जलवायु परिवर्तन: 'स्यान्ड ब्याटरी'ले हरित ऊर्जाको समस्या समाधान गर्ने आशा
- Author, म्याट म्याग्रा
- Role, वातावरण संवाददाता
फिनल्याण्डका अनुसन्धानकर्ताहरूले विश्वकै पहिलो पूर्ण रूपमा काम गर्ने "स्यान्ड ब्याटरी" जडान गरेका छन् जसले एक पटकमा महिनौँसम्म हरित ऊर्जा भण्डारण गर्न सक्छ।
त्यसका विकासकर्ताहरूले उक्त ब्याटरीले वर्षभरि ऊर्जा आपूर्ति गर्नुपर्ने समस्यालाई समाधान गर्न सक्ने बताएका छन्।
हरित ऊर्जाका हकमा त्यस्तो आपूर्ति एउटा ठूलो समस्याका रूपमा रहने गरेको छ।
कम गुणस्तरीय बालुवाको प्रयोग गरेर उक्त उपकरण सौर्य वा वायुबाट बनेको सस्तो विद्युतका भरमा तापबाट चार्ज गरिन्छ।
उक्त बालुवाले ५०० डिग्री सेल्सिअसमा ताप भण्डारण गर्छ र ऊर्जा थप महँगो पर्ने जाडो याममा त्यसको प्रयोग गर्न सकिन्छ।
चासो
फिनल्याण्डले आफ्ना लागि अधिकांश ग्यास रुसबाट किन्ने गर्छ।
त्यसैले युक्रेन युद्धका कारण हरित ऊर्जाको मुद्दाले धेरैको ध्यान खिचेको छ।
उसको युरोपेली सङ्घमा सबैभन्दा लामो सीमा छ र मस्कोले नेटोमा जोडिने फिनल्याण्डको निर्णयलाई लिएर अहिले ग्यास र विद्युतको निर्यात रोकेको छ।
फिनल्याण्डमा हुने जाडो र त्यहाँ लामो समयसम्म ताप र प्रकाशको स्रोतलाई लिएर राजनीतिज्ञ र नागरिकहरूलाई चिन्तित पारेको छ।
तर पश्चिम फिनल्याण्डको एक ऊर्जा प्लान्टको कुनामा देखिएको एउटा नयाँ प्रविधिले ती चिन्ताहरूलाई हटाउन सक्छ।
कस्तो उपकरण?
उक्त उपकरणमा मुख्य वस्तु के छ? निर्माणमा प्रयोग हुने खालको झण्डै १०० टन बालुवा एउटा हलुका भण्डारण टावरभित्र खाँदेर राख्ने काम गर्नुपर्छ।
त्यसले सबैभन्दा आवश्यक पर्ने बेलाका लागि एउटा साधारण, कम खर्चिलो ऊर्जा भण्डार तयार गर्छ।
जलवायु परिवर्तनले गर्दा र अहिलेको निकै उच्च दरमा बढेको जैविक इन्धनले गर्दा नवीकरणीय ऊर्जा उत्पादनका क्षेत्रमा लगानी बढिरहेको छ।
नयाँ सौर्य प्यानल र वायु टर्बाइनलाई सहजै राष्ट्रिय सञ्जालहरूमा जोड्न सकिने भए तापनि यी थप स्रोतहरूले नयाँ ठूला चुनौती थपिरहेका छन्।
सबैभन्दा ठूलो प्रश्न भनेको त्यसको स्थिरताबारे हो। घाम नलागेको बेलामा र हावा नचलिरहेको बेला बत्ती कसरी बालिराख्ने?
विद्युत् प्रसारण सञ्जालमा थप नवीकरणीय स्रोतलाई जोडिराख्नु भनेको तपाईँले त्यसको स्थिर व्यवस्थापनका लागि अन्य ऊर्जा स्रोतलाई पनि बढाउनु हो।
किनकी निकै धेरै वा निकै कम ऊर्जाले त्यसलाई काम नगर्ने बनाउन सक्छ।
यी समस्याको सबैभन्दा स्वाभाविक जबाफ भनेको ठूलो क्षमताका ब्याटरीहरू हुन् जसले ऊर्जा मागलाई भण्डारण र व्यवस्थापन गर्न सक्छन्।
भिन्नता
यतिखेर धेरैजसो ब्याटरीहरू लिथअमबाट बनेका हुन्छन्।
र ती जति ठूला हुन्छन् त्यति नै महँगा हुँदै जान्छन् र ती सीमित ऊर्जा थेग्न सक्छन्।
तर कन्कान्पा शहरमा फिनल्याण्डका युवा इन्जिनियरहरूले बालुवाबाट बनेको ब्याटरीको पहिलो व्यावसायिक जडानले भण्डारणको समस्यालाई समाधान गर्ने ठान्छन्।
"जब त्यहाँ उपलब्ध हरित ऊर्जाको उच्च प्रवाह हुन्छ तब हामीले त्यसलाई छिट्टै भण्डारण गर्न सक्ने हुन चाहन्छौँ," मर्कु उलोनेनले भने।
उनी यस उत्पादनको विकासकर्ता पोलर नाइट इनर्जीका सह संस्थापक हुन्।
तस्बिर स्रोत, TONY JOLLIFFE
उक्त यन्त्र भताजन्कोस्की पावर प्लान्टमा जडान गरिएको छ जसले उक्त क्षेत्रका लागि ताप प्रणाली सञ्चालन गर्छ।
कम खर्चिलो त्यस्तो विद्युत्ले बालुवालाई रेसिस्टिभ हिटिङको तरिकाले ५०० डिग्री सेल्सिअससम्म न्यानो बनाउँछ।
त्यसले तातो हावा सिर्जना गराउँछ जुन ताप आदानप्रदान हुने शैलीले बालुवासम्म पुग्छ।
बालुवा केही बढी समय ताप भण्डारण गर्न र गुमाउन निकै प्रभावकारी माध्यम हो।
महिनौँ भण्डारण
विकासकर्ताहरूले उनीहरूको उपकरणले ५०० डिग्री सेल्सिअसमा बालुवालाई कैयौँ महिनासम्म राख्न सक्ने बताउँछन्।
त्यसैले जतिखेर ऊर्जाको मूल्य उच्च हुन्छ त्यस बेला सो ब्याटरीले फ्याँक्ने तातो हावाले पूरै जिल्लाको प्रणालीका लागि पानी तातो पार्छ र त्यसलाई घर, कार्यालय र स्थानीय पौडी पोखरीहरूसम्म पठाउन सकिन्छ।
यसको एउटा ठूलो चुनौती भनेको के यो प्रणालीलाई धेरैलाई फरक पर्ने गरी विस्तार गर्न सकिन्छ भन्ने हो? र विकासकर्ताहरूले के ताप सँगसँगै विद्युत् पनि निकाल्न सक्छन्?
त्यस ऊर्जालाई विद्युत् सञ्जालमा ल्याउन खोज्दा भने त्यसको प्रभावकारिता नाटकीय ढङ्गले खस्कियो।
तर तापको रूपमा हरित ऊर्जालाई लामो समयसम्म भण्डार गर्न सक्नु समेत ऊर्जा क्षेत्रको लागि ठूलो अवसर हो जहाँ खाद्य तथा पेय, कपडा वा औषधि उत्पादन क्षेत्रका लागि चाहिने ताप जैविक इन्धन बालेर निकालिन्छ।
मुख्य समाचार
धेरै रुचाइएको
सामग्री उपलब्ध छैन