बीबीसी जन्म शताब्दीः एक सय वर्ष पुग्दा बीबीसीले सामना गर्नुपर्ने पाँच चुनौती
तस्बिर स्रोत, Getty Images
- Author, अमोल राजन
- Role, मिडिया सम्पादक
बीबीसीले आफ्नो एक सयऔँ वर्षगाँठ मनाइरहँदा बीबीसीका मिडिया सम्पादकले यो सँस्थाका सामु अन्य प्रतिद्वन्द्वी र स्ट्रिमिङ सेवा देखि लिएर टिकटकमार्फत् युवा पुस्तामाझ पुग्ने बाटोमा रहेका चुनौतीहरूको समीक्षा गरेका छन्।
महान साहित्यिक कृति जस्तै महान सँस्थाहरूको जन्म पनि अस्तित्वलाई लिएर उत्पन्न चिन्ताबाट हुने गर्छन् भनिन्छ।
युग अनुसारका डरलाग्दा चुनौतीहरूप्रति जरूरी प्रतिक्रिया जनाउने प्रयास गर्दा त्यस्तो अवस्था बन्न जान्छ - सन् १९२२ मा सिर्जित टि एस एलिअटको प्रसिद्ध कविता द वेस्ट ल्याण्डको हकमा जस्तै या बीबीसीको स्थापनाको सन्दर्भमा जस्तै।
प्रथम विश्व युद्धका बेला अनुहारमा गोली लागेका लर्ड रिथ जब बीबीसीको प्रथम महाप्रबन्धक नियुक्त भए उनले राष्ट्रहितलाई आफ्नो मुटुमा राखेका थिए। युद्धको मारपछिको लण्डनमा कार्यरत स्कटिश इन्जिनीयर उनले युद्धग्रस्त देशको पुनर्निर्माणमा सघाउन त्यसबेला उपलब्ध सबैभन्दा आधुनिक प्रविधिको प्रयोग गर्न चाहेका थिए।
त्यस्तो अवस्था अहिले हुँदो हो त धेरै थोरैले मात्रै सार्वजनिक सञ्चार अर्थात पब्लिक मिडियाको सँस्था निर्माण गर्ने बारेमा सोच्थे होलान्।
त्यस्तो सँस्था कतिपयले जनतालाई लगाइएको करका रूपमा समेत हेर्ने गरेका लाइसेन्स फि मार्फत् सञ्चालन गर्ने भनेर सहमति जनाउने त झन थोरै हुन्थे।
तर महारानी एलिजाबेथ द्वितियाको निधन र अन्तिम संस्कारको बीबीसीले जुन ढङ्गले प्रस्तुती गरेर प्रशंसा कमायो त्यसबाहेकका कार्यक्रम र प्रस्तुतीका कारण पनि बीबीसी प्रायः विश्व स्तरको रहँदै आएको छ।
एक शताब्दीदेखि नै राष्ट्रिय र अन्तर्राष्ट्रिय ठूला घटनाहरूका बेला बीबीसी ब्रिटेनका बासिन्दाहरूका साथ रहँदै आएको छ।
चर्चिलका युद्धकालीन प्रसारणहरू, महारानी एलिजाबेथको राज्याभिषेक, सन् १९६६ को विश्वकप फुटबल, चन्द्रमामा मानव अवतरण, बर्लिन पर्खालको पत्तन जस्ता घटनाहरू बीबीसीले प्रस्तुत गर्यो। र ब्रिटेनका धेरै मानिसहरूले ती घटनाहरूका बारे बीबीसीबाट नै थाहा पाए।
तर हाल देशलाई एकजुट पार्ने कार्य पहिलेभन्दा निकै कठिन बन्दै गएको छ। खासगरी एक त ब्रिटेन नै परिवर्तन भएको छ तर मिडिया अर्थात् आमसञ्चारका माध्यमको चरित्र नै पनि फेरिएको छ।
