युक्रेन-रुस युद्ध: सम्भावित पाँच परिणाम के हुन सक्छन्?

तस्बिर स्रोत, Getty Images

    • Author, जेम्स ल्यान्डेल
    • Role, कूटनीतिक संवाददाता

युद्ध सुरु हुन्छ र अन्त्य हुन्छ। युक्रेनमाथि भ्लादिमिर पुटिनले गरेको आक्रमण पनि अपवाद होइन।

छोटो समयमै यो युद्ध रुसको विजयसँगै समाप्त हुने अनुमान थियो। तर रुस केही पछि हटनु परेको र युक्रेनले प्रतिरोध गरेको जस्ता घटनाहरू पनि देखिए।

हाल रुसले पूर्वी युक्रेनमा केन्द्रिकृत आक्रमण जारी राखेको छ।

१०० दिन नाघिसकेको यो युद्धले भविष्यमा कस्तो दिशा लिन्छ होला त?

यहाँ सम्भावित पाँच परिदृश्य बारे चर्चा गरिएको छ।

१. निरन्तर आक्रमण गरेर गलाउने प्रयत्न

रुस र युक्रेनबीच भइरहेको युद्ध महिनौँसम्म लम्बिन सक्छ।

युद्धमा दुबै पक्ष कहिले बलियो कहिले कमजोर हुन सक्छन्। किनभने दुबै पक्षले हार स्विकार्न चाहिरहेका छैनन्।

रुसी राष्ट्रपति पुटिनले रणनीतिक धैर्यता प्रदर्शन गरेर आफूलाई फाइदा हुने आकलन गरेका छन्।

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, आक्रमण गर्दै रुसी सेना

पश्चिमा देशहरू ''युक्रेनबाट थकित'' हुने र आफ्नो आर्थिक सङ्कट अनि चीनबाट हुन सक्ने खतरा प्रति केन्द्रित हुने उनको बुझाइ छ।पश्चिमा राष्ट्रहरूले भने आफूहरू अडिग रहेको देखाएका छन् र उनीहरूले युक्रेनलाई विभिन्न अस्त्र र हतियार उपलब्ध गराइरहेका छन्।

२. पुटिनद्वारा युद्ध विरामको घोषणा

यदि राष्ट्रपति पुटिनले एकतर्फी युद्धविराम गरेर विश्वलाई चकित पार्ने हो भने के हुन्छ? उनले आफूले जितेको भूभाग सुरक्षित गरेर ''विजयी'' भएको घोषणा गर्न सक्छन्।

उनी आफूले ''सैन्य कारबाही'' पूर्ण भएको दाबी गर्न सक्छन्। त्यसको तर्क डोनबास क्षेत्रमा रुस समर्थित पृथक्तावादीहरू सुरक्षित रहेको अनि क्राइमियासम्म पुग्ने स्थलमार्ग कायम भएको भनेर प्रस्तुत गरिने हुनसक्छ।

त्यसपछि उनले युक्रेनलाई युद्ध रोक्न दबाब दिएर आफू नैतिक रूपमा माथि पर्न सक्छन्।

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, भ्लादिमिर पुटिन

युद्ध लम्ब्याउनको अर्थ छैन, विश्व अर्थतन्त्रमा देखिएको समस्या अन्त्य गर्ने समय भइसक्यो, "युद्धविरामका लागि पहल गरौँ" भन्ने जस्ता आवाजहरू प्यारिस, बर्लिन अनि रोममा उठ्न थालिसकेका छन्।

यस्तो आवाजलाई अमेरिका, यूके अनि पूर्वी युरोपका धेरै राष्ट्रले भने विरोध गर्न सक्छन् जहाँ युक्रेन र अन्तर्राष्ट्रिय व्यवस्थाका लागि रुसले गरेको आक्रमण विफल हुनुपर्ने नीति निर्माताहरूको विश्वास छ।त्यसकारण रुसले गर्नसक्ने एकतर्फी रूपमा युद्धविरामले युद्धको व्याख्या त फेर्न सक्ला तर युद्ध रोक्न भने सक्दैन।

३. युद्ध भूमिमा गतिरोध

युक्रेन र रुस दुवैले सैन्य कारबाही मार्फत थप लक्ष प्राप्त गर्न नसक्ने टुङ्गोमा पुगेर वार्ताद्वारा राजनीतिक समाधान खोज्न तर्फ अग्रसर भए के हुन्छ?

