युक्रेन युद्ध: मारिऊपोलस्थित युक्रेन नियन्त्रित क्षेत्रमा 'रुसको पूर्णस्तरको हमला'  

तस्बिर स्रोत, Reuters

रुसी फौजले मारिऊपोल सहरको आफ्नो कब्जामा रहेको अन्तिम क्षेत्र एजोभस्टाल स्टिल उद्योगमा एउटा पूर्णस्तरको आक्रमण गरेको युक्रेनी अधिकारीहरूले बताएका छन्।

उक्त उद्योगभित्र रहेका युक्रेनी कमान्डरले आफूहरूले दोस्रो दिन पनि "कठिन रक्तपातपूर्ण लडाइँ" गरिरहेको बताएका छन्।

निरन्तरको हमलापछि रुसी फौज "उद्योग क्षेत्र" प्रवेश गरेको विवरण आएका छन्।

बालबालिकासहित करिब २०० सर्वसाधारण उक्त उद्योगभित्र आश्रय लिएर बसिरहेको ठानिएको छ।

स्टिल उद्योगमा रुसले हमला गरेको भन्ने विवरणहरूको बीबीसीले पुष्टि गर्न सकेको छैन।

कमान्डर डेनिस प्रोकोपेन्कोले टेलिग्राममा एउटा संक्षिप्त भिडिओ राख्दै लेखेका छन्: "शत्रुको दबाब नियन्त्रणमा राख्न मेरा सेनाले मानवले गर्न सक्ने भन्दा ठूलो प्रयास गरिरहेको प्रति म गर्व गर्छु... यहाँको अवस्था निकै कठिन छ।"

तस्बिर स्रोत, Reuters

राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले उद्योगभित्र बाँकी रहेका मानिसहरूको जीवनरक्षाका लागि सहायता गर्न संयुक्त राष्ट्रसङ्घलाई थप अपिल गरेका छन्।

"हाम्रा लागि सबै महत्त्वपूर्ण छन्। तिनीहरूलाई जोगाउन हामी तपाईँसँग मद्दत माग्छौँ," संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरससँग फोनमा कुरा गर्दै जेलेन्स्कीले भने।

युक्रेनी नेताले यसै साता मानिसहरूको उद्धार गरी सफलतापूर्वक अन्यत्र लगेकोमा संयुक्त राष्ट्रसङ्घ र रेडक्रसलाई धन्यवाद दिए।

यो साताको सुरुमा १०० भन्दा बढी मानिसको उद्धार गरिएको थियो।

अन्यत्र क्षेत्रबाट थप उद्धार पनि भएका थिए।

युक्रेनका उपप्रधानमन्त्रीले मारिऊपोलसहित दक्षिणपश्चिम सहरका ३४४ लाई उद्धार गरेर बुधवार तुलनात्मक रूपमा सुरक्षित मानिएको जापोरिझिया सहर लगिएकव बताएकी छन्।

उक्त सहर अझैसम्म युक्रेनी नियन्त्रणमै रहेको छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, रुसी सेना रोकिराखेको दक्षिण युक्रेनका गाउँहरू

टेलिग्राममा गरिएको एउटा पोष्टमा उपप्रधानमन्त्री इरिना भेरेश्चुकले सहायताका लागि राष्ट्रसङ्घ र रेडक्रसलाई धन्यवाद दिएकी छन्।

उनले भनेकी छन्, "यिनीहरू मारिऊपोल, मनहुश, बेर्दियाङ्स, टोकमाकका महिला, बालबालिका र वृद्धवृद्धा हुन्... हामी यो कठिन समयमा उनीहरूलाई सहयोग गर्छौँ र त्यस्तो सहयोगमा अत्यन्तै आवश्यक रहेको मनोवैज्ञानिक सहयोग पनि रहन्छ।"

युक्रेनका लागि संयुक्त राष्ट्रसङ्घकी संयोजक उस्नट लुब्रानीले उद्धार गरेर अन्यत्र लगिएको पुष्टि गरेकी छन्।

रुसद्वारा युद्धविरामको वाचा

रुसले भने एजोभास्टल स्टिल उद्योगबाट सर्वसाधारणको उद्धार गरेर अन्यत्र लैजान दिनका लागि बिहीवार युद्धविरामको कार्यान्वयन आफूले गर्ने जनाएको छ।

रुसी सेनाले उद्योगबाहिरको मार्ग मे महिनाको ५, ६ र ७ तारिखमा मस्को समय अनुसार बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म खुल्ने जनाएको छ।

यो समयमा रुसी फौजले गतिविधिहरू नगर्ने र त्यहाँ रहेका फौजलाई दूरीमा रहेको सुरक्षित ठाउँमा फिर्ता गरिने सेनाले अनलाइनमा पोष्ट गरेर जनाएको छ।