१०० वर्षदेखि नै बीबीसीले आफ्ना दर्शक, स्रोता र पाठकसँगको भावपूर्ण सम्बन्ध कायम राख्न नवीन आधुनिक प्रविधिको प्रयोग गर्दै आएको छ।
यसको जन्म रेडिओको युगमा भयो, यसले नै ब्रिटेनका मानिसहरूलाई टेलिभिजनको पहिलो झलक देखायो।
यस्तो विगतका सन्दर्भमा इन्टरनेट, स्मार्टफोन, सोसल मिडिया जस्ता विभिन्न प्राविधिक क्रान्तिहरूले ब्रिटेनको सञ्चार संस्कृतिमा बीबीसीको पकडलाई फर्काउनै नसकिने ढङ्गले कमजोर तुल्याइदिएको छ।
तस्बिर स्रोत, UNIVERSAL HISTORY ARCHIVE/GETTY IMAGES
यी आमूल परिवर्तनकारी परिघटनाहरूको संयोजनले हाल बीबीसीका सामू ठूला चुनौतीहरू एकै ठाउँ प्रस्तुत गर्ने गरेका छन्। ती मध्येमा पाँचका बारेमा थप चर्चा।
विश्वास
विश्वास सजिलै नष्ट हुने विषयवस्तुमा पर्दछ भने त्यो सजिलै निर्माण पनि हुँदैन। जिमी स्याभिल, राजकुमारी डायनासँग मार्टिन बशिरले गरेका अन्तर्वार्ता लगायतका थुप्रै विवादास्पद घटनाहरूले बीबीसीमाथि जनताको भरोसा र विश्वासलाई क्षय गरेका छन्।
र अहिले त झन युग नै मिथ्या समाचारको भएको छ। सत्यभन्दा झुट्टा कुरा छिटो फैलिने विश्वमा सत्यतथ्यको पवित्रता सर्वोच्च हो भन्ने धारणा पनि खस्कन पुगेको छ।
समाचार उद्योगका निम्ति सामाजिक सञ्जाल सोसल मिडियाले विनाशकारी भूमिका खेलेको छ।
धेरै मानिसहरू अझै पनि सत्यतथ्यमा विश्वास गर्छन् र त्यसका लागि समय, पैसा र मेहनत खर्च गर्ने केही पत्रकारहरूका लागि अहिलेको अवस्थाले ठूलो अवसर पनि सृजना गरेको छ।
तर खस्कँदो विश्वास बीबीसीको लागि ठूलो खतरा हो। मानिसहरूले आफूले विश्वास नगर्ने कुरामा पैसा खर्च गर्ने छैनन्।
खर्च
बीबीसीका प्रत्यक्ष प्रतिस्पर्धीमा नेटफ्लिक्सजस्ता कम्पनीहरू पर्दछन् जसको सम्पत्ति सयौँ अर्ब डलरमा छ। यस्तोमा झण्डै ५ अर्ब पाउन्डको कोषको सीमा तोकिएको बीबीसीले बजारमा संघर्ष गर्नुपर्नेछ।
फेरि अन्य प्रतिस्पर्धीले गर्न आवश्यक नठान्ने तर बीबीसीले गर्ने समाचार, रेडिओ, धार्मिक कार्यक्रम जस्ता क्षेत्रहरू पनि छन्।
बीबीसीमाथिको नियमन एकदम कडा छ र यो संस्था निरन्तरको राजनीतिक दबावमा पनि रहने गर्छ।
इन्टरनेटमार्फत् कार्यक्रम स्ट्रिम गर्ने सेवाहरूका कारण कर्मचारी र कार्यक्रम निर्माण खर्च पनि बढ्न पुगेको छ।
