क्रिस्टियानो रोनाल्डो: 'छोराको मृत्यु भएकोमा गहिरो पीडाबोध'
तस्बिर स्रोत, Reuters
म्यान्चेस्टर यूनाइटेडका फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो र उनकी प्रेमिका जोर्जीना रोड्रीगेजले आफ्ना एक शिशुको मृत्यु भएको घोषणा गर्दै यो ''कुनै पनि अभिभावकले महसुस गर्न सक्ने सबैभन्दा ठूलो पीडा'' भएको बताएका छन्।
पोर्चुगलका फुटबल खेलाडी ३७ वर्षे रोनाल्डो र २८ वर्षकी रोड्रीगेजले जुम्ल्याहा बच्चाको अपेक्षा गरिरहेका थिए।
उनीहरूकी छोरी भने बाँच्न सफल भइन् र उनको जन्मले आफूहरूलाई ''यो क्षणमा केही आशा र खुसीका साथ बाँच्न बल दिएको'' रोनाल्डो र रोड्रीगेजले भनेका छन्।
''हाम्रा बालक, तिमी हाम्रालागि अमूल्य उपहार थियौ, हामी तिमीलाई सधैँ माया गर्नेछौँ,'' उनीहरूले लेखेका छन्।
सामाजिक सञ्जालमा पोस्ट गर्दै उनीहरूले भने: ''गहिरो दुखका साथ हामी हाम्रो छोराको मृत्यु भएको जानकारी गराउन चाहन्छौँ।''
''यो क्षतिका कारण हामी सबै अत्यन्त दुखी भएका छौँ र यो कठिन घडीमा हामी गोपनीयता चाहन्छौँ।''
उक्त जोडीले गत अक्टोबर महिनामा गर्भधारणबारे जानकारी सार्वजनिक गरेका थिए।
तस्बिर स्रोत, Martin Rickett/PA Wire
रोनाल्डोले हाल प्रतिनिधित्व गर्ने क्लब म्यान्चेस्टर यूनाइटेडले एउटा ट्विट गर्दै भनेको छ, ''तिम्रो पिडा हाम्रो पनि पिडा हो। यो समयमा तिमी र तिम्रो परिवारलाई माया अनि शक्ति पठाउँदै।''
रोनाल्डोले यसअघि प्रतिनिधित्व गरेका क्लबदेखि विभिन्न चर्चित व्यक्तित्वहरूले ट्विट मार्फत शोक व्यक्त गरेका छन्।
रोनाल्डोका जेठा छोरा क्रिस्टियानो जुनियरको जन्म सन् २०१० मा भएको थियो। त्यसपछि जुम्ल्याहा सन्तान इभा र मटिओको जन्म सन् २०१७मा भयो।
उनी र रोड्रीगेजकी अर्की एक छोरी पनि छन् जसको जन्म सन् २०१७ मै भएको थियो।
मुख्य समाचार
अनि यो पनि
धेरै रुचाइएको
सामग्री उपलब्ध छैन