उनीहरूका सेना थाकिसकेका छन् र उनीहरूसँग जनशक्ति अनि हातहतियारको अभाव छ।

मानिसको ज्यान अनि अर्थतन्त्रले चुकाएको मूल्यको औचित्यलाई अझ लामो युद्धले सिद्ध गर्दैन।

रुसले युद्धमा गुमाएका सेना अनि युद्धका कारण भएको आर्थिक नोक्सानी धान्न सक्ने अवस्था छैन।

युक्रेनी सर्वसाधारण पनि युद्धबाट थाकिसकेका छन् र उनीहरू जीतको सम्भावना नदेखिएको युद्धका लागि थप ज्यान खतरामा पार्न इच्छुक देखिँदैनन्।

पश्चिमा राष्ट्रको निरन्तर सहयोग उपलब्ध गराउने बाचा किएभको नेतृत्वले विश्वास नगरेर वार्ता गर्ने समय भएको निर्णय गरे के हुन्छ?

अमेरिकी राष्ट्रपति जो बाइडनले खुला रूपमा स्वीकार गरेका छन् की अमेरिकाको लक्ष्य भनेको युक्रेन ''वार्ताको टेबुलमा सकेजति बलियो स्थानमा रहोस्'' भन्ने हो।

तर युद्ध अझै कैयौँ महिना नरोकिन सक्छ र रुसमाथि युक्रेनको अविश्वासका कारण राजनीतिक समाधान पनि कठिन हुनसक्छ।

४. युक्रेनको 'जीत'

प्रतिकूल अवस्था भए पनि के युक्रेन जीत नजिक पुग्न सक्छ? के युक्रेनले रुसी सेनालाई आक्रमण अगाडिकै विन्दुमा फिर्ता पठाउन बाध्य पार्न सक्छ?

''युक्रेनले निश्चय पनि यो युद्ध जित्ने छ,'' युक्रेनका राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीले यसै साता द नेदरल्यान्डसको एक टेलिभिजनलाई दिएको अन्तर्वार्तामा भनेका छन्।

रुसले डोनबास क्षेत्र नियन्त्रणमा लिन नसकेर थप क्षति बेहोरे के हुन्छ? पश्चिमा राष्ट्रहरूले लागु गरेको प्रतिबन्धले रुसका सैन्य स्रोत साधनमा प्रभाव पार्न सक्छ।

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, रकेट सिस्टम

युक्रेनले जबाफी हमला गर्न सक्छ जसमा उसले हालसालै प्राप्त गरेको लामो दूरीसम्म प्रहार गर्न सकिने रकेट प्रयोग गरी केही क्षेत्र पुनः आफ्नो नियन्त्रणमा ल्याउन सक्छ।

युक्रेनले आफ्नो सेनालाई रक्षात्मकबाट आक्रामक बनाउन सक्छ।

पुटिनले हार बेहोर्न थालेको अवस्थामा के उनले रासायनिक वा परमाणु अस्त्र प्रयोग गरी युद्ध झन् चर्काउलान्?

लन्डनस्थित किङ्गस कलेजमा आयोजित एक सम्मेलनमा इतिहासविद्‌ नीआल फर्गसनले भने, ''परमाणु अस्त्रको विकल्प रहँदै परम्परागत सैन्य हार पुटिनले स्विकार्छन् भन्ने मलाई लाग्दैन।''

५. रुसको 'जीत'

सुरुवाती निराशाका बाबजुद रुसले राजधानी किएभ र युक्रेनको अधिकांश भूभाग नियन्त्रणमा लिन चाहेकोमा पश्चिमा अधिकारीहरूले जोड दिएका छन्।

''अधिकतम उद्देश्य अझै कायमै छ,'' एक अधिकारीले भने।

तस्बिर स्रोत, EPA/UKRAINIAN PRESIDENTIAL PRESS SERVICE

तस्बिरको क्याप्शन, युक्रेनको पूर्वी क्षेत्रमा पुगेका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की

रुसले डोनबासमा प्राप्त गरेको सफलताबाट फाइदा उठाउन सक्छ। त्यहाँ तैनाथ गरिएका सेना अन्यत्र पठाउन सक्छ। उनीहरू पुनः किएभ तर्फ लक्षित हुन सक्छन्।

राष्ट्रपति जेलेन्स्कीले दैनिक १०० जना सम्म युक्रेनी सैनिकको मृत्यु र ५०० सम्म घाइते भइरहेको स्वीकार गरिसकेका छन्।

युक्रेनका सर्वसाधारणको धारणा पनि विभाजित हुनसक्छ। केहीले युद्ध जारी रहोस् भन्ने चाहन सक्छन् भने केही शान्तिको पक्षमा उभिन सक्छन्।

केही पश्चिमा राष्ट्रहरू युक्रेनलाई समर्थन गर्दा गर्दा थकित हुन सक्छन्।

एक जना पश्चिमा कूटनीतिज्ञले म सँगको व्यक्तिगत कुराकानीका क्रममा पश्चिमा राष्ट्रहरूले रुसलाई चेतावनी दिनका लागि प्रशान्त महासागरमा परमाणु अस्त्र परीक्षण गर्नुपर्ने धारणा व्यक्त गरे।

यो युद्धको भविष्य अझै लेखिइसकेको छैन।