यावत् कारणले गर्दा अन्ततः बीबीसीले अहिले गरिरहेको कामहरूमा कटौती गरेर थोरै क्षेत्रमा मात्र क्रियाशील रहनु पर्ने हुन्छ। जसको अर्थ अरूहरूले गर्न नसक्ने तर बीबीसीले मात्र गर्न सक्ने त्यस्तो के हुन सक्छ भनेर यकिन गर्नु पर्ने हुन्छ।
युवाहरूसम्म कसरी पुग्ने
बीबीसीले उत्पादन गर्ने सामग्रीहरूको प्रयोग गर्नेहरूमाझ स्पष्ट पुस्तागत विभाजन देखिन्छ।
१६ देखि २४ वर्ष उमेरका ब्रिटेनवासीहरूले टेलिभिजनमा भन्दा धेरै समय टिकटकमा विताउने गर्छन्। गत दशकमा सो उमेर समूहका मानिसहरूले टेलिभिजन हेरेर विताउने समय दुई तिहाइले घटेको छ।
बीबीसीको सबैभन्दा खराब दुःस्वप्न भनेको आफू असान्दर्भिक हुन जाने हो की भन्ने छ।
लोकप्रिय खेलकुद कार्यक्रम प्रदर्शन गर्न पाउने अधिकारको हकमा टेस्ट क्रिकेटको प्रसारण अधिकार स्काई च्यानलले पाएको छ भने अर्को लोकप्रिय पाककला सम्बन्धी कार्यक्रम 'बेक अफ' को प्रदर्शन अधिकार समेत अर्को प्रतिद्वन्द्वी च्यानल फोरले पाएको छ।
यति हुँदा हुँदै पनि देशका ठूला घटनाहरूको समयमा बीबीसीको भूमिका बेजोडको र अपरिहार्य रहनु पर्ने भएको छ। र अवस्था त्यस्तै छ पनि, हालसम्म।
तर टिकटकको भिडिओको, नेटफ्लिक्सको डलरको र स्पटिफाइको प्लेलिस्टको शक्ति बलियो हुँदै जाँदा आफूलाई सान्दर्भिक तुल्याइ राख्ने बीबीसीको यात्रामा यी सबै तगारोको रूपमा उपस्थित छन्।
सर्वग्राह्य आकर्षण
केही सम्बन्धित तर भिन्न विषय बीबीसीको सर्वग्राह्य चरित्रको हो।
लाइसेन्स फि बाट हुने आम्दानीको बाटो कायमै राख्नको लागि बीबीसीले त्यस्तो शुल्क तिर्ने सकेसम्म सबैजनाका सामु आफूलाई आकर्षक बनाइराख्नु पर्दछ।
त्यसै भएर बीबीसीका महानिर्देशक टिम ड्याभीले निष्पक्षता सम्बन्धी बीबीसीको नाजुक प्रतिष्ठालाई पुनर्स्थापित गर्ने कामलाई प्राथमिकता दिएका छन्।
आधुनिक ब्रिटेन जस्तो डिजिटल, विविधतापूर्ण र विभाजित देशमा सबै मानिसहरूले रुचाउने बन्नु एकदमै गाह्रो काम हो।
एन्टिक्स रोड शो जस्ता पुराना वा पुरातात्विक सङ्कलन योग्य वस्तुहरू सम्बन्धी कार्यक्रम प्रस्तुत गरिरहेको संस्थाले वान एक्स्ट्रा जस्तो हिपहप र आरएण्डबी जस्ता आधुनिक र अलग विधाको सङ्गीत प्रस्तुत गर्ने रेडिओ स्टेशनको स्रोता बढाउनु पर्नेछ।
आलोचकहरू यस्लाई "शाही आकाङ्क्षा" भन्ने गर्छन्।
तर बीबीसी स्वयंले पनि अब आफूले पहिलेभन्दा थोरै काम गर्नु पर्ने आवश्यकता रहेको र बजारले गर्न नसक्ने काम गर्नमा ध्यान दिनु पर्नेमा जोड दिनु पर्दछ भनेर स्वीकार गरेको अवस्थामा यसको हालको आम्दानीको संरचना विभिन्न पुस्ताका साथै भौगोलिक एवं लैङ्गिक विभाजनहरूमा बाँडिएका मानिसहरूलाई आकर्षित गर्न सक्ने क्षमतामा आधारित रहेको छ।
