निधनको २५ वर्ष: राजकुमारी डायनाको जीवन कस्तो थियो?

तस्बिर स्रोत, Getty Images

ब्रिटेनकी पूर्वराजकुमारी डायना कुनै बेला 'विश्वमै सबैभन्दा बढी तस्बिर खिचिएकी महिलाका' रूपमा चिनिन्थिन्।

उनको मृत्युको २५औँ वार्षिकीमा बीबीसीले उनको जीवनलाई क्यामेराको लेन्सबाट नियाल्न खोजेका छ।

तस्बिर स्रोत, Getty Images

उनी तत्कालीन भाइकाउन्ट एन्ड भाइकाउन्टेस ओलथोर्पकी कान्छी छोरी थिइन्।

सन् १९६९ मा आफ्ना आमाबुबाको सम्बन्धविच्छेद भएपछि उनले नर्थह्याम्पटनसिअर र स्कटल्याण्डमा रहेका तिनका घरमा बारम्बार यात्रा गर्थिन्।

तस्बिर स्रोत, Getty Images

डायनाले प्राथमिक शिक्षा डिस नरफोकमा अवस्थित रिडल्सवर्थ हल हासिल गरेकी थिइन्।

उनले सन् १९७४ मा केट नजिकैको सेभेनओक्समा रहेको वेस्ट हिथमा अध्ययन गर्न थालिन्।

सन् १९७७ मा त्यहाँबाट आफ्नो स्कुले अध्ययन पूरा गर्न उनी स्विटजरल्याण्ड गइन् र सन् १९७८ मा त्यहाँबाट फर्किन्।

तस्बिर स्रोत, Getty Images

विद्यालय शिक्षापछि उनले पहिला बालबालिकाको हेरचाह गर्ने र कहिलेकाहीँ भान्छेको काम गरिन्।

त्यसपछि उनले लन्डनको नाइट्सब्रिजमा अवस्थित योङ इङ्ल्याण्ड किन्डरगार्टेनमा सहयोगीका रूपमा काम थालिन्।

त्यस बेला प्रिन्स अफ वेल्ससँगको उनको मित्रता प्रेममा परिवर्तन भइरहेको हल्ला चल्न थालेको थियो।

त्यो बेला प्रेस र टेलिभिजनले उनलाई प्रत्येक पाइलामा पछ्याउन थाले र उनलाई काममा जान पनि अप्ठेरो पर्न थाल्यो।

तस्बिर स्रोत, Getty Images

सन् १९८१ को फेब्रुअरी २४ मा राजकुमार चार्ल्स र डायना स्पेन्सरले बकिङ्घम दरबारमा औपचारिक रूपमा बिहे गर्ने घोषणा गरे।

त्यस बेला लगभग ३०,००० पाउन्ड उक्त समारोहका लागि खर्च भएको थियो र १४ वटा हिरा जडित निलम रत्नको औँठी डायनालाई चार्ल्सले लगाइदिएका थिए।

त्यो औँठी ज्यादै चर्चित भएको थियो र अहिले त्यसलाई डचेज अफ क्याम्ब्रिज क्याथरिनले लगाइरहेकी छन्।

तस्बिर स्रोत, Getty Images

'शताब्दीको विवाह' संज्ञा दिइएको डायना र प्रिन्स चार्ल्सको विवाह सन् १९८१ को जुलाई २९ मा सेन्ट पल कथिड्रलमा सम्पन्न भएको थियो।

दशौँ लाख मानिसहरूले टेलिभिजनमार्फत उक्त वैवाहिक कार्यक्रम प्रत्यक्ष रूपमा हेरेका थिए।

बिस वर्षको उमेरमा आफ्ना श्रीमान्को नाम सही ढङ्गले उच्चारण गर्न उनी हल्का अकमकाएकी थिइन्।

उनका पिता अर्ल स्पेन्सरले उनलाई विवाहको समारोह स्थलसम्म पुर्‍याएका थिए।

विशेष प्रकारको उनको पोसाकको डिजाइन डेभिड र एलिजावेथ एमानुएलले गरेका थिए।

उक्त जोडीलाई हेर्न बकिङ्घम दरबारदेखि कथिड्रलसम्म करिब छ लाख मानिसहरू लामबद्ध भएका थिए।

नवविवाहितहरूले महारानी एलिजावेथ द्वितीया सहितको उपस्थितिमा दरबारको बरन्डामा उभिएर भीडलाई अभिवादन गरेका थिए।

तस्बिर स्रोत, Getty Images

डायना सदैव ठूलो परिवारकी आकाङ्क्षी थिइन्।

विवाह गरेको एक वर्षभित्रै सन् १९८२ को जुन २१ मा उनले प्रिन्स विलियमलाई जन्म दिइन् जो आफ्ना बुवा राजकुमार चार्ल्सपछि राजगद्दीका उत्तराधिकारी हुन्।

राजकीय परिस्थितिले अनुमति दिएसम्म साधारण तरिकाले आफ्ना सन्तानहरू हुर्काउनुपर्ने पक्षमा उनी थिइन्।

तस्बिर स्रोत, Getty Images

नर्सरीमा अध्ययन गर्न जाने विलियम पहिलो राजगद्दीका उत्तराधिकारी थिए।

सन् १९८४ को सेप्टेम्बरमा विलियमका भाइको जन्म भयो।

उनको नाम हेनरी राखिएको भए पनि उनी राजकुमार ह्यारीका नामले चिनिन्छन्।

तस्बिर स्रोत, Getty Images

उनीहरूलाई निजी शिक्षकहरूले अध्यापन गराएका थिएनन्।

दुवै जना अरू बालबालिकासँगै विद्यालय जान्थे।

भिडिओ क्याप्शन सुरु हुँदैछ, राजकुमारी डायना 'हृदयकी रानी'

