६० वर्षसँगै बसेपछि छोराछोरी र नातिनातिनाको उपस्थितिमा बिहे

तस्बिर स्रोत, Hamilton family

तस्बिरको क्याप्शन, एलेक्स र जेन ह्यामिल्टन (बीचमा) बिहेका दिन परिवारका अरू सदस्यसँग

यूकेमा ६० वर्षदेखि सँगसँगै बस्दै आएका एक महिला र एक पुरुषले अन्ततः बिहे गरेका छन्। उनीहरूको उमेर अहिले ९१ र ८९ वर्ष भयो।

एलेक्स र जेन ह्यामिल्टनको पहिलो भेट सन् १९५६ मा बर्मिङ्गममा भएको थियो। त्यतिबेला उनीहरू छुट्टाछुट्टै व्यक्तिसँग सम्बन्धमा थिए।

एलेक्सको बिहे भइसकेको थियो भने जेनको हुन लागेको थियो। उनीहरूको आत्मीयता यति बढ्यो कि छ वर्षपछि उनीहरूले सँगै बस्ने निर्णय गरे। उनीहरू एलेक्सको गृहनगर एडिन्बरा सरे।

त्यतिबेलादेखि नै उनीहरू जोडी बनेर बस्न थालेका हुन्।

पाँच छोराछोरी, ११ नातिनातिना

उनीहरूका पाँच सन्तान छन्। तर उनीहरूले औपचारिक रूपमा बिहे भने गरेका थिएनन्।

बल्ल अहिले उनीहरूले आफ्नो सम्बन्धलाई "औपचारिक" बनाउने निर्णय गरे।

गत साता टिलिकिल्ट्रीस्थित एउटा स्थानीय गिर्जाघरमा उनीहरूले इसाई विधिपूर्वक विवाह गरे।

उनीहरूका दुई छोरी स्याली र केट, एलेक्सका छोरा गोर्डन र नील, जेनकी छोरी बेभर्लीसहित उक्त दम्पतीका ११ नातिनातिना वैवाहिक समारोहमा उपस्थित थिए।

एलेक्स र जेनले आफ्नो विवाह भव्य भएको र आगामी महिना आफूहरू हनीमूनमा जाने बताएका छन्।

"मलाई राम्रो लागिरहेको छ। हाम्रो सप्ताहान्त गजबको भयो, गजबको बिहे भयो। सबै जनाले रमाइलो माने अनि त्यो एकदम उत्कृष्ट थियो," ह्यामिल्टनले बीबीसी रेडिओ स्कटल्यान्डको ड्राइभरटाइम कार्यक्रममा भनिन्।

"हाम्रा सबै छोराछोरी र नातिनातिना आए," उनले भनिन्।

तस्बिर स्रोत, Hamilton family

तस्बिरको क्याप्शन, ह्यामिल्टन परिवारको एउटा पुरानो तस्बिर

एलेक्स र जेनको जोडीले पहिला पनि बिहे गर्ने विषयमा कुरा गरेका थिए। तर व्यस्तताका कारण उनीहरूले बिहे गर्न भने पाएका थिएनन्।

जीविकोपार्जनका लागि उनीहरूले बटर र चीज कम्पनी सञ्चालन गर्ने गरेका थिए।

"हाम्रो सम्बन्ध एकदम राम्रो छ। धेरै मानिसको जस्तै हाम्रो जीवनमा पनि सुखदुःख भयो तर हामी दुवैको मनमा द्विविधा भने कहिल्यै भएन।"

कसरी बस्यो माया

बेहुला बनेका एलेक्सका अनुसार उनका लागि आफ्नो बिहे "अद्भुत ६० वर्षको" उत्कर्ष हो।

"जेनलाई पहिलो पटक भेट्दा मैले उनलाई हेरेँ र मलाई लाग्योः मैले जीवनभरि खोजेकी केटी यिनै हुन्।"

"हामीले एक वा दुई पटक बिहे गर्ने कुरा गरेका पनि थियौँ। तर काममा हामी यति व्यस्त थियौँ हामीसँग समय नै थिएन।"

आफ्नो परिवारको प्रशंसा गर्दै उनले सबै जनाबीच मेलमिलाप रहेको बताए।

तस्बिर स्रोत, Hamilton family

अब यथाशक्य बाँच्नु र आफ्नो जीवनको जेजति सकिन्छ सदुपयोय गर्नु आफ्नो योजना रहेको उनले सुनाए।

जेनले पनि बिहे गरे पनि नगरे पनि आफूहरू बाँकी जीवन सँगैसँगै बस्ने कुरामा आफूलाई कुनै द्विविधा नभएको बताइन्।

"एलेक्सलाई पहिलो पटक भेट्दा मैले उनको मुस्कान देखेँ र म भुतुक्कै भएँ," उनले भनिन्।

"तर उनी विवाहित थिए अनि मेरो पनि छ सातापछि बिहे हुन लागेको थियो। त्यसैले हामीले केही नहोला जस्तो लागेको थियो।"

"तर पछि हामी एकअर्कासँग छुट्टिन सकेनौँ। अनि सन् १९६२ मा हामी फेरि सँगै आयौँ।"

प्रेम सम्बन्धमा रहेको उक्त जोडी पहिलो पटक १९६० को दशकमा स्कटल्यान्डस्थित आर्गाइल एन्ड ब्यूटमा बिदा मनाउन गएको थियो। उनीहरू अब हनीमून मनाउन पनि त्यहीँ जाँदै छन्।

"हामी जुन महिनामा हामी तीन रातका लागि जाँदै छौँ," आफ्नो उत्साह व्यक्त गर्दै जेन ह्यामिल्टनले भनिन्।

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, ९१ वर्ष लामो वैवाहिक जीवन, अझै पनि उस्तै मायाप्रेम