तस्बिर स्रोत, Getty Images
राजनीति
बीबीसीले सधैँ नै हरेक राजनीतिक रङ्गका सरकारहरूलाई आक्रोशित तुल्याउँदै आएको छ। हाल यो विषयमा दुई ठूला भिन्नताहरू छन्।
पहिलो, सरकारको तर्फबाट भैरहेको शत्रुतापूर्ण व्यवहार निरन्तर बढदै गैरहेको छ, केही हदसम्म सोसल मिडिया र वर्तमानको सांस्कृतिक द्वन्द्वको कारणले गर्दा।
दोस्रो, बीबीसीका सबैभन्दा प्रतिबद्ध शत्रुहरूले इन्टरनेटमार्फत् कार्यक्रम स्ट्रिमिङ गर्ने कार्यमा देखिएको आमूल परिवर्तनको अवस्थालाई अघि सार्दै बीबीसीले पाउँदै आएको लाइसेन्स फि बाट हुने आम्दानीको प्रावधान त्यसको उद्देश्य अनुसार अब अनुपयुक्त भयो भन्न सक्नेछन्।
तिनीहरूको एजेन्डा सैद्धान्तिक छ तर तिनीहरूको तर्क प्रविधिमा आधारित भएर गरिएको छ।
युट्युब र इन्स्टाग्रामको जमानामा बीबीसीको सञ्चालनका निम्ति रकम जुटाउने प्रक्रिया अब युग अनुकुल छैन भनेर कडा रूपमा त्यसको प्रतिवाद गर्न सक्छन्।
यी सबैको संयुक्त चुनौतीले बीबीसीका सामु अस्तित्वको खतरा पैदा गर्न सक्छ।
अबको केही दशकसम्म पनि बीबीसीको हालको स्वरूपको आम्दानीको संरचना कायमै रहन्छ भनेर ठान्नेलाई बहादुर नै भन्दा हुन्छ।
तर हालैका केही हप्ताहरूले देखाएअनुसार बीबीसीप्रतिको सम्मान व्यापक रूपमा कायमै रहेको छ र यसले केही उपयोगी कुराहरू अरूले भन्दा निकै नै राम्रोसँग गर्न सक्दछ।
यसको हालको नेतृत्वसँग यी चुनौतीहरूको सम्बोधन गर्ने योजना छ।
यो संस्था सापेक्षित अर्थमा विस्तारै खुम्चिँदै गर्दा बीबीसीले जनतासँगको सम्बन्धलाई पुनर्जीवित तुल्याउनका निम्ति पछिल्लो आधुनिक प्रविधिको प्रयोग गर्नु पर्छ।
बीबीसीका निम्ति शुल्क तिर्नु पैसाको उचित सदुपयोग गर्नु हो भनेर तिनीहरूलाई विश्वास दिलाउनु पर्छ र प्रतिद्वन्द्वीहरूलाई टाढै राख्न सक्नु पर्छ।
यो एक शताब्दी पुरानो संस्थाले आफ्ना लागि गर्नसक्ने सबैभन्दा उत्तम काम भनेको जो व्यक्तिले जुन दुरदृष्टिका साथ यसको स्थापना गरे त्यसै उद्देश्यमा पुनः फर्केर अघि बढ्नु हो।
बीबीसीका संस्थापक महाप्रबन्धक लर्ड रिथले सन् १९२२ मा नै थाहा पाएको कुरा के हो भने यो संस्थाको प्रगतिको आधार भनेको सङ्ख्या होइन गुणस्तर हो।
मुख्य समाचार
अनि यो पनि
धेरै रुचाइएको
सामग्री उपलब्ध छैन