युक्रेन युद्ध: हस्तक्षेप गर्न खोज्ने कुनै पनि देशले 'तीव्र गतिमा' रुसी प्रतिक्रियाको सामना गर्नुपर्ने पुटिनको चेतावनी
तस्बिर स्रोत, Getty Images
- Author, यारोस्लाभ लुकोभ
- Role, बीबीसी न्यूज
युक्रेन युद्धमा हस्तक्षेप गर्न खोज्ने कुनै पनि देशले 'बिजुलीको गतिमा' प्रतिक्रियाको सामना गर्नुपर्ने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चेतावनी दिएका छन्।
"हामीसँग सबै खाले उपकरण छन्, त्यसैले कसैले घमण्ड गर्न गर्नुपर्दैन... आवश्यक भएमा हामी तिनीहरूको प्रयोग गर्नेछौँ," उनले भने।
उनको उक्त भनाइलाई बलिस्टिक क्षेप्यास्त्र र आणविक हतियारहरूसँग जोडेर हेर्न सकिने बताइएको छ।
युक्रेनका सहयोगी देशहरूले हतियारको आपूर्ति बढाएका बेला पुटिनको यस्तो चेतावनी आएको हो।
अमेरिकासहित अन्य देशले रुसलाई पराजित गर्ने सुनिश्चित गर्ने वाचा गर्दै युक्रेनलाई सैन्य सहायता दिइरहेका छन्।
पश्चिमा अधिकारीहरूले युक्रेनको पूर्वी क्षेत्रमा जारी रुसी विस्तारको प्रयासमा आफूहरूले बाधा पुर्याएको बताएका छन्।
गत साता रुसले युक्रेनी राजधानी किएभ वरपरका क्षेत्रहरूबाट पछि हटेर डोनबास क्षेत्र कब्जा गर्न ठूलो आक्रमण सुरु गरेको थियो।
तर एक अधिकारीका अनुसार रुसी सेनालाई "कठोर युक्रेनी प्रतिरोधलाई सामना गर्न गाह्रो भइरहेको छ र उनीहरूले हार बेहोरिरहेका छन्।"
यसैबीच युरोपेली आयोगले रुसले पोल्याण्ड र बल्गेरियामा ग्यास निर्यात बन्द गरेर मोलमोलाइ गरेको आरोप लगाएको छ।
आयोगकी अध्यक्ष उर्जुला फोन्देर लायनले उक्त घटनाले आपूर्तिकर्ताका रूपमा रुसको "अविश्वसनीयता"लाई देखाउने बताइन्।
तस्बिर स्रोत, Reuters
क्रेम्लिनले चाहिँ पश्चिमा राष्ट्रहरूको "शत्रुतापूर्ण व्यवहार"का कारण आफू त्यस्तो कदम चाल्न बाध्य भएको दाबी गरेको छ।
रुसी रुबलमा भुक्तानी दिन अस्वीकार गरेपछि रुसी ग्यास कम्पनी ग्याजप्रोमले पोल्यान्ड र बल्गेरियामा ग्यास आपूर्ति बन्द गरेको छ।
रुसी राष्ट्रपति पुटिनले पश्चिमा प्रतिबन्धका कारण अवमूल्यन भएको आफ्नो देशको मुद्रालाई बचाउनका लागि मार्च महिनामा रुसी ऊर्जाको कारोबार रुबलमा गर्नुपर्ने बताएका थिए।
पुटिनले बुधवार रुसको उत्तरी सहर सेन्ट पिटर्सबर्गमा सांसद्हरूसँग बोल्दै पछिल्लो चेतावनी दिएका हुन्।
उनले भने, "यदि बाहिरबाट कसैले युक्रेनमा हस्तक्षेप गर्न प्रयास गर्छ र रुसमाथि रणनीतिक खतरा उत्पन्न गर्छ भने हामी बिजुलीको गतिमा त्यसको प्रतिक्रिया दिनेछौँ।"
"हामीसँग सबैखाले उपकरणहरू [प्रतिक्रिया दिन] छन्, कसैले पनि घमण्ड नगरे हुन्छ। र, हामी त्यसबारे घमण्ड गरिरहेका छैनौँ यदि आवश्यक पर्यो भने हामी तिनलाई प्रयोग गर्छौँ।"
उनले ती उपकरणहरू कसरी प्रयोग गर्ने भन्ने निर्णय पहिले नै भइसकेको बताए। तर त्यसबारे विस्तृत रूपमा खुलाएनन्।
गत फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि हमला सुरु गरेको थियो।
त्यसको केही दिनपछि नै पुटिनले आफ्नो सेनालाई रुसका आणविक अस्त्र प्रतिरोधी बललाई तयारी अवस्थामा रहन आदेश दिएका थिए।
विश्लेषकहरू युक्रेनका साझेदारहरूलाई उक्त द्वन्द्वमा थप हस्तक्षेप नगर्नका निम्ति चेतावनी दिन पुटिनले त्यस्तो धम्की दिएको ठान्छन्।
पश्चिमा देशहरूले जर्मनीमा एउटा सम्मेलन गरेर युक्रेनलाई दिइने सैन्य सहायता बढाउने प्रतिबद्धता जनाएको भोलिपल्ट पुटिनले उक्त चेतावनी दिएका हुन्।
मुख्य समाचार
अनि यो पनि
धेरै रुचाइएको
सामग्री उपलब्ध छैन