पणी गरेका छन्।

उनीहरूमध्ये कतिपयले अहिलेको चुनावी नतिजाले देश आगामी पाँच वर्ष "थप अस्थिर बन्न सक्ने" बताएका छन् भने केहीले "राजनीतिक परिवर्तनलाई उल्ट्याउने खेल हुनसक्ने" शङ्का व्यक्त गरेका छन्।

केही नेताका दृष्टिकोणमा भने दलहरूको कार्यशैलीलाई कतिपय मतदाताले नरुचाएको जस्तो देखिएकाले त्यसलाई परिवर्तन गर्नुपर्ने आवश्यकता भइसकेको छ।

त्यस्तो टिप्पणी गर्नेमा प्रत्यक्ष निर्वाचनमा विजय हासिल गरेकासँगै पराजित भएका दलका शीर्ष नेताहरू पनि रहेका छन्।

एमालेका नेता के भन्छन्?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको मत परिणामले देश "अस्थिरतातर्फ जाने खतरा" बढेको बताएका छन्।

आफू विजयी भएपछि निर्वाचित भएको प्रमाणपत्र लिन गृह जिल्ला झापा पुगेका उनले बिहीवार त्यस्तो अभिव्यक्ति दिएका थिए।

उनले भने, "यो पाँच वर्षका लागि मात्र होइन, देश उकालो लाग्यो भने त्यो सहज हुन्छ। ओरालो लाग्यो भने त्यो थाम्न गाह्रो हुन्छ।"

"हामीले नेपालमा स्थायीत्व र स्थिरता खोजेका थियौँ, तर अब मिलीजुली सरकार बनाउने कसरततिर दलहरू लाग्नुपर्ने भयो। सुरुदेखि नै मोलतोल र भागबन्डाको खेल हुने भयो।"

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, चुनाव जितेपछि झापामा ओली

उनले "भवितव्यले पुगेको भए पनि" सांसदको भाउ बढ्ने बताए।

ओलीले भने, "अब सरकार बनाउन गाह्रो, बनाएपछि टिकाउन झन् गाह्रो हुने भयो। मिलीजुली सरकार बनाउनेतिर देश गयो। हरेक सांसदको भाउ बढ्यो।"

उनले अब देश अस्थिरतातर्फ जाने खतरा निर्वाचन परिणामले देखाएको दाबी गरे।

उनले राष्ट्रिय स्वतन्त्र पार्टीको उदयतर्फ सङ्केत गर्दै भने, "राजनीतिक दलहरूले शिक्षा पुर्‍याउन नसकेको हो कि? अथवा जनताको मनोभावनालाई सम्बोधन उपयुक्त ढङ्गले गर्न नसकेको हो कि?"

"त्यसले जनतामा फेरि बहकाउ र उदासीनता जस्तो देखिएको छ। त्यसलाई आगामी दिनमा हटाउँदै जानुपर्ने हुन्छ।"

उता दाङमा पराजित भएका एमाले महासचिव शङ्कर पोखरेलले चाहिँ शुक्रवार गृह जिल्लामा भएको पत्रकार सम्मेलनमा चुनावी नतिजाले "अस्थिर राजनीतिलाई स्थायित्व प्रदान गर्ने भन्दा पनि पहिलेको भन्दा अझ कमजोर अवस्थामा प्रवेश गरेको" दाबी गरे।

स्वतन्त्र पार्टीको उदयलाई सङ्केत गर्दै उनले भने, "नयाँ शक्तिहरूको उदय असन्तुष्टि र आक्रोशका रूपमा जसरी प्रकट भएको छ, त्यसले मुलुकको राजनीतिलाई स्थायित्वतिर लैजाने कुरामा नयाँ किसिमको चुनौती खडा भएको छ भन्ने लाग्छ।"

नेपाली कांग्रेसका नेता के भन्छन्?

तनहुँबाट चुनाव जितेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बीबीसीसँग कुरा गर्दै गठबन्धन गरेपछि जस्तो नतिजा आउनु पर्ने थियो त्यस्तो नआएको बताए।

यद्यपि उनले गठबन्धन आवश्यक रहेको र अहिलेकै गठबन्धनले सरकारले बनाउने बताए।

उनले राष्ट्रिय स्वतन्त्र राप्रपा मधेसका दल र जसपालाई मिलाएर भए पनि सरकार बनाउने बताए।

पौडेलका भनाइमा देशमा अस्थिरता देखिएकाले त्यसको असन्तुष्टि यसपालिको निर्वाचनमा पोखिएको छ।

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, चुनाव जितेपछि रामचन्द्र पौडेल

उनले भने, "स्थायीत्व दिन र यो व्यवस्था बचाउने काम गर्नुपर्छ।"

उता नेपाली कांग्रेसकै नेता शेखर कोइरालाले राष्ट्रिय स्वतन्त्र पार्टीलाई जोडेर सञ्चारकर्मीहरूले सोधेको प्रश्नमा भने, "देशले परिवर्तन खोजेको छ तर कस्तो खाले भन्ने हो।"

मोरङबाट चुनाव जितेका उनले गृह नगर विराटनगरमा कुरा गर्दै युवाले मात्र देश चलाउन सक्छन् भन्ने अभिमत व्यक्त नभएको दाबी गरे।

युवा र पाका मिलेर देश चलाउने अभिमत अहिलेको निर्वाचनमा देखिएको कोइरालाको भनाइ छ।

माओवादी नेता के भन्छन्?

गोरखाबाट निर्वाचित भएपछि शुक्रवार आयोजित कोणसभालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चाहिँ अहिले पनि "नेपाली जनताले रगत बगाएर ल्याएको परिवर्तन उल्ट्याउने" खेल भइरहेको दाबी गरे।

त्यस्तो कार्यलाई सफल हुन नदिने दाहालको भनाइ छ।

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, जितपछि प्रचण्ड

उनले अहिलेको अवस्थामा राजनीतिक नेतृत्वले आत्म समीक्षा गर्ने बेला भएको बताए।

उनले स्वतन्त्र पार्टीको उदय र निर्वाचनको परिणामलाई सङ्केत गर्दै भने, "अहिले नै सबै बरबाद भयो भन्ने छैन। अब नेताहरूले जनतालाई हेरेर कार्यक्रम नल्याए देश अप्ठ्यारोमा पर्न सक्छ।"

"देश झन् ठूलो भुमरीमा पर्ने स्थिति हो भने त्यो स्वीकार्य हुने विषय होइन।"

राष्ट्रिय स्वतन्त्र पार्टी चाहिँ के भन्छ?

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले जनताका पक्षमा एकपक्षीय भएर लाग्ने बताएका छन्।

निर्वाचित प्रमाणपत्र लिएपछि चितवनमा उनले देश हित, नागरिक र जनजीविकाका लागि सँगै अघि बढ्ने बताए।

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, चुनाव जितेपछि रवि लामिछाने

समाजलाई टेवा दिने र मुलुकवासीका लागि काम गर्ने आफ्नो उद्देश्य हुने लामिछानेको दाबी छ।

लामिछानेलाई उद्धृत गर्दै राससले लेखेको छ, "हामी निर्वाचित सांसद फरक फरक पार्टीका भए पनि एउटै कित्तामा छौँ।"

निर्वाचनमा आफ्नो पार्टीले कसैसँगै गठबन्धन नगरेको बताउँदै उनले भने, "देश हितका लागि, नागरिकका लागि आवश्यक चिजमा गठबन्धन आवश्यक परे खुलेर साथमा हुनेछौँ।"