कश्मीरको एक घुमन्ते जाति बकरवाल अस्तित्व सङ्कटको दोसाँधमा

तस्बिर स्रोत, ABID BHAT

भारत प्रशासित कश्मीरमा एउटा घुमन्ते जातिले वन जङ्गल र मौसमी अवस्थाको बदलिँदो अवस्थामाझ आफ्नो परम्परागत जीवनशैली कायम राख्न सङ्घर्ष गरिरहेको छ।  

"मानिसहरूले हाम्रो जीवनबारे सुन्दर चित्र प्रस्तुत गर्ने प्रयास गर्छन्। तर खासमा हाम्रो जीवन सङ्घर्षशील र कष्टपूर्ण छ," बकरवाल समूहका एकजना भेडा चराउने व्यक्ति लिकत खान भन्छन्। 

बकरवालहरू जम्मु र कश्मीर क्षेत्रमा ३४ लाख जनसङ्ख्या भएको एउटा बलियो घुमन्ते समुदायका हिस्सा हुन्। 

उनीहरूको आधारभूत पेसा भेडाबाख्रा पालन गर्नु हो।  

जम्मु र कश्मीरको ग्रीष्मकालीन राजधानी श्रीनगरबाट ५५ किलोमिटरमा पर्ने दर्दोदुर जङ्गलमा उनीहरू बस्छन्। 

तस्बिर स्रोत, ABID BHAT

तस्बिरको क्याप्शन, जङ्गलबीचमा नजिरा र उनको परिवार बस्ने घर

३० बर्षीय दुब्ली पातली नजिराले काखमा नवजात शिशु झुलाइरहेकी छन्। 

उनको जातीय समूह तीन दिनअघि मात्र त्यहाँ आइपुगेर त्यस उच्च भागमा शिविर बनाएको हो। 

"यो हाम्रा लागि हिउँदे बसाइसराइ सुरु गर्ने बेला हो," नजिराले आफ्नो अस्थायी टेन्टबाट टाउको निकाल्दै भनिन्।  

वर्षौँदेखि बकरवाल जातीय समूह जम्मू र कश्मीरबीचमा बसाइसराई गर्ने काम गरिरहन्छन्। 

गर्मीयामको ६ महिना उनीहरूले कश्मीरमा बिताउँछन् जहाँ उनीहरू एप्रिलमा आइपुग्छन्। 

अक्टोबरमा उनीहरू जम्मूको समथर भागमा हिउँदका लागि फर्किन्छन्। 

तस्बिर स्रोत, ABID BHAT

तस्बिरको क्याप्शन, जुल्फीजस्ता घुमन्ते जातीका मानिसहरूको स्थायी घर छैन

तस्बिर स्रोत, ABID BHAT

तस्बिरको क्याप्शन, जाडो महिनामा लिकत खान (बीचमा)झैँ मानिसहरू तल्लो भूभागमा ओर्लन्छन्

"हामी कहीँका पनि होइनौँ, " कश्मीरमा भेटिएकी एकजना बकरवाल युवती जुल्फीले भनिन्। 

"यो हामीहरूको केवल गर्मीयामको घर हो।"

बकरवालहरूलाई भारतको सङ्घीय सरकारले सन् २००१ मा औपचारिक रूपमा "अनुसूचित जाति" का रूपमा राखेको थियो। 

भारतको संविधानले सामाजिक र आर्थिक रूपमा पछाडि परेका आदिवासी समुदायलाई त्यस्तो सूचीमा राख्छ। 

तस्बिर स्रोत, ABID BHAT

तस्बिरको क्याप्शन, मोहम्मद जुबैर

अहिले उक्त जातीको मुख्य आयस्रोतको रूपमा रहेको पशुपालन जङ्गली जनावरको हमला बढेसँगै उनीहरूको परम्परागत जीवनशैलीमा दबाव परेको छ। 

उनीहरूले पालेका जनावरको विक्री समेत घट्दो छ। 

"यसअघि, एक दिनको मेहनत गर्दा भेडा बाख्राका लागि राम्रै पैसा जम्मा हुन्थ्यो जुन अहिले हुँदैन," श्रीनगरको बाहिरी भागमा रहेको एक शिविरमा बसेका ५० वर्षीय मोहम्मद जुबेरले भने। 

उक्त समुदाय कठोर मौसमको बढ्दो घटनाक्रमसँग समेत सङ्घर्ष गरिरहेको छ। 

"हिमालयमा उच्च भागका घाँसे मैदानमा यात्रा गर्न निकै कठिन बनेको छ," एकजना भेडाबाख्रा पालन गर्ने लिकत खानले भने। 

जुन महिनामा बेमौसमी हिमपात भयो। निकै ठन्डी मौसमी अवस्थाले गर्दा जम्मू र कश्मीरको चेनाब उपत्यकामा सयौँको सङ्ख्यामा आदिवासीहरू सडकछेउमा अलपत्र परे जहाँ उनीहरू र पाल्तु जनावरका लागि निकै कम खाना बाँकी थियो थियो। 

अर्को मुख्य समस्या ती आदिवासीको वनमाथिको पहुँच हो। 

गत वर्ष उनीहरू दशकौँदेखि बसिरहेको जङ्गलमा "गैर कानुनी" बसोबास भएको भन्दै छाड्नका लागि सूचना जारी गरियो। 

तस्बिर स्रोत, ABID BHAT

तस्बिरको क्याप्शन, मौसमी परिवर्तनको असर यी आदिवासी समुदायमा परेको छ

अधिकारीहरूले त्यहाँ रहेका  कैयौँ  छाप्रो र माटोका घरहरू भत्काइदिए।

यद्यपि केही महिनापछि लेफ्टिनेन्ट गभर्नर मनोज सिन्हाले आदिवासी समुदायको अधिकार अधिकारीहरूले सुनिश्चित गर्ने र त्यसका लागि उनीहरूको अधिकार सुनिश्चित हुने प्रमाणपत्र दिने बताए। 

सबैभन्दा कठोर सत्य भनेको उक्त समुदायका युवा पुस्तालाई शिक्षासहितको सहज जीवनमा केन्द्रित गर्नु रहेको छ। 

तस्बिर स्रोत, ABID BHAT

तस्बिरको क्याप्शन, वन जङ्गलमा पहुँचको विषय अहिले उनीहरूका लागि चुनौती बनेको छ

प्रशासनले सामुदायिक विद्यालयहरू बनाएर त्यस्ता आदिवासीलाई वन क्षेत्रमा पढाउने व्यवस्था गरेको छ।

ती समुदायमा परेका विभिन्न खाले दबाबबीच कैयौँले  उनीहरू आफ्नो परम्परागत जीवन कायम गर्न प्रतिबद्ध रहेको बताउँछन्। 

तस्बिर स्रोत, ABID BHAT

तस्बिरको क्याप्शन, उनीहरू आफ्नो परम्परागत जीवन कायम राख्न दृढ छन्

"हामी हाम्रा कुनै पनि परम्परा छोड्ने छैनौँ," जुल्फीले भनिन्।

"हाम्रो जीवनबारे अनिश्चितताहरू धेरै छन्, तर जेसुकै भए पनि हामीले दृढतासाथ हाम्रो परम्परामा कायम छौँ। 

सबै तस्बिरहरू: अबिद भट्ट। शब्द: जइद बीन शबिर