अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रः रुस किन छुट्टै अन्तरिक्ष स्टेशन बनाउन चाहन्छ

तस्बिर स्रोत, Roskosmos

तस्बिरको क्याप्शन, आईएसएसमा रहेका रुसी अन्तरिक्षयात्रीहरूले हालै स्वघोषित लुहान्स्क जनगणतन्त्रको झन्डा प्रदर्शन गरेका थिए
    • Author, बेन टोबियास
    • Role, बीबीसी न्यूज

रुसले सन् २०२४ पश्चात् अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) बाट आफू बाहिरिने र छुट्टै स्टेशन बनाउने घोषणा गरेको छ।

रुसी अन्तरिक्ष निकाय रोसकोस्मोसका नयाँ प्रमुख युरी बोरिसोभले त्यतिन्जेलसम्म रसकस्मसले आफ्ना सबै प्रतिबद्धता पालना गर्ने पनि बताए।

अन्य साझेदारसहित अमेरिका र रुसले आईएसएसमा सन् १९९८ देखि सफलतापूर्वक सँगसँगै काम गर्दै आएका छन्।

तर युक्रेनमा अतिक्रमण गरेपछि रुसको सम्बन्ध अरू देशसँग बिग्रिएको छ।

पश्चिमा देशहरूले लगाएका प्रतिबन्धहरूका कारण रुसले उक्त आयोजना त्याग्ने यसअघि नै बताएको थियो।

नयाँ स्टेशन कहिले बन्ला

पाँचवटा अन्तरिक्ष निकायहरूको संयुक्त प्रयासमा आईएसएस सन् १९९८ देखि पृथ्वीको कक्षवरिपरि घुमिरहेको छ। यसले हजारौँ वैज्ञानिक प्रयोगहरू गर्दै आएको छ।

यो स्टेशन सन् २०२४ सम्म सञ्चालन गर्ने सहमति भएको थियो। तर अमेरिकाले सबैको सहमतिमा त्यसलाई थप छ वर्ष सञ्चालन गर्न चाहेको थियो।

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, आईएसएसले सन् १९९८ देखि निरन्तर पृथ्वीको परिक्रमा गरिरहेको छ

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको बैठकमा बोरिसोभले सन् २०२४ पश्चात् उक्त आयोजनाबाट बाहिरिने निर्णय भएको बताए।

"मलाई लाग्छ त्यतिन्जेलसम्म हामीले रुसी स्टेशन बनाउन थालिसक्नेछौँ," बोरिसोभले भने। नयाँ स्टेशन निर्माण आफ्नो निकायको मुख्य प्राथमिकता भएको उनले बताए।

"ठिक छ," उनको कुरा सुनेर राष्ट्रपति पुटिनले जबाफ दिए।

रुसको निर्णयले आईएसएसको भविष्य के हुन्छ भनेर स्पष्ट भइसकेको छैन।

अमेरिकी अन्तरिक्ष निकाय नासाका एक वरिष्ठ अधिकारीले समाचारसंस्था रोएटर्ससँग कुरा गर्दै रुसले उसको योजनाबारे अमेरिकी निकायलाई औपचारिक जानकारी दिइनसकेको बताएका छन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, रुसी र अमेरिकी अन्तरिक्षयात्रीको सहयात्रा

विश्लेषण

जोनाथन एमोस, विज्ञान संवाददाता

आईएसएसबाट रुसको बहिर्गमनबारे केही समययता चर्चा गरिरहेको छ तर त्यसबारे ऊ कति गम्भीर छ भन्ने स्पष्ट भएको छैन।

उनीहरूले आफ्नै स्टेशन - रसियन अर्बिटल सर्भिस स्टेशन - बनाउने कुरा गरेका छन् तर त्यसका निम्ति निकै धेरै आर्थिक प्रतिबद्धताको खाँचो पर्छ। रुसी सरकारले उसका विद्यमान अन्तरिक्ष कार्यक्रममा त्यो स्तरको चासो देखाएको छैन।

निश्चय पनि आईएसएसमा रहेका रुसी पार्टपुर्जा पुराना हुँदै गएका छन्। यद्यपि त्यसले अझ पनि सन् २०३० सम्म काम गर्ने इन्जिनियरहरूको भनाइ छ।

यदि रुसले आईएसएस त्यागेमा त्यसले पक्कै समस्या निम्त्याउनेछ। किनभने साझेदारहरू एकअर्कामा निर्भर हुनेगरी आईएसएसको डिजाइन गरिएको छ।

अमेरिकी पक्षले आईएसएसलाई आवश्यक ऊर्जा प्रदान गर्छ भने रुसी पक्षले उक्त स्टेशनलाई चलायमान राख्न र पृथ्वीमा खस्न नदिन आवश्यक काम गर्छ।

रुस बाहिरिएको खण्डमा बाँकी साझेदारहरू - युरोप, जापान र क्यानडा - ले बारम्बार स्टेशनलाई अन्तरिक्षमा उकासिरहने उपाय गर्नुपर्छ। अमेरिकी रोबटिक यानहरूले त्यो काम गर्न सक्छन्।

युक्रेन युद्ध सुरु भएपछि पनि आईएसएसमा रुस र अमेरिकी सहकार्य त्यति प्रभावित भएको थिएन।

यसै महिनाको सुरुमा दुई देशले रुसी अन्तरिक्षयात्रीलाई अमेरिकी अन्तरिक्षयान र अमेरिकी अन्तरिक्षयात्रीलाई रुसी यानमा राखेर स्टेशन पुर्‍याउन सकिने सहमतिमा हस्ताक्षर गरेका थिए।

उक्त सहमतिले "आईएसएस कार्यक्रमको प्रारूपभित्र रही सहयोगको विकास प्रवर्धन गर्ने" रोसकोस्मोसको विज्ञप्तिमा उल्लेख गरिएको थियो।

तस्बिर स्रोत, ESA/NASA

तस्बिरको क्याप्शन, आईएसएसबाट देखिएको फ्रान्स र यूकेको तस्बिर

तर युद्धले रुस र पश्चिमा देशहरूबीच सहयोगका अन्य क्षेत्र प्रभावित भएका छन्।

रोसकोस्मोससँग मिलेर मङ्गल ग्रहमा रोभर प्रक्षेपण गर्ने साझेदारीलाई युरोपेली अन्तरिक्ष निकाय ईएसएले अन्त्य गरिदिएको छ।

साथै रुसले फ्रेन्च गुयानामा रहेको ईएसएको प्रक्षेपणस्थलको प्रयोग गरेर आफ्ना सोयूज यान प्रक्षेपण गर्ने कार्य रोकिदिएको छ।

लामो इतिहास

सोभियत सङ्घ र रुसको अन्तरिक्ष अन्वेषणमा लामो इतिहास छ।

सन् १९६१ मा पहिलो पटक अन्तरिक्षमा मानवलाई पुर्‍याएको सफलतालाई उनीहरूले राष्ट्रिय गौरवको विषय मान्छन्।

पुटिनसँगको बैठकमा रोसकोस्मोसका प्रमुख बोरिसोभले नयाँ रुसी अन्तरिक्ष स्टेशनले रुसलाई आधुनिक युगमा आवश्यक पर्ने अन्तरिक्षमा आधारित नेभिगेशन तथा डेटा प्रसारणको सेवा प्रदान गर्ने बताए।

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, अन्तरिक्षमा खानीः के क्षुद्रग्रहबाट बहुमूल्य धातु ल्याउन सम्भव छ?