आफ्ना दुई छोराहरूको हेरविचारमा डायना लागिपरेकी थिइन्।

राजकुमार ह्यारीले डायना "एक जना चकचके अभिभावक" भएको बताउँछन्।

उनले थप्छन्, "उहाँले हामीलाई मायाले ओतप्रोत पार्नुभयो। त्यो निश्चित हो।"

तस्बिर स्रोत, Getty Images

उनको लोकप्रियता बढ्दै जान थाल्यो।

उनी फ्याशन जगत्की प्रतीक बन्न पुगिन र उनले लगाउने पोसाकहरूले सबैको ध्यान तान्न थाले।

उनी थप औपचारिक कार्यक्रमहरूमा सहभागी भएसँगै उनको परोपकारी कामले सर्वसाधारणबाट प्रशंसा पायो र त्यो विश्वभर समाचारको विषय बन्यो।

तस्बिर स्रोत, Getty Images

उनले एड्स लागेका मानिसहरूले बेहोरेका पीडालाई मानिसहरूमाझ पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेलेकी थिइन्।

उनका भाषणहरूले पूर्वाग्रहहरूलाई चुनौती दिने गरेका थिए।

एड्सका बिरामीहरूसँग हात मिलाउने जस्ता उनका साधारण व्यवहारले मानिसहरूमा सामाजिक सम्पर्क जोखिममुक्त रहेको धारणा बनाउन सहयोग गर्‍यो।

तस्बिर स्रोत, Getty Images

डायना र उनका पति कैयौँ कार्यक्रममा सँगै सहभागी भएका थिए र उनीहरूसँगै विदेश भ्रमणहरूमा पनि गएका थिए।

तर सन् १९८० को अन्त्यसम्म पुग्दा उनीहरूको अलगअलग जीवन सार्वजनिक जानकारीमा पुगिसकेको थियो।

सन् १९९२ मा भारतको औपचारिक भ्रमणको समयमा डायनाले प्रेमको प्रतीक चिन्ह रहेको ताज महलमा एक्लै बसेर तस्बिर खिचाएकी थिइन्।

औपचारिक रूपमा सँगै रहेको भए पनि त्यसलाई उनीहरू बीचको दुरी व्यापक बढेको सङ्केतका रूपमा लिइएको थियो।

तस्बिर स्रोत, Getty Images

आफ्नो जीवनभर डायनाले चर्चित रोमन क्याथलिक नन मदर टरिजासँग नजिकको सम्बन्ध कायम गरिन्।

आफ्नो परोपकारी कामले चर्चित रहेकी मदर टरिजालाई मानव सेवासम्बन्धी उनका कामका लागि नोबेल शान्ति पुरस्कार दिइएको थियो।

उनीहरूको मृत्यु छ दिनको अन्तरमा भएको थियो।

तस्बिर स्रोत, Getty Images

वर्षौँसम्म अलग रहेपछि डायना र चार्ल्सको सम्बन्धविच्छेदले सन् १९९६ को अगस्ट २८ मा औपचारिकता पाएको थियो।

अर्को वर्षको जुनमा उनले विश्वभरका म्यागेजिनहरूको आवरण पृष्ठमा देखा परेका ७९ लुगाहरूलाई लिलामीमा राखेकी थिइन्।

उक्त लिलामीबाट परोपकारी कामका लागि ४५ लाख पाउन्ड सङ्कलन भएको थियो।

त्यसलाई आफ्नो विगत बिर्सेर अघि बढ्ने उनको प्रयासका रूपमा लिइएको थियो।

तस्बिर स्रोत, Getty Images

उनले बारुदी सुरुङ बिछ्याउन प्रयोग गरिएका उपकरणहरूमाथि प्रतिबन्ध लगाउन माग गरेपछि संसारभर ठूलो चर्चा भएको थियो।

बारुदी सुरुङ विरुद्धको एउटा अभियान माइन्स एड्भाइजरी ग्रुपका सहसंस्थापक लोउ मक्राले डायनासँग नजिकै रहेर काम गरे।

उनले पछि बताए अनुसार त्यस्ता सामानमाथि प्रतिबन्ध लगाउन डायनाको सहयोग 'निर्णायक' बनेको थियो।

तस्बिर स्रोत, Getty Images

सन् १९९७ को अगस्ट ३१ मा प्यारिसमा रात्रिभोजपछि धनाढ्य व्यवसायी मोहमद अल फायदका छोरा डोडी अल फायदसँग कारमा बाहिरिएका थिए।

राजकुमारीको नयाँ मित्रको थप फोटो खिच्न सो जोडीलाई मोटरसाइकलमा फोटोग्राफरहरूले पछ्याएका थिए।

उक्त भागदौडका क्रममा एउटा गम्भीर दुर्घटना हुन पुगेको थियो।

त्यो दुर्घटनामा राजकुमारी डायनाको निधन भयो।

तस्बिर स्रोत, Getty Images

उनको पारिवारिक घरमा शव यात्रा हेर्न सडकमा १० लाखभन्दा बढी मानिस जम्मा भएका थिए।

उनको शव राखिएको बाकसको पछिपछि प्रिन्स चार्ल्स, १२ वर्षका ह्यारी, डायनाका भाइ र जेठा छोरा विलियम पैदलै हिँडेका थिए।

मृत्यु भएको २५ वर्षपछि उनी विश्वभर 'जनताको राजकुमारी'का रूपमा चिनिन्